नेप्सेमा अस्वाभाविक उतारचढाव, साना लगानीकर्ताले धैर्यता गुमाउँदा ठूलालाई फाइदा – Nepal Press

नेप्सेमा अस्वाभाविक उतारचढाव, साना लगानीकर्ताले धैर्यता गुमाउँदा ठूलालाई फाइदा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा परिवर्तन नगरेपछि मौद्रिक समीक्षापश्चात सेयर बजार परिसूचक ‘नेप्से’ निरन्तर ओरालो यात्रामा छ ।

मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गर्दै एक वित्तीय संस्थाबाट ४ करोड र सम्पूर्ण बैंकिङ प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था गरेको थियो । सो सीमा नाघेका लगानीकर्ताबाट कर्जा उठाउन बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको थियो । सोहि नीतिका कारण ‘अल टाइम हाई’ ३१९७ अंकको बिन्दुमा पुगेको नेप्से कात्तिक २ गते करिब ७ सय अंकले घट्दै यस अवधिको न्युनतम २५११ अंकको बिन्दुमा झर्न पुग्यो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत सेयर कर्जाको सीमा हटाउने भन्दै बजार भ्रम फैलाएर बजारलाई २८५८ अंकसम्म पुर्‍याइयो । नेपाल राष्ट्र बैंकले आयोजना गरेको अर्थमन्त्री सहितको एक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि स्वार्थ समूहको चाहनामा राष्ट्र बैंकको नीति परिवर्तन नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिए । उनको अभिव्यक्ति मौद्रिक नीति समीक्षामा देखियो । राष्ट्र बैंक आफ्नो नीतिगतमा अडिग रहँदै मार्जिन कर्जामा कुनै पनि नीतिगत परिवर्तन गरेन । त्यसयता सेयर बजार परिसूचक नेप्से निरन्तर करिब ३५० अंकले घटिसकेको छ ।

सेयर बजारमा आज नाटकीय उतारचढाव देखियो । कारोबार भएको पहिलो १ घण्टामा नेप्से ७२ अंकले घटेर २४४१.६८ अंकको बिन्दुमा पुग्यो । त्यसको २० मिनेटमा घट्ने दरमा ह्रास आउँदै ओरालो यात्रामा नाटकीय सुधार हुँदै नेप्से १६ अंकले घटेर २४९८ अंकको बिन्दुमा पुग्यो ।

बजार बढ्ने आशामा लगानीकर्ता जागे पनि पुन बजार थप ३० अंकले घटेर २४६१ अंकको बिन्दुमा पुग्यो । २४६१ अंकको बिन्दुबाट नेप्से बढेर आइतबार कारोबार बन्द भएको बिन्दु करिब २५१३ अंकलाई पार गर्दै ३६ अंकले बढ्दै २५४९ अंकको बिन्दुमा पुग्यो । ३६ अंकले बढेको बजार घटेर ३ अंकमा सीमित भएपश्चात पुन: बजार १५ अंकले बढेको छ ।

करिब ७२ अंकले नेप्से घट्दा कारोबार रकम १ अर्ब ३४ करोडमा रहेकोमा नेप्से बढेर ३६ अंकको वृद्धिबाट ३ अंक हुँदै १५ अंकमा कारोबार हुँदा ३ अर्ब ५५ करोडको कारोबार भएको छ । नेप्सेको पहिलो दुईवटा ठूला उतारचढावमा साना लगानीकर्ताले पेनिक सेल्स गर्दा त्यसको फाइदा ठूला लगानीकर्ताले उठाएका छन् । बजार २२ सयसम्म झार्ने भ्रम फैलाएर बजार घटाएर फाइदा लिने मनसाय बोकेका लगानीकर्ताको चेपुवामा साना लगानीकर्ता पर्दा उनीहरूले आफ्नो सम्पत्ति गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर