गंगा सुनारले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने – Nepal Press

गंगा सुनारले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनमा काठमाडौंकी नेतृ गंगा सुनारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन् । उनले दलित महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताइन् ।

‘पार्टीमा दलित महिलाको प्रतिनिधित्व हुने व्यवस्था छ । मैले लामो समयदेखि दलित समुदायको हक, हित र शशक्तिकरणका लागि काम गर्दै आएकी छु । पार्टीका संगठनमा बसेर पनि काम गरिसकेकी छु,’ उनले भनिन्, ‘यो महाधिवेशनबाट पार्टीको केन्द्रीय राजनीतिमा आफूलाई उभ्याउने तयारी गरेकी छु ।’

बुढानिलकण्ठ नगरपालिका–७ की ३७ वर्षे सुनार समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातक हुन् । काठमाडौंमा नेता प्रकाशमान सिंहसँग निकट उनी काठमाडौं क्षेत्र नं. ५ बाट दोस्रो पटक महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् ।

उनी हाल काठमाडौं दलित संघकी अध्यक्ष समेत हुन् । ‘दलित समुदायको पेशा व्यवसायलाई आधुनिकीकरण, बैज्ञानिकीकरण र संस्थागत गर्नुपर्ने आवश्यकता छ, पछाडि पारिएको हाम्रो समुदायको आर्थिक, शैक्षिक, स्वास्थ्य र राजनीतिक चेतनाको विकास गराएर अघि बढाउनुपर्नेछ, मेरो उम्मेदवारी त्यसैका लागि हो,’ उनले भनिन् ।

०६२ सालमा कांग्रेसको इकाइ समिति सदस्य भएर काम गरेकी सुनार दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी भइन् । उनी दलित संघको साधारण सदस्य भएदेखि निरन्तर कार्यरत छन् ।

०६० सालमा संघको जिल्ला सदस्य भएकी उनी ०६४ मा सहसचिव, ०६७ सालमा सचिव, ०७० सालमा पुनः सचिव भएर काम गरेपछि ०७४ सालमा संघको जिल्ला अध्यक्ष बनेकी हुन् । उनले आफू जिल्ला अध्यक्ष हुँदा पार्टीको विधानमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आन्दोलित हुनेदेखि विभिन्न गतिविधि गरेको बताइन् ।

उनले काठमाडौंमा पहिलो पटक ०७५ साल बैशाख २२ गते सहभोजको आयोजना गरेकी थिइन् । ‘काठमाडौंमा पनि जातीय विभेद हटेको छैन । हामीले दलित संघको आयोजनामा त्यो बेला सहभोजको आयोजना गरेर समाजमा सबै समान हो भन्ने भाष्य स्थापित गर्ने प्रयत्न गरेका थियौँ,’ उनले भनिन् ।

उनले आफू संघको जिल्ला अध्यक्ष भएपछि पटक–पटक प्रशिक्षण कार्यक्रम, दलित विद्यार्थी सम्मान तथा प्रोत्साहन लगायत कार्यक्रम गरेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर