बक्सअफिसमा ‘फ्लप’ फिल्म ट्रेन्डिङ हुँदा स्वस्तिमा हर्षित : ‘चपली हाइट’ले दिलाउला सफलता ? – Nepal Press

बक्सअफिसमा ‘फ्लप’ फिल्म ट्रेन्डिङ हुँदा स्वस्तिमा हर्षित : ‘चपली हाइट’ले दिलाउला सफलता ?

काठमाडौं । आफू अभिनित ‘चपली हाइट ३’ को पत्रकार सम्मेलनमा अभिनेत्री स्वस्तिमा खड्का केही यथार्थवादी सुनिइन् । आफूले स्टारडमको दबाब महसुस नगरेको र फिल्मको बक्सअफिस सफलता यसको कन्टेन्टमा निर्भर हुने उनको टिप्पणी थियो ।

पुस २ गते प्रदर्शन हुने उक्त फिल्ममा स्वस्तिमाको मुख्य भूमिका छ । चपली हाइटको तेस्रो सिक्वेल प्रदर्शन हुनै लाग्दा स्वस्तिमा अभिनित दुई फिल्म हजार जुनीसम्म र घामड शेरे अहिले युट्युवमा स्ट्रिमिङ भैरहेका छन् । यी दुबै बक्सअफिस प्रस्तुतिमा कमजोर फिल्महरु हुन् ।

तर, यी दुबै फिल्मबाट स्वस्तिमाले गतिलो समीक्षा हासिल गरिन् । यी दुबै फिल्म युट्युवमा ट्रेन्डिङ पनि भैरहेका छन् । मंगलबार बेलुका पाँचबजेसम्म घामड शेरे ट्रेन्डिङको दोस्रो स्थानमा छ भने हजार जुनीसम्म ट्रेन्डिङको पहिलो स्थानमा छन् । स्वस्तिमाका दुबै फिल्म ट्रेन्डिङको शीर्षस्थानमा उक्लनुले पक्कै पनि पुस २ गते रिलिज हुने चपली हाइटलाई केही फाइदा पुग्ने आशा गरिएको छ ।

हुन त, युट्युवको अंकगणितले बक्सअफिसको ट्रेन्डिङलाई परिभाषित गर्दैन् । बक्सअफिसमा असफल फिल्म युट्युवमा बढी हेरिएका छन् । पैसा तिरेर हेर्नु र निःशुल्क हेर्न पाइने सुविधाले यी दुबै माध्यमले एकअर्कोलाई निश्चित तुल्याउन सक्दैनन् । तर, यहाँनेर समय र त्यसको प्रभावलाई महत्वका साथ लिन सकिन्छ ।

चपली हाइट ३ निर्माता अर्जुन कुमारले आफ्नो फिल्म रिलिजकै समयमा स्वस्तिमाका फिल्म रिलिज गर्नुलाई सकारात्मकरुपमा लिइनुपर्ने बताए । ‘मेरो फिल्मको स्टार पनि उही हो । युट्युवमा रिलिज भएका ती दुई फिल्मको स्टार पनि उही हो’ नेपाल प्रेससँग उनले भने, ‘पक्कै पनि फिल्म पब्लिसिटी र दर्शकको मनोविज्ञानमा प्रभाव पार्न सक्छ ।’

स्वयम स्वस्तिमाले पनि युट्युवमा आफू अभिनित दुबै फिल्म स्ट्रिमिङ भैरहेकोमा हर्ष व्यक्त गरेकी छिन् । सामाजिक संजालमा फिल्मको पोस्टर सेयर गर्दै हजार जुनीसम्म अपार भीडका साथ प्रदर्शन भैरहेको र घामड शेरे पनि रिलिज भएको बताएकी छिन् । उनले दर्शकको प्रतिक्रिया माग्दै खुशि व्यक्त गरेकी छिन् ।

मल्टिप्लेक्स र सिंगल स्क्रिनमा सन्तुलन मिलाउन सक्ने नायिकाको रुपमा लिइने स्वस्तिमा स्टारर ‘चपली हाइट’को तेस्रो सिक्वेलले कस्तो प्रदर्शन गर्ने हो भन्ने कुरा स्वस्तिमाकै जवाफमा लुकेको छ । स्टारडम नभएर कन्टेन्ट चल्ने उनको जवाफभित्रै चपली हाइटको बक्सअफिस भविष्य निर्भर हुनेछ ।

अर्कोतर्फ, चपली हाइटको ब्रान्ड पनि प्रमुख आधार मान्न सकिन्छ । अघिल्ला दुबै प्रिक्वेलले राम्रो पैसा कमाइ गरेका छन् ।

यसैबीचमा, सोही मितिमा प्रदर्शन हुने अन्य दुई फिल्म हलिउडको स्पाइडरम्यान र दक्षिण भारतीय फिल्म पुष्पा पनि चपली हाइटको ब्यापारमा पनि मुख्य कारक बन्न सक्छन् । के चपली हाइटले स्वस्तिमाको अभिनय करियरलाई मद्दत गर्ला ? यो जान्न पुस २ गते प्रतीक्षा गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर