गौरवका आयोजनामा लुम्बिनीका मुख्यमन्त्रीको चासो, मागे समयमै कामसक्ने योजना – Nepal Press

गौरवका आयोजनामा लुम्बिनीका मुख्यमन्त्रीको चासो, मागे समयमै कामसक्ने योजना

रुपन्देही । लुम्बिनी प्रदेशमा सञ्चालित २० वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका बारेमा मुख्यमन्त्री कुलप्रसाद केसीले चासो लिएका छन् ।

ती आयोजना प्रमुख तथा प्रतिनिधिहरुसँग मुख्यमन्त्री कुलप्रसाद केसीले सामूहिक छलफल आयोजना गरेर कसरी निर्धारित समयमा पूरा गर्न सकिन्छ भन्ने विषयमा खाका मागेका छन् ।

मुख्यमन्त्री कार्यालयमा प्रदेशमा सञ्चालित २० वटा आयोजनाका प्रमुखसँग मुख्यमन्त्रीले केसीले बोलाएर के कारणले आयोजनाको काम रोकिएका छन् र कसरी समयमा पूरा गर्न सकिन्छ भन्ने विषयमा आयोजनाका आधिकारिक व्यक्तिबाट नै धारणा माग गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

मुख्यमन्त्री केसीले प्रदेशमा सञ्चालनमा आएका राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्नको लागि तीन तहका सरकार बीचमा समन्वय, सहकार्य र सहजीकरणका लागि समन्वयन गर्ने तर काम पूरा गर्न ठोस योजना बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उनले आयोजना प्रमुखबाट आयोजनाको काम, प्रगतिको बारेमा जानकारी लिनुका साथै निर्धारित समयमा ती आयोजना सम्पन्न गर्नका लागि प्रदेश सरकारको भूमिकाका बारेमा विशेष चासो राखेका थिए ।

छलफलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले क्यालिव्रेशन उडान भरेको ३ महिनापछि विमानस्थल नियमितरुपमा सञ्चालनमा आउने जानकारी दिएका थिए ।

बबई सिंचाई आयोजनाका सिनियर डिभिजन इन्जिनियर रामकृष्ण घोरासैनीले अहिलेसम्म आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको जानकारी दिएका छन् ।

३६ हजार हेक्टर कृषियोग्य भूमिको सिंचाईको योजनासहित २०४५ सालमा सुरु भएको योजनाको काम अहिले चलिरहेको र अहिले २३ हजार हेक्टर क्षेत्रफलमा सिंचाई भइरहेको उनले बताएका थिए ।

सिक्टा सिंचाई आयोजना, नेपाल टेलिकम प्रादेशिक कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जनताको तटबन्धन कार्यक्रम बुटवल, शहिद मार्ग सडक आयोजना, प्रगन्ना बड्कापथ सिंचाई व्यवस्थापन, बृहत दाङ उपत्यका सिंचाई आयोजनाको कार्यप्रगतिका बारेमा ती कार्यालयका प्रतिनिधिले जानकारी गराएका थिए ।

बिहीबार मुख्यमन्त्री केसीले ती आयोजना प्रमुखसँग कार्यसम्पादनको योजनासहित छलफल गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *