महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड खर्च बढ्यो – Nepal Press
एमाले महाधिवेशन

महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड खर्च बढ्यो

चितवन । निर्धारितभन्दा दुई दिन महाधिवेशन लम्बिँदा डेढ करोड रुपैयाँ खर्च बढेको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनको हुँदा डेढ करोड खर्च बढेको उनले जानकारी दिए ।

‘साढे सात करोडमा सक्ने योजना थियो तर अधिवेशन लम्बिँदा नौ करोड रुपैयाँसम्म खर्च भएको अनुमान छ’, तामाङले भने, ‘सहमतिमै नेतृत्व चयन हुने अनुमान थियो, त्यसैअनुसार तयारी गरियो । तर चुनाव नै हुने भएपछि खर्च बढ्यो ।’

महाधिवेशनको बन्दसत्र हलले अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटी घोषणा गर्ने अधिकार दिएको थियो । तर ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यप्रति केही नेताले असन्तुष्टि जनाएपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि भएको मतदान सकिएको भएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान भर्खर सकिएको हो । करिब २२ सय प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गरेका छन् ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् । आचार्य यसअघि पनि सचिव थिए ।

वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् ।

सदस्यहरुका लागि पनि मतदान भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर