एमालेको ‘हाइकमाण्ड’ मा पहिलोपटक दलित र मधेशी निर्वाचित – Nepal Press

एमालेको ‘हाइकमाण्ड’ मा पहिलोपटक दलित र मधेशी निर्वाचित

काठमाडौं । नेकपा एमालेको शीर्ष नेतृत्वमा पहिलोपटक मधेशी र दलित समुदायको प्रतिनिधित्व स्थापित भएको छ । आठौं महाधिवेशनदेखि बहुपदीय प्रणालीमा गए पनि एमालेको शीर्ष नेतृत्व अर्थात पदाधिकारीमा दलित र मधेशी नेताले जित्न सकेका थिएनन् ।

दशौं राष्ट्रिय महाधिवेशनबाट सचिवमा मधेशी समुदायका रघुवीर महासेठ र दलितबाट छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । महासेठ नवौं राष्ट्रिय महाधिवेशनमा केपी ओली प्यानलबाट सचिवमा पराजित भएका थिए ।

त्यस्तै नवौं महाधिवेशनमा मधेशीबाट उम्मेदवार भए पनि लालबाबु पण्डित र धर्मनाथ साह पराजित भएका थिए । पण्डित यसपटक पदाधिकारीमा नपरेपछि असन्तुष्ट भएर फर्किएका छन् भने साह नेकपा एसमा छन् ।

छविलाल विश्वकर्मा प्रमुख पार्टीको शीर्ष तहमा पुग्ने पहिलो दलित हुन् । उनी यसअघि एमालेको स्थायी कमिटी सदस्य तथा एकपटक मन्त्री भएका थिए । उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् ।

समावेशीताको हिसाबले पहिलोपटक एमालेको पदाधिकारीमा दुई महिला निर्वाचित भएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत प्राप्त गरेर दोस्रोपटक विजयी हुँदा पद्मा अर्याल सचिव निर्वाचित भएकी छन् ।

एमालेको पदाधिकारीमा आदिवासी जनजाति समुदायका रामबहादुर थापा ‘बादल’ र अष्टलक्ष्मी शाक्य सचिव निर्वाचित भएका छन् भने उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका एमाले नेता पासाङ शेर्पाले समावेशीताको हिसाबले नेकपा एमाले सबैभन्दा समावेशी पार्टी बनेको बताए । उनले ३३ प्रतिशत महिलासहित देशका सबै समुदायको अनुहार एमालेको नेतृत्वमा झल्किएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर