काठमाडौंको ट्राफिक जाम कम गर्न जापानबाट सिक्ने कि ! – Nepal Press

काठमाडौंको ट्राफिक जाम कम गर्न जापानबाट सिक्ने कि !

काठमाडौंमा अहिले निश्चित समयमा पुग्नैपर्ने कुनै कामका लागि निस्कँदा सडकमा कति सवारी जाम छ ? भन्ने विचार गरेर सोहीअनुसार एक–डेढ घण्टा समय पहिले नै निस्कनुपर्ने बाध्यता छ ।

अझ सार्वजनिक सवारीसाधनमा यात्रा गर्नुपर्नेहरुका लागि झन् सास्ती छ । समयमा साधन नपाइने र पाउदा पनि अत्यन्तै भिडभाडमा थिचिएर, किचिएर यात्रा गर्नुपर्ने अर्को बाध्यता पनि छ ।

सार्वजनिक सवारीसाधन प्रयोग गर्नेलाई समयमै कार्यालय पुग्न कठिन छ । कोरोनासँगै अन्य रोग संक्रमणको जोखिम पनि बढी छ । यसर्थ काठमाडौंमा बस्ने भनेर अनुमान गरिएका करिब चालीस लाख मानिसमध्ये सामान्य हैसियत भएकाहरुले समेत सार्वजनिक सवारी साधन प्रयोग गर्नुको साटो ऋण गरेरै भए पनि निजी सवारीसाधन प्रयोग गरिरहेका छन् ।

काठमाडौंमा दिनप्रतिदिन निजी सवारीसाधन बढिरहेका छन् । तर, उहीं पुरानो र साँघुरो सडकका कारण ट्राफिक जाम भन्भन्दा झन् बढिरहेको छ ।

जापानबाट सिक्नुपर्ने पाठ

जापानमा प्रायः सामान्य र गाउँमा बस्ने गरिब, मजदुर र तिनीहरुका परिवारले बढी निजी सवारीसान प्रयोग गर्छन् । सहरमा बस्ने हैसियत भएका र सम्पन्नहरुले सुरक्षित, भरपर्दो र समयमा पुग्न सकिने भएकोले प्रायः रेलयात्रा गर्छन् । धेरैले सार्वजनिक सवारीसाधन नै प्रयोग गर्छन् ।

त्यहाँ सार्वजनिक सवारीसाधन भरपर्दो, आरामदायी र विश्वसनीय मानिन्छ । दुर्गम गाउँमा बस्ने, आर्थिक हैसियत कमजोर भएकाहरु गुजाराका लागि श्रम गर्न दैनिक रुपमा समयमै सहर पुग्नका लागि त्यहाँ निजी सवारीसाधनको प्रयोग गरिन्छ ।

तर नेपालमा भने त्यसको ठीक विपरीत देखिन्छ । हाम्रा सार्वजनिक सवारीहरु समग्रमा भरपर्दा छैनन् । सार्वजनिक सवारीको रुपमा प्रयोग हुने बस, माइक्रो र टेम्पोमा यात्रा गर्दा समयमा गन्तव्यमा पुग्न नसकिने, भीडभाडमा च्यापिनु वा किचिनुपर्ने स्थिति छ ।

सामान हराउने र पकेट मारिने जोखिम पनि उतिकै हुन्छ । अहिले कोरोना महामारीका कारण सार्वजनिक सवारीसाधनको यात्रा झन् जोखिमपूर्ण छ । जसकारण यहाँ सकेसम्म निजी सवारीसाधन नै चढ्ने चलन बढेको छ ।

पछिल्लो समय निजी सवारीसाधनमा पनि मोटरसाइकल, जिप, कार, भ्यानहरुको बिक्री बढिरहेको छ । धेरैजना अट्ने ठूला सार्वजनिक बसभन्दा पनि एकजनाका लागि एउटा सानो गाडी हुनु भनेको सडकका लागि थप भार हो । जसकारण ट्राफिक जाम ज्यादा हुने गरेको छ ।

निजी सवारीसाधन बढ्नुका फाइदा

हाम्रो जस्तो आन्तरिक उत्पादन नहुने र सवै साधनहरु विदेशबाट पैठारी गर्नुपर्ने मुलुकमा निजी सवारीसाधनको बढोत्तरी हुनुका फाइदा केही फाइदा पनि छन् ।

सवारीसाधन आयातबाट राज्यको राजस्व बढ्छ । आर्थिक क्षेत्रमा चहलपहल बढ्छ । नागरिकको काममा सहज हुन्छ । नेपालमा अहिले सवारीसाधन आयातबाट राम्रो राजस्व संकलन भइरहेको छ ।

सवारीसाधन बढेसँगै इन्धन, त्यसको पाटपुर्जाको व्यापारिक कारोबार पनि बढिरहेको छ । यसबाट अर्थक्षेत्र चलायमान हुन्छ । यो सकारात्मक पाटो हो ।

निजी सवारीसाधन बढ्नुका बेफाइदा

देशभित्र कुनैपनि सवारीसाधन उत्पादन नहुने र सबै विदेशबाट नै आयात गर्नुपर्ने नेपालजस्तो मुलुकको यथार्थ हो । नागरिकका आधारभूत अत्यावश्यकता र स्वास्थ सेवाका लागि नभइ नहुने वस्तुको खरिदका लागि विदेशी मुद्राको अभाव झेल्नुपरेको छ ।

राजगारीका लागि विदेश गएका युवाले ल्याएको विदेशी मुद्रा पनि उत्पादनशील काममा खर्च भएको छैन । उक्त रकम सवारीसाधनलगायत विलासीका सामानमा खर्च भइरहेको छ । यसले व्यापार घाटा बढाइरहेको छ ।

यसरी उत्पादनशील क्षेत्रमा गर्नुपर्ने लगानी घट्ने अनि अनुत्पादक र अनावश्यक ठाउँमा खर्च हुँदा समाजमा आर्थिक असमानता बढ्ने निश्चित छ । त्यस्तै प्रदूषण बढ्ने र मानव स्वास्थ्यमा नकरात्मक गर्ने गर्ने जोखिम पनि उतिकै हुन्छ ।

कसरी गर्ने समस्या समाधान ?

बढ्दो जनसंख्या र सोही आधारमा बढ्दो अव्यवस्थित सहरीकरणरका कारण बढ्दै गरेका नीजि सवारीसाधनका लागि आवश्यक सडकलगायतका भौतिक पूर्वाधार बढाउन नसक्नु नै सवारी जामको मुख्य कारण हो ।

सार्वजनिक सवारीका रुपमा चिनिने भाडामा चल्ने बसलगायतका ठूला सवारीसाधन अपेक्षित रुपमा बढाउन तथा भरपर्दो, सुरक्षित र नियमित तथा विश्वसनीय बनाउन नसक्नुका कारण पनि निजी सवारीसाधनको चाप बढेको छ ।

समस्या समाधानका लागि सवारी चापअनुसार भौतिक पूर्वाधार, सडक, पुल आदिको व्यवस्था गर्नु जरुरी छ । उपलब्ध भौतिक पूर्वाधारको क्षमताभन्दा बढी सवारी साधन नहुने गरी उपयुक्त नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयनमा ल्याउनु पर्दछ ।

यसो गर्न गर्न विदेशी मुद्रालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिन्छ । सकेसम्म नेपालमै सवारीसाधन उत्पादन गर्ने नीतिगत तयारी गर्न ढिला भइसक्यो । सवारीसाधन उत्पादनमा लगानी आकर्षित गर्न सके धेरैले निजी साधन चढ्दा पनि मुलुकलाई धेरै हानि हुँदैन ।

त्यस्तै अहिलेकै व्यवस्थापनमा पनि सडकमा एकैचोटि सवारी चाप नपर्ने गरी सरकारी, निजी कार्यालय र विद्यालय तथा क्याम्पस सञ्चालन हुने समय तालिका फरक पार्न सके पनि ट्राफिक जामको समस्या एक हद कम हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *