सामाजिक सुरक्षा कोषमा आबद्ध ५२ योगदानकर्ताका आश्रित परिवारलाई आजीवन पेन्सन वितरण – Nepal Press

सामाजिक सुरक्षा कोषमा आबद्ध ५२ योगदानकर्ताका आश्रित परिवारलाई आजीवन पेन्सन वितरण

काठमाडौं । सामाजिक सुरक्षा कोषले चौथो सामाजिक सुरक्षा दिवसका अवसरमा विभिन्न कारणले मृत्यु भएका योगदानकर्ताका ५२ आश्रित परिवारलाई आजीवन पेन्सन वितरण गरेको छ । कोषले काठमाडौं, विराटनगर र बुटवलमा फरक–फरक कार्यक्रमको आयोजना गर्दै ५२ परिवारलाई पेन्सन वितरण गरेको हो ।

आजिवन पेन्सन वितरण गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले गत वर्षको माघमा कार्यविधि संशोधन गरेर उल्लेख्य रोजगारदाता र श्रमिक आबद्ध भएको बताए । तर, उक्त संख्या सन्तोषजनक भने नरहेको जिकिर गर्दै न्यायको हिसाबले श्रमिकका लागि कोष निकै महत्वपूर्ण रहेको बताए । मन्त्री श्रेष्ठले सबैलाई सहज हुने गरी सातै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय विस्तार गर्ने घोषणा गरे । कोषबाट प्रदान गर्ने योजनामार्फत् सबै रोजगारदाता र श्रमिक सबै आबद्ध हँदै जाने मन्त्री श्रेष्ठको विश्वास छ । श्रमिकको सामाजिक सुरक्षा कोषले श्रमिकको हकअधिकार सुनिश्चित हुने बताउदैँ कोष भन्दा बाहिर कोही पनि श्रमिक नहुने उनको भनाइ छ ।

कोषका अध्यक्षसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूयप्रसाद गौतमले श्रमिकको संवैद्यानिक हक सुनिश्चित गर्न कोष स्थापना भएको बताउदैँ अहिलेसम्म आबद्ध भएका रोजगारदाता र श्रमिकका हिसाबले उपलब्धीमुलक रहेको बताए । यसले अप्ठ्योरोको अवस्थामा सहयोग गर्ने भएकाले कोषलाई सकारात्मक पक्षले हेर्नुपर्नेमा जोड दिर्दै उनले अस्थायी तथा निजी क्षेत्रमा आबद्ध भएका श्रमिकलाई पनि आबद्ध गर्ने कार्य भइरहेको जानकारी दिए । आबद्ध नभएका प्रतिष्ठानलाई पनि आबद्ध हुन अनुरोध गर्दै सचिव गौतमले छोटो अवधिमै सरकारले पेन्सन उपलब्ध गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

कोषका सदस्य समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले विकसित मुलुकमा पनि कोष लागू गरेको धेरै समयपछि प्रभावकारी भएको बताउदैँ नेपालमा पनि पहिलो शुरुवाती भएपनि सन्तोषजनक रहेको बताए । कोषमा पहिलो चरणमा कार्यविधिलगायत अन्यमा कमी कमजोरी देखिएकाले त्यसलाई कोषले परिमार्जन गरी लैजानुपर्नेमा जोड दिए ।

कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीलले सामाजिक सुरक्षा कोषको कार्याविधिलाई संशोधन तथा परिमार्जन गरी कोषलाई योगदानमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए । सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार अहिलेसम्म १५ हजार ७ सय ७८ रोजगारदाता र २ लाख ९४ हजार ८ सय ६४ श्रमिक आबद्ध भएका छन् । उक्त आबद्ध भएकामध्ये एक सय २३ आश्रित परिवारले निरन्तर पेन्सन पाइरहेका छन् ।


प्रतिक्रिया

One thought on “सामाजिक सुरक्षा कोषमा आबद्ध ५२ योगदानकर्ताका आश्रित परिवारलाई आजीवन पेन्सन वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर