को–को थपिँदैछन् एमाले स्थायी कमिटीमा ? – Nepal Press

को–को थपिँदैछन् एमाले स्थायी कमिटीमा ?

कैलाली । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी मात्रै होइन, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको कार्यविभाजन तथा मनोनित गर्नेसमेत एजेन्डा तय गरेको छ ।

उक्त एजेन्डाअनुसार आगामी २५ गतेदेखि काठमाडौंमा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । अहिलेदेखि नै स्थायी कमिटीमा पर्न नेताहरुले दौडधुप थालिसकेका छन् ।

एमालेको विधानमा ४५ सदस्यीय स्थायी कमिटी तयार गर्ने उल्लेख छ । तीमध्ये १९ जना केन्द्रीय पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य बन्ने छन् । त्यसमा यसअघि स्थायी कमिटी सदस्य रहेका धनश्याम भुसाल, भीम आचार्य, किरण गुरुङ, रघुजी पन्त र मणि थापा पनि समेटिने छन् ।

यसअघि स्थायी कमिटी सदस्य समेत रहेका तत्कालीन उपाध्यक्ष भीम रावलले सदस्य पद स्वीकार गरेनन् । उनलाई स्थायी कमिटीमा लैजान केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने हुन्छ । तर, त्यो मनसायमा ओली नरहेको उनीनिकटका नेता बताउँछन् ।

त्यसबाहेक २२ जना नयाँ अनुहारले स्थायी कमिटीमा प्रवेश पाउने अनुमान छ ।

पूर्वमाओवादीबाट मणि थापा र प्रभु शाहको सम्भावना बढी छ । त्यसबाहेक टंक आङबोहाङ, गौरीशंकर चौधरी, ज्वालाकुमारी साह पनि लबिङमा छन् ।

कम्तिमा दुई कार्यकाल केन्द्रीय सदस्य भएका वा पोलिट्ब्युरोमा रहेकाहरूलाई मात्रै स्थायी कमिटीमा लैजान नेतृत्वलाई दबाब छ । यस्तो अवस्थामा आकांक्षीको संख्या कम हुने देखिन्छ ।

एउटा पक्षले रावललाई मनाएर स्थायी कमिटीमा राख्ने र लालबाबु पण्डितलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेर स्थायी कमिटीमा ल्याउनुपर्ने सुझाव अध्यक्ष ओलीलाई दिएका छन् ।

विधानमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेको अवस्थामा स्थायी कमिटीमा पनि ३३ प्रतिशत पुर्याउनुपर्ने बाब छ । तर, बाध्यकारी व्यवस्था नभएको हुँदा महिलाको संख्या ३३ प्रतिशत पुग्ने सम्भावना कम छ ।

अहिले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव पद्मा अर्याल पदाधिकारीबाट स्थायी कमिटीमा जाने छन् । त्यसबाहेक थममाया थापा र डा. बिन्दा पाण्डे स्थायी कमिटीमा पर्न सक्ने आँकलन गरिएको छ ।

अहिले श्रीमाया थकाली शिवमाया तुम्बाहाम्फे, राधा ज्ञवाली, उषाकला राई, ममता गिरी, सीता पौडेल र सुजिता शाक्यको पनि चर्चा छ । उनीहरूमध्ये केहीलाई स्थायी कमिटीमा र छुटेकालाई पोलिटरब्युरोमा समेट्न नेताहरूलाई दबाब छ ।

यसपटक स्थायी कमिटीमा समेटिने नयाँ अनुहारमा युवा पुस्ता बढी हुने आँकलन गरिएको छ । सुदूरपश्चिम प्रदेशबाट कर्ण थापा र कर्णाली प्रदेशबाट यामलाल कँडेलको सम्भावना बढी छ ।

त्यस्तै भानुभक्त ढकाल, अग्नि खरेल, देवराज घिमिरे, गुरु बराल, शेरबहादुर तामाङ, शेरधन राई, राजन भट्टराई, खगराज अधिकारी, गोकुल बास्कोटा, गोरखबहादुर बोगटी, परशुमेघी गुरुङ, नदरमुनि राना, महेश बस्नेतलगायतको पनि चर्चा छ ।

स्थायी कमिटीमा जाने आकांक्षीहरूको संख्या बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंर पोख्रेल आन्तरिक छलफलमा रहेको नेताहरूको भनाइ छ । उनीहरू दुवै जनालाई मापदण्ड तयार गरेर स्थायी कमिटी तयार गर्न नेताहरूले दबाब दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर