ईश्वर-विष्णु सहकार्यले ओलीलाई सहज, महासचिवमा सहमति गर्न पौडेल र पोखरेलबीच वार्ता हुँदै – Nepal Press
एमाले महाधिवेशन

ईश्वर-विष्णु सहकार्यले ओलीलाई सहज, महासचिवमा सहमति गर्न पौडेल र पोखरेलबीच वार्ता हुँदै

चितवन । नेकपा (एमाले) को १० औं महाधिवेशनको दोस्रो दिन बन्द सत्रको दिन थियो ।

तोकिएको भन्दा ५ घण्टा ढिलो गरी सुरू भएकव बन्दसत्रको धेरैजसो समय विदेशी पाहुनाको शुभकामनामै बित्यो । बन्दसत्रको साँझतिरको समय भने निर्णायक रह्यो । हिजोको केन्द्रीय कमिटीबाट विधान संशोधन गर्न गरिएको निर्णयलाई बन्द सत्रले अनुमोदन गरेको थियो ।

साथै पदाधिकारी र केन्द्रीय सदस्य छनोटको अधिकार ओलीलाई सुम्पिने प्रस्ताव अघि बढ्यो । यसमा महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलको सहकार्य गजब देखियो । त्यो प्रस्तावलाई हलले पारित गर्‍यो ।

यो निर्णयविरुद्ध आपत्ति जनाउँदै उपाध्यक्ष भीम रावलले फरक मत राखे । अध्यक्ष ओलीले विष्णु पौडेलले राखेको प्रस्तावको प्रतिरक्षा गरे ।

यो सहकार्यले बरिष्ठ उपाध्यक्षमा पोखरेललाई नै ओलीले अघि सार्ने संकेत मिलेको केही नेताले बताएका छन् ।

सहमतिअबन्दा आफू बाधक नबन्ने सुवास नेम्वाङको अभिव्यक्तिले पनि उनी दाबीबाट पछि हटेको र पोखरेललाई बरिष्ठ उपाध्यक्ष छोडिदिएको संकेत मिलेको छ ।

बन्द सत्रमा देखिएको दृश्यले महासचिवमा विष्णु पौडेललाई ओलीले अघि सारेको संकेत मिल्थ्यो । यद्यपि यसबारे अझै एकिनसाथ भन्ने सकिने अवस्था छैन ।

बरिष्ठ उपाध्यक्षमाथि आफ्नै समूहका दुई नेताको दाबीले ओलीलाई अप्ठ्यारो पारेको थियो । अब त्यो सकस हटेपछि महासचिवको विषयमा ओलीको ध्यान केन्द्रित हुनेछ । त्यही गाँठो फुकाउन पौडेल र शंकर पोखरेलबीच आजै रातिसम्म वार्ता गराउन लागिएको स्रोतले नेपाल प्रेसलाई जानकारी दियो ।

वार्ताबाट महासचिव र अर्को कुनै पदमा एक-अर्कालाई व्यवस्थापन गर्ने सहमति बन्नेछ । महासचिवमाथिको आजै विवाद टुंग्याएर भोलि नै पदाधिकारी घोषणा गर्ने तयारी ओलीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर