तिंकर पुगेका गणकको अनुभव- धन्न महाकालीमा खसिएन ! – Nepal Press
राष्ट्रिय जनगणना-२०७८

तिंकर पुगेका गणकको अनुभव- धन्न महाकालीमा खसिएन !

काठमाडौं । दार्चुला जिल्लाका छाङरुङ र तिंकर पुगेर जनगणना गरी फर्किएका छन् खगेन्द्र कार्की । उनका लागि त्यो ७ दिनको यात्रा जीवनमै अविस्मरणीय बनेको छ ।

‘बाटो हेर्दा त सकुशल आइपुगिएला जस्तो लाग्या थिएन,’ उनले नेपाल प्रेससँगको टेलिफोन कुराकानीमा सुस्केरा हाले ।

खगेन्द्रको नेतृत्वमा तीनजनाको टोलीले ती स्थानमा पुगेर जनगणना गरेको थियो । त्यहाँ पुगेर जनगणना गर्नु यसकारण चुनौतीपूर्ण थियो कि त्यहाँ पुग्न नेपालको बाटो नै छैन ।

०००

कार्कीलाई खासमा दार्चुला जिल्लाभरिको जनगणना गराउने जिम्मेवारी थियो । सोही जिल्लाभित्र छाङरुङ र तिंकर यस्ता भू-भाग हुन् जहाँ नेपालीहरू नै सहज पुग्न सक्दैनन् । भारतको पास लिएर भारतीय बाटो प्रयोग गरेर मात्रै त्यहाँ जान सकिन्छ । विवादित कालापानी-लिम्पियाधुरा नजिकको बस्ती भएकाले त्यस क्षेत्रमा भारत अत्यधिक चनाखो रहने गर्छ । अरु बेला पासका लागि कठिनाइ नहुने भए पनि ‘जनगणना गर्न’ जाने भएपछि भारतीय अधिकारीहरूले खोचे थाप्ने भइहाले ।

जनगणना टोली नेपाल र भारतको विवादित क्षेत्र कालापानी-लिम्पियाधुरामा पुग्न सक्ने भारतीय पक्षको प्रमुख चिन्ता थियो । त्यसकारण पनि भारतले तीनपटकसम्म पासको लागि आग्रह गर्दा पनि अस्वीकार गर्‍यो ।

सुरूमा छाङरुङ-तिंकरमा गणना गर्न भनेर भारतबाट पास लिएर जाने योजना थियो । त्यहाँको गणना गर्नको लागि एकजना गणकलाई तोकियो । जिल्ला जनगणना कार्यालयले पासको लागि प्रकृया पूरा गर्‍यो ।

छाङरुङ र तिंकर विवादित क्षेत्रमा पर्दैन । नेपालकै भूमि भए पनि भारतको बाटोबाट जान सजिलो छ । भारतबाट बाटो बनेपछि नेपालीहरूले पनि त्यही बाटो प्रयोग गर्छन् । नेपालको बाटो निकै खराब अवस्थामा छ ।

छाङरुङका स्थानीयलाई नेपाली क्षेत्रमा आवतजावत गर्न समस्या छैन । पहिला सरकारी कर्मचारीलाई पनि सजिलै पास दिन्थ्यो । तर, जनगणना टोली भनेपछि भारतीय अधिकारीहरूले बखेडा झिके । स्थानीय प्रशासनसँग छलफल गरेर तीनपटक भारत सरकारलाई पासको लागि पत्राचार भयो । तर, विभिन्न बहाना गरेर भारतले पास जारी गर्न मानेन ।

सहायक जनगणना अधिकृत कार्की भन्छन्, ‘सुरूमा कात्तिक २५ गते चिठी लेखेका थियौं पासको लागि । त्यही दिन ५-६ जनाले घुम्न जाने भनेर पास अप्लाई गरेका रहेछन् । उनीहरूलाई चाहिँ पास दिइयो । हामीलाई दिइएन ।’

भारतबाट पास नदिने भएपछि नेपालकै बाटो हिँडेर जाने सल्लाह भयो । तर छाङरुङ र तिंकरको जनगणनाको लागि खटाइएका गणकले नेपालकै बाटो हिँडेर आनाकानी गरे । त्यहाँ जनगणना गराउन गणकलाई तालिम दिएर भारतको बाटो पठाउने पहिल्यै तयारी भएको थियो ।

गणक स्थानीय नै थिए । उनलाई नेपालको बाटोको बारेमा राम्रो जानकारी थियो । नेपालको बाटो जान्नँ, बरु जागिर नै छाड्दिन्छु भनेपछि तनाव भयो ।

‘गणक त एक महिनाको जागिर न हो । त्यसैले पनि जादिनँ भनेर भनिसकेपछि अरु विकल्प पनि थिएन हामीसँग,’ सहायक अधिकृत कार्कीले भने ।

अर्को गणकको व्यवस्था गर्न जनगणना कार्यालयसँग समय थिएन । फेरि ९ गतेभित्रै जनगणना गरिसक्नुपर्ने थियो । त्यसैले जिल्ला जनगणना कार्यालयका दार्चुलाका सहायक जनगणना अधिकृत खगेन्द्र आफैं र अफिसका कार्यलय सहयोगीलाई लिएर जान तयार भए ।

आफूहरू त्यहाँ पुगेको खबर पाएपछि सुरक्षा बढाइएको र चेकजाँच पनि कडा बनाइएको उनले बताए ।

छाङरुङ र तिंकरका बासिन्दाहरू ओहोरदोहोर गर्न भारत र नेपालको सीमानामा सीता पुल छ । त्यहाँ जनगणना टोली पुगेपछि नियमितभन्दा बढी भारतीय सुरक्षाकर्मी बढाइएको सूचना सशस्त्र प्रहरी क्याम्पको टोलीले उनीहरूलाई दिएको थियो ।

बाटोको बारेमा सोध्दा उनलाई कसैले पनि नेपालको बाटो प्रयोग गर्न सुझाव दिएनन् ।

उनी त्यतिबेलाको अवस्था सुनाउँछन्, ‘हामीले बाटोको विषयमा जति मान्छेसँग सोध्यौं, कसैले पनि सिफारिस गरेनन् । अहिले बाटो अप्ठ्यारो छ, सकभर नजानु भन्ने जवाफ पाएका थियौं ।’

त्यस्तो बाटो जान सकिएला भन्ने उनलाई पनि थिएन । जहाँसम्म जान सकिन्छ, प्रयास गर्ने मनस्थितिमा उनी थिए । त्यसपछि लागे खगेन्द्र र उनका सहयोगी लोकेन्द्र लागे तिंकरको यात्रातर्फ ।

स्थानीयको साथ, खर्कमा बास

३ गते बिहान जिल्ला जनगणना कार्यालय खलंगाबाट उनीहरू प्रस्थान गरे । बेलुकी दुम्लिङमा बास बसे । दुम्लिङसम्म बाटो र घरहरू छन् । त्यहाँसम्म सहजै पुगे । दुम्लिङबाट छाङरुङ नपुग्नजेलसम्म बीचमा कतै बस्ती छैन । सीधै छाङरुङ पुगेर मात्रै मानव बस्ती भेटिन्छ ।

दुम्लिङबाट हिँडेपछि उनीहरूलाई अप्ठ्यारो बाटो देखाउने स्थानीय भेटाए । त्यसपछि ३ जनाको टोली भयो ।

‘हामीसँग दुम्लिङबाट एक जना स्थानीय जान तयार हुनुभयो । हामीले उहाँलाई हायर गर्‍यो । उहाँले नै हामीलाई गाइड गर्दै लैजानुभयो । त्यसैगरी हामी पुग्यौ ।’कार्कीले बताए ।

खलंगाबाट हिँडेर पहिलो दिन दुम्लिङ र दोस्रो दिन थि भन्ने खर्कमा बसे । तेस्रो दिन गुदी भन्ने खर्कमा रात कटाए । खर्कमा भेडाबाख्रा चराउने गोठालाहरू थिए । उनीहरूले भेडा पाल्नको लागि बनाइएका खर्कहरूमा दुई रात विताए । खगेन्द्रले खर्कमा बसेकाहरूको पनि गणना गरे ।

खर्कमा भेटिएका गोठालाहरूको घर चाहिँ सूचीकरण भइसकेको थियो । तर, बीचमा दुई परिवारको गणना गर्न छुटेको रहेछ । उनीहरूको गणना पनि त्यही खर्कमै भयो । छुटेका दुई परिवारको गणना गर्दै उनीहरू अगाडि बढे ।

कष्टप्रद यात्रापछिको खुसी

खगेन्द्रको घर कञ्चनपुरको महेन्द्रनगरमा छ । उनी जनगणना कार्यालयमा रोजगारीको सिलसिलामा खलंगा पुगेका थिए । त्यसभन्दा अघि उनी दुम्लिङसम्म मात्रै गएका थिए । उनको लागि छाङरुङ र तिंकर बिरानो थियो ।

तल महाकाली नदी, माथि कहालीलाग्दो भीर । त्यहीमाथि पहिरो गएको बाटो । समाउने बुट्यानसम्म भेट्न मुस्किल थियो । धेरैजसो पहिरो गएको ठाउँमा बाटो पनि आफैं बनाउदै हिँड्नुपर्ने थियो । कष्टपूर्वक त्यो बाटो उनीहरूले पार गरे ।

उनीहरूलाई बाटो देखाइदिने स्थानीयले हौस्याउँदै भने ‘सर यहीँ लास्ट बाटो हो, अब आइपुग्यो ।’

‘हिँडिसकेपछि बाटोबाट फर्कँदा अप्ठ्यारो हुन्थ्यो । अहिलेसम्म गरिएको मेहेनत खेर जान्छ भन्ने फिल भयो । त्यसैले जसरी भए पनि जाउँ भनेरै पुगियो,’ उनले भने ।

खलङ्गाबाट हिँडेको चौथो दिनमात्रै उनीहरू छाङरुङमा पहिलोपटक पाइला टेके । छाङरुङ पुग्दा मध्यान्हको १२ बजेको थियो । छाङरुङबाट ५ घण्टा हिँडेर मात्रै तिंकर पुगिन्छ । उनीहरूले छाङरुङ पुगेर खाना खाए र गणना गर्ने काम सुरू गरे ।

छाङरुङभन्दा अझै उचाइमा छ तिंकर । त्यहाँ मौसमले साथ नदिनेवित्तिकै हिमपात सुरू हुने भएकाले पनि खगेन्द्रलाई डर थियो, कतै स्थानीयवाबासीहरू नभेटिने हो कि भनेर । तिंकरमा मानिसहरू मंसिर पहिलो साता नै जाडो छल्न तल झरिसकेका हुन्थे । चिसो मौसममा त्यहाँ बस्न सम्भव नहुने भएकाले तिंकरबासी तलै झर्न लागेको सूचना उनीहरूले पाएका थिए ।

केही परिवार जाडो छल्न बसाइ हिँडिसकेका थिए । टोलीले उनीहरूमध्ये केहीलाई बाटोमा भेटे । कोही घरैमा भेटिऐ । ७ गते बिहानै तिंकर पुगेर उनीहरू विवरण लिएर बेलुका छाङरुङ नै फर्किए ।

उनले उत्साही हुँदै सुनाए, ‘८ गते बिहानैदेखि बाँकी रहेको छाङरुङको कामहरू गर्‍यौं । ९ गते पनि बिहानसम्मै काम गर्‍यौं ।’

छाङरुङ र तिंकरबासीलाई जनगणना टोली आउँछ भन्ने पहिले नै सूचना थियो ।

खगेन्द्रले भने, ‘भारतबाट आउने प्रयासमा छन् तर भारतले पास दिइराखेको छैन भन्ने उहाँहरूले पनि सूचना पाइसक्नुभएको रहेछ ।’

त्यहाँका वडाध्यक्षसँग उनको कुरा भएको थियो । उनीहरू जनगणनाकै लागि भनेर अहिलेसम्म रोकिएका हुन् नत्र सबै तल सरिसक्थे भनेर वडाध्यक्षले सुनाउँदा उनी आल्हादित बने ।

उनी भन्छन्, ‘त्यहाँको स्थानीय एफएम सुनेर जनगणना टोली यो बाटो भएर आउँदैछ भन्ने थाहा पाएका रहेछन् । हामी पुग्नेबित्तिकै उनीहरूले जनगणना गर्न आउँनुभएको हो ? भनेर सोधिहाले । यस्तो बाटो कसरी हिँडेर आउँनुभयो भनेर आश्चर्य पनि प्रकट गरे ।’

जब उनले पहिलोपटक छाङरुङबासी तिंकरबासीलाई भेटे, उनीहरँ जनगणनाको लागि आतुर देख्दा बाटोमा आउँदाको दुख छिनभरमै भुले ।

खगेन्द्र सुनाउँछन्, ‘उहाँहरूले राम्रो समन्वय गर्नुभयो । हामीलाई त्यहाँ पुगेर काम गर्न कुनै समस्या भएन । जानलाई मात्रै अप्ठयारो भएको हो ।’

फर्किँदा हेलिकप्टरमा

जनगणना सकिएपछि कसरी फर्कने भन्ने चिन्ता थियो उनलाई । जति उकालो पार गर्न गाह्रो थियो, त्योभन्दा धेरै गाह्रो थियो ओरालो झर्न ।

९ गते बिहान उनले खुसीको कुरा सुने । उनीहरूलाई लिन नेपाली सेनाको हेलिकप्टर आउँदैछ रे भन्ने खबर पाएपछि दंग परे ।

उनले सुनाए, ‘हामीलाई लिन हेली जान्छ भन्ने विश्वास थिएन । कसरी फर्कँने भन्ने चिन्ता चाहिँ थियो । हाम्रो कार्यालय प्रमुखले पनि भनिराख्नुभएको थियो । हामी हिँडिसकेपछि पनि बाटोको बारेमा उहाँहरूले धेरै बुभ्नुभएको रहेछ । आउँदाखेरी भिरालो पर्छ । तपाईंहरू जति दिन हुन्छ त्यहीँ बस्नुस, म हेलिकोप्टरका लागि सकभर प्रयास गर्छु भनेर आश्वासन दिनुभएको थियो ।’

यद्यपि, उनलाई हेलिकोप्टर आउँछ भन्ने विश्वास थिएन । आउँदा खुसीको सीमा भएन । खंलगा आएपछि अब चाहीँ बाँचियो है भन्ने भयो ।

छाङरुङ जाँदा पहिरोको बाटोमा हिँड्दै गरेको भिडियो उनका साथीले खिचेका थिए । उनलाई भिडिओ खिचेको थाहै थिएन । अहिले भिडिओ हेर्दा आङ सिरिङ्ग हुन्छ उनलाई ।

‘भिडिओ हेरिसकेपछि मलाई अहिले यस्तो बाटो हिँडिएको रहेछ भनेर कहाली लाग्यो । त्यहाँबाट खसेको भए हाम्रो नामोनिशान भेटिने थिएन ।’

खंलगा आइसकेपछि उनी काममै खटिए र अहिले फारम बुझाउने काम सुरू भइसकेको छ । स्थानीय अधिकारी र कार्यालयमा पनि अरु नहुँदा उनले जिम्मेवारी सम्हालेका छन् । जनगणना सकिएपछि नै आराम गरौंला भनेरै उनी निरन्तर काममा खटिएका छन् ।

प्रतिक्रिया

One thought on “तिंकर पुगेका गणकको अनुभव- धन्न महाकालीमा खसिएन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर