एमाले नेताहरुमाथि झुण्ड्याइएको ‘उमेरको पासो’ – Nepal Press
विचार

एमाले नेताहरुमाथि झुण्ड्याइएको ‘उमेरको पासो’

नेकपा (एमाले)को दशौं महाधिवेशन सम्पन्न भएको छ । पार्टी विधानबमोजिम भएको निर्वाचनबाट केपी शर्मा ओली अध्यक्षमा दोहोरिएका छन् भने महासचिवमा शंकर पोखरेलले बाजी मारेका छन् ।

पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिलासहित संविधानले व्यवस्था गरेबमोजिम दलित, जनजातिहरुलाई पनि केन्द्रीय समितिमा ल्याइएको छ । संसद्मा सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको एमालेको महाधिवेशनबारेमा विभिन्न पक्षबाट व्याख्या, विश्लेषणहरु भइरहेका छन् । महाधिवेशनमा एमालेको राजनीति भन्दा नेताहरुको चर्चा धेरै भएको छ । यसले विचारको भन्दा व्यक्तिको बहसलाई प्रमुखता दिएको देखिन्छ ।

लेखक पाेखरेल ।

देशको राजनीतिमा कतिपय गैरराजनीतिक मुद्दालाई मूलधारमा ल्याउनको लागि नेकपा (एमाले)का नेताहरु माहिर देखिएका छन् ।

उनीहरुले गैरराजनीतिक मुद्दालाई यसरी सतहमा ल्याइदिएका छन् कि त्यसले आम जनतालाई पनि रनभुल्लमा पारिदिएको छ ।

पार्टी फुटेको अवस्थामा पनि एमाले नेताहरुले एकताको महाधिवेशन नामाकरण गरेका छन् । एमालेमा ७० वर्षका उमेर हदले ठूलो तरंग सिर्जना गरेको छ ।

सिद्धान्तबाट स्खलित हुँदै गएपछि एमालेभित्र कैयौं यस्तै गैरराजनीतिक मुद्दाहरुले स्थान ओगटेका छन् ।

मदन भण्डारीको बहुदलीय जनवादलाई नै माथ खुवाउने गरी उनीहरुले ल्याएका मुद्दाहरुले दीर्घकालीन रुपमा आफैलाई दुःख दिने निश्चित छ ।

प्रस्तुत लेखमा एमालेले अगाडि सारेको उमेरसम्बन्धी गैरराजनीतिक प्रावधानले दीर्घकालीन रुपमा पार्नसक्ने असरका बारेमा चर्चा गर्न खोजिएको छ ।

उमेरको छायाँमा राजनीति

राजनीति मानव समाजमा श्रेष्ठ र विशिष्ट योगदान हो । राजनीतिले उचाइ लिंदै गर्दा राजनीतिज्ञको उमेर छायाँमा पर्नुपर्ने हो । एमालेमा उमेरको छायाँ राजनीतिमा पर्ने देखिएको छ ।

उमेरले मान्छेको जीवन, उसले अपनाएको पेशा र सेवाका क्षेत्रमा धेरै अर्थ र महत्व राख्दछ । प्रत्येक मान्छेको जीवनमा उमेर बेग्लाबेग्लै उद्देश्य, कार्य, सोचाइ आदि धेरै पक्षबाट महत्वपूर्ण हुन्छ । कतिपय यस्ता क्षेत्रहरु पनि छन्, ती क्षेत्रमा काम गर्नको लागि उमेरले ठूलो बाधा हाल्दैन ।

एमालेको ‘कोर टिम’को राजनीति उमेरको गोलचक्करमा फस्न सक्ने खतरा छ । अब ५५-६० वर्षबाटै एमालेमा उमेरको हिसाबकिताब हुनेछ । उमेरको हिसाबकिताबले पार्टी र राजनीतिको हिसाबकिताबलाई तासको महल जस्तै ढाल्नेछ ।

युवा उमेरमै परिवक्व राजनीति होस् वा वृद्ध उमेरमा युवाको जस्तै जोशले भरिपूर्ण राजनीति- यी दुवैको संयोजनले देशको विकास र राजनीतिलाई अगाडि लैजान मद्दत गर्दछन् । अहिले पनि एमालेमा ७० वर्षका केपी शर्मा ओली भन्दा ४० वर्ष पनि नपुगेका अल्छी युवाहरु सयौंको संख्यामा छन् भन्न सकिन्छ ।

उमेरले मान्छेको जीवन, उसले अपनाएको पेशा र सेवाका क्षेत्रमा धेरै अर्थ र महत्व राख्दछ । प्रत्येक मान्छेको जीवनमा उमेर बेग्लाबेग्लै उद्देश्य, कार्य, सोचाइ आदि धेरै पक्षबाट महत्वपूर्ण हुन्छ । कतिपय यस्ता क्षेत्रहरु पनि छन्, ती क्षेत्रमा काम गर्नको लागि उमेरले ठूलो बाधा हाल्दैन ।

कला, साहित्य, खोज, अध्ययन, अनुसन्धान, राजनीति जस्ता क्षेत्रमा काम गर्नको लागि उमेरले बाधा हाल्न सक्दैन । पोखराकी प्रेन्सा रेग्मीले ८–९ वर्षको उमेरमा समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेकी छिन् । त्यस्तै अन्य बालबालिकाहरुले पनि सामाजिक क्षेत्रमा, बालविवाहका विरुद्ध, अन्धविश्वासका विरुद्धमा समूह बनाएर योगदान गरेका छन् ।

एउटा टेलिभिजनबाट हालै प्रसारण भइरहेको बालबालिकाहरुको गायन प्रतियोगिता निकै रोचक बनेको छ । ८-९ वर्षका बालबालिकाहरुले आफ्नो अद्भुत कला देखाइरहेका छन् । संगीतको क्षेत्रमा निकै बृद्ध उमेरका व्यक्तिहरुले संगीत भरिरहेका छन् । ‘सयौं थुङ्गा फूलका हामी’ राष्ट्रिय गानको संगीत भर्ने समयमा अम्बर गुरुङ ७० वर्ष पुगिसकेका थिए ।

कलाकार रत्नकुमार राईले वृद्ध उमेरमा पनि निकै आकर्षक चित्रहरु कोरिरहेका छन् । एक सय वर्ष पुग्न लागेका माधवप्रसाद घिमिरेले मृत्युको समयसम्म महाकाव्य लेख्दै थिए । एक सय तीन वर्ष पुगेका सत्यमोहन जोशी अहिले पनि कला र संस्कृतिका क्षेत्रमा सक्रिय भइरहेका छन् । ८६ वर्ष पुगेका मोहनविक्रम सिंहले एक हजार भन्दा धेरै पेजको उपन्यास तयार गरिरहेका छन् । उनी राजनीतिमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् ।

वृद्ध उमेरकै महेशराज पन्तले इतिहासको उत्खनन् गरिरहेका छन् । गिरिजाप्रसाद कोइरालाले राजाको प्रतिगमनका विरुद्धको आन्दोलनको मोर्चाको अगुवाई गर्दा ८० वर्षका भइसकेका थिए । विश्वमा ८० वर्षका राजनीतिज्ञ धेरै भेटिन्छन् । नेपाल त्यसको अपवाद हुने कुरा रहेन । प्रमुख पदमा बस्ने वा नबस्ने त्यो सम्बन्धित पार्टीले निर्णय गर्ने कुरा हो । तर ७० वर्षको उमेर पुग्दा वित्तिकै अयोग्यको प्रमाणपत्र भिराउने जुन व्यवस्था एमालेले गरेको छ, त्यो अव्यवहारिक, अपमानजन्य र अवैज्ञानिक छ भन्ने कुरा माथि दिइएका उदाहरणहरुले पनि पुष्टि गर्दछ ।

सारा दुनियाँको राजनीतिलाई कुनै बाधा नहालेको उमेरले एमालेको राजनीतिमा मात्रै कसरी बाधा हाल्यो भन्ने कुरा एमालेका नेताहरुले बुझ्न समय लाग्ने देखिन्छ । संसारमा ७० वर्ष उमेर पुगेका कति राजनीतिज्ञहरु क्रियाशील छन् भन्ने कुरा पनि एमालेका नेताहरुलाई थाहा छ । एक जना बाराक ओबामा ५० वर्ष नपुग्दै अमेरिकाको राष्ट्रपति भएका थिए भन्दैमा संसारका सबै नेताहरुलाई त्यत्तिकै उमेरमा त्यहाँको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख वा पार्टी प्रमुख हुने अवसर प्राप्त हुन सक्दैन ।

मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए भने पार्टी एकतापछिको अध्यक्ष हुँदा ७० वर्षका थिए । उनी एमालेमा सर्वस्वीकार्य नेताको रुपमा क्रियाशील थिए । एमालेको अहिलेको विधानमा गरिएको उमेरसम्बन्धी व्यवस्थाले सर्वस्वीकार्य व्यक्तिको भूमिकालाई नियोजन गर्दछ ।

निरन्तरको क्रियाशीलता, त्याग, तपस्या र योगदानले मात्रै नेतृत्व प्राप्त हुन सक्दछ । एमालेले विश्व राजनीतिमा प्रयोग भएका सत्यतालाई उमेरको रङ्गीचङ्गी जामा पहि¥याएर खोपीमा लुकाइरहेको छ । उसले सत्यलाई कुनै दिन खोपीबाट निकाल्नै पर्नेछ र राजनीतिमा प्रयोग भइरहेको सत्यलाई स्वीकार गर्नुपर्नेछ । त्यतिबेला उसको विधानमा व्यवस्था गरिएको धारा ६४ हटाउनुपर्नेछ ।

एमालेमा ७० वर्ष पुग्नु अपराध हो ?

कहिलेकाहीं देशलाई पाका, अनुभवी र सर्वस्वीकार्य नेतृत्व आवश्यकता पर्न सक्छ । एमालेको निर्माणमा मनमोहन अधिकारी सर्वस्वीकार्य नेता बनेका थिए । मनमोहन अधिकारीको भूमिका तत्कालीन माले र माक्र्सवादी एकताको अध्यक्ष र मध्यावधि निर्वाचनपछि प्रधानमन्त्रीको रुपमा सर्वस्वीकार्य रहेको थियो । त्यतिबेला अन्य नेताको हकमा त्यस्तो नहुन पनि सक्थ्यो ।

मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए भने पार्टी एकतापछिको अध्यक्ष हुँदा ७० वर्षका थिए । उनी एमालेमा सर्वस्वीकार्य नेताको रुपमा क्रियाशील थिए । एमालेको अहिलेको विधानमा गरिएको उमेरसम्बन्धी व्यवस्थाले सर्वस्वीकार्य व्यक्तिको भूमिकालाई नियोजन गर्दछ ।

केही वर्ष पहिले मलेसियामा ९२ वर्षका मोहम्मद महाथीर प्रधानमन्त्री बनेका थिए । उनको चाहनाले भन्दा पनि त्यहाँको आवश्यकता यस्तो आइदियो कि ९२ वर्षमा पनि उनलाई प्रधानमन्त्री हुनुपर्ने भयो । गत वर्ष मात्रै निर्वाचित अमेरिकाका राष्ट्रपति जो बाइडेन ७८ वर्षका भइसकेका छन् । अटलविहारी बाचपेयी भारतीय प्रधानमन्त्री रहँदा ८० वर्षका थिए । नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि ८२ वर्षका थिए ।

नेपालको संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, आदि पदहरुको लागि कुनै उमेर हद तोकिएको छैन । ती पदहरुमा जानको लागि विधानले बाधा हालेको छैन भन्ने तर्क पनि गरिएला । तर खेलाडीलाई मैदानबाट बाहिर राखेपछि उसले गोल गर्ने, छक्का हान्ने वा बलिङ गर्ने अवसर प्राप्त गर्दैन । त्यसैले सक्रिय राजनीतिमा संलग्न पदाधिकारीहरुले ती पदहरुमा आफै दाबी गर्ने गर्दछन् र राजनीतिबाट उमेर हदको कारण अवकाश पाइसकेका व्यक्तिहरुलाई अगाडि आउन नदिइन पनि सक्छ ।

नेपालजस्तो व्यक्ति केन्द्रित राजनीति भएको देशमा पार्टी राजनीतिबाट अलग व्यक्ति अन्य पदहरुमा जाने सम्भावना अत्यन्तै न्यून हुन्छ । विभिन्न पार्टीका समकालीन नेताहरुको उचाइले जुनसुकै पार्टीको राजनीतिलाई ठूलो असर गर्दछ ।

एमालेको पहिलो पुस्ताका झलनाथ खनाल, माधव नेपाल, केपी ओलीले पार्टीको प्रमुख पद प्राप्त गरिसकेका छन् । किनभने तिनीहरु पहिलो पुस्ताका भएको हुनाले त्यो अवसर प्राप्त भएको थियो । उनीहरु युवा अवस्थाको सुरुआती वर्षमै पार्टीको केन्द्रीय समितिमा पुगेका थिए । त्यही कुरा अन्य नेताहरुको हकमा लागू हुन सकेको छैन ।

ईश्वर पोखरेल, सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्यजस्ता एमालेको राजनीतिमा योगदान गरेका व्यक्तिहरु एमालेको राजनीतिबाट योग्यता र क्षमता नभएको कारण होइन, उमेरकै कारण बाहिरिनुपर्ने अवस्था सिर्जना भएको छ ।

अब पार्टीको केन्द्रीय समितिमा पुग्नको लागि युवा अवस्थाको अन्तिम दिनहरुमा पुग्नुपर्ने हुन्छ । युवाअवस्थाको मध्यतिर विद्यार्थी राजनीतिको केन्द्रीय नेतृत्वमा पुग्ने अवस्थामा पार्टी राजनीति टाढाको विषय भएको छ । एमालेको केन्द्रीय समितिमा पुग्नकै लागि ५० वर्षको हाराहारीमा पर्खनुपर्ने भएको छ । यो अवस्थामा एमालेका नेताहरुले उमेरसम्बन्धी व्यवस्थालाई सहज रुपमा लिन सक्ने देखिंदैन ।

महिला नेताहरुप्रति अत्याचार

नेपालको संविधानले पुरुषहरुलाई सरकारी जागिर सुरुआत गर्ने अन्तिम उमेर ३५ वर्ष तोकिदिएको छ भने महिलाहरुको हकमा ४० वर्ष तोकिदिएको छ । महिलाहरुलाई प्रतिस्पर्धा गर्ने समय बढी होस्, उनीहरुलाई बढीभन्दा बढी सरकारी सेवामा प्रवेश गराउन सकियोस् भन्ने उद्देश्य लिइएको हो । यद्यपि कर्मचारी, सेना, प्रहरी, शिक्षणजस्ता संस्थाहरुलाई सक्रिय व्यक्तिहरुको आवश्यकता पर्ने भएको हुनाले अवकाशको उमेर हद एउटै लागू गरिएको छ । किनभने त्यहाँ शारीरिक रुपमा पनि सक्रिय हुनुपर्दछ । राजनीतिमा यो प्रावधान पूर्णरुपमा लागू हुन सक्दैन । यदि सरकारीसरह उमेर नै लागू गरिने हो भने एमालेमा ५८ वा ६० वर्ष किन लागू गरिएन भन्ने प्रश्न उठाउन सकिन्छ ।

एमाले विधानमा उत्तेजना र भावनाको प्रयोग भएको छ तर विवेकको प्रयोग भएको छैन । विवेक प्रयोग नभएका प्रावधानहरु सतही हुन्छन् भन्ने कुरा एमाले नेताहरुलाई थाहा नभएको होइन ।

महिलाहरु नेपाली राजनीतिमा आउन, सक्रिय हुन, नेतृत्व लिन कठिन छ भन्ने कुरा सबै राजनीतिक दलको अवस्था हेर्दा प्रमाणित हुन्छ । औसत आयुको दृष्टिकोणले हेर्ने हो भने नेपालमा महिलाहरुको धेरै छ ।

नेपाली पुरुषको औसत आयु ६९ वर्षको छ भने महिलाहरुको तीन वर्ष धेरै अर्थात् ७२ वर्ष रहेको छ । एमालेले औसत आयुलाई नै विचार गरेर उमेर हद तोकेको हो भने महिलाहरुलाई ७२ वा ७५ वर्षको प्रावधान किन राखेन ? एमालेले माथि उल्लेख गरिएका धेरै विषयहरुबारे पार्टीमा आवश्यक छलफल नगरीकन पार्टी विधान संशोधन गरेको थियो ।

एमाले विधानमा उत्तेजना र भावनाको प्रयोग भएको छ तर विवेकको प्रयोग भएको छैन । विवेक प्रयोग नभएका प्रावधानहरु सतही हुन्छन् भन्ने कुरा एमाले नेताहरुलाई थाहा नभएको होइन । सबैजसो पुरुष प्रतिस्पर्धी भएको पार्टीमा अष्टलक्ष्मी शाक्यजस्ता जुझारु, पञ्चायतकालदेखि नै योगदान गर्दै आएका महिलाहरु उपाध्यक्षबाटै बाहिरिनुपर्ने अवस्थाको सिर्जना घाँटीमा झुण्ड्याइएको उमेरको पासोले गरिदिएको छ ।

अहिले प्रतिस्पर्धामा देखिएका पद्मा अर्याल, विन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे आदि महिलाहरु पुरुषको तुलनामा थोरै संख्या हो । पदाधिकारीहरुमा ३३ प्रतिशत पुर्‍याउनै पर्ने कुनै बाध्यात्मक अवस्था नभएको हुनाले उनीहरु छिटै बाहिरिन सक्ने सम्भावना रहन्छ ।

विधानको धारा ६४ मा उमेरसम्बन्धी व्यवस्था गरिएको छ । व्यक्तिको ‘कट अफ एयर’ कति हो ? त्यसबारेमा गरिएको व्यवस्थाले कोही व्यक्ति ६९ वर्षमा निर्वाचित भयो भने ७४ वर्षसम्म पदमा रहेर क्रियाशील हुन पाउने, कोही व्यक्ति ६६ वर्षमा निर्वाचित भयो भने ७१ वर्षमै अवकास लिनुपर्ने विचित्रको व्यवस्था छ ।

एमालेको विधानले महिलाहरुको नेतृत्वमा पुग्ने ढोका पनि बन्द गरिदिनेछ । यो पनि स्मरणीय छ कि अहिले युवा भनिएका नेताहरु कुनै दिन हामी पनि ७० वर्ष पुग्नेछौं र त्यतिबेला यो कुरा गलत हुन सक्छ भन्ने कुरा बोध गर्न सकिरहेका छैनन् । युवा नेताहरुमा पनि अदूरदर्शीता देखिएको छ ।

धारा ६४- कार्यान्वयन कि खारेजी ?

महाधिवेशनको समयमा ६९ वर्ष ११ महिना भएको व्यक्ति निर्वाचित भएपछि थप पाँच वर्ष क्रियाशील हुन पाउने व्याख्या विधानको उल्लंघन र दुनियाँलाई जग हसाउँने तरिका हो । यसले के कुराको पुष्टि गर्दछ भने एमालेको विधान सही ढंगले लागू हुने छैन ।

विधानको धारा ६४ मा उमेरसम्बन्धी व्यवस्था गरिएको छ । व्यक्तिको ‘कट अफ एयर’ कति हो ? त्यसबारेमा गरिएको व्यवस्थाले कोही व्यक्ति ६९ वर्षमा निर्वाचित भयो भने ७४ वर्षसम्म पदमा रहेर क्रियाशील हुन पाउने, कोही व्यक्ति ६६ वर्षमा निर्वाचित भयो भने ७१ वर्षमै अवकास लिनुपर्ने विचित्रको व्यवस्था छ ।

एमाले विधानमा गरिएको व्यवस्थालाई अहिलेको जस्तै व्याख्या गर्ने हो भने कोही व्यक्ति ७० वर्ष पुगेर एक दिन बढी भयो भने अवकाश लिन्छ भने कोही व्यक्तिको लागि ७५ वर्ष पुग्ने समयसम्म पदमा रहेर क्रियाशील हुने अवसर प्राप्त हुन्छ ।

उमेरका व्याख्यामा गरिएको योभन्दा ठूलो भद्रगोल, अपव्याख्या र अन्याय अरु हुन सक्दैन । एमालेमा भएका कानूनका विज्ञहरुले यस्तो विचित्रको व्यवस्थामा किन बोलेनन् होला भन्ने आठौं आश्चर्य हो । वर्षसम्बन्धी व्याख्या संविधानमा एउटा र एमालेको विधानमा अर्काे कसरी हुन गयो ? केन्द्रीय समितिमा रहेका र महान्यायाधिवक्तासमेत भएका अग्नि खरेलहरु पनि चकित परेको हुनुपर्छ । एमालेका नेताहरु एकमत भएरै विधान पारित गरिएको होला । तर यो प्रावधानले उनीहरु आफैलाई गिज्याइरहेको छ ।

एमाले विधानमा गरिएको व्यवस्था र अपव्याख्याले एमालेका सयौं नेताहरुले आफू अन्यायमा परेको महसुस गर्नेछन् । विधानमा गरिएको व्यवस्था क्रान्तिकारी जस्तो देखिए पनि यसले भविष्यमा एमालेभित्र ठूलो विग्रहको वातावरण निर्माण गर्ने सम्भावना हुनेछ ।

श्रेष्ठ र विशिष्ट योगदानको रुपमा रहेको राजनीतिलाई एमालेले उमेरको घानमा हालेर गोलचक्करमा फसाउने काम गरेको छ । यसले एमालेको कच्चा, उत्तेजित र भावनात्मक राजनीतिलाई उजागर गरेको छ । सम्भवतः एमालेहरुले विधानको धारा ६४ लाई भविष्यमा खारेज गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.