काँधमा चढेर एमाले नै सिध्याउने नेतृत्व नआओस् – Nepal Press
एमाले महाधिवेशन

काँधमा चढेर एमाले नै सिध्याउने नेतृत्व नआओस्

नेकपा एमालेको दशौं राष्ट्रिय महाअधिवेशनको सुरु हुँदैछ । नारायणी नदीको तीरमा लाखौं कार्यकर्ताको उपस्थितिमा हुने महाअधिवेशनले देशभरबाट आएका हजारौं प्रतिनिधिहरुको मतबाट सयौं नेतृत्व गर्नेहरुको छनोट गर्नेछ । यो छनोट निर्वाचनमार्फत हुन्छ या बन्दसत्रमा ताली बजाएर हुन्छ भन्ने विषयमा अझै केही भन्न सकिने अवस्था छैन । तथापि पछिल्ला केही दृश्य हेर्दा निर्वाचनमै जानेखालका संकेत भने देखिन थालेका छन् ।

देशीविदेशी हरेक शक्ति केन्द्रहरुबाट आक्रमण र घेराबन्दीको सिकार बनेको एमालेलाई नयाँ उचाइ र दिशामा पुर्याउनका लागि डिजिटल महाअधिवेशनले खेल्ने भूमिका अहम् छ । दुई सय २५ केन्द्रीय कमिटीको काँधमा महाअधिवेशनले पार्टीको भविष्य सुम्पने छ । अहिलेको अधिवेशनबाट चुनिने नेतृत्वका लागि एमालेलाई पुनर्जीवन दिने बलियो अभिभारा हुनेछ । अध्यक्ष केपी ओलीको शब्दमा भन्नुपर्दा खुला गेटबाट सिंहदरवारमा एमालेलाई प्रवेश गराउने नेतृत्व हुनेछ ।

यसपटकको अधिवेशन डिजिटलरुपमा आयोजना गर्न लागिएको छ । उद्योगपति एवम् नेपाली कांग्रेसका नेता विनोद चौधरीले प्लाष्टिकको भाडोभित्र भोट हालेको ताजा तस्विर सार्वजनिक भइरहँदा नेकपा एमालेका प्रतिनिधिहरुले स्क्रिनमा टच गरेर मतदान गर्ने भएका छन् । नेपालका मुख्य सहरहरुमा डिस्प्लेबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण हुनेछ । प्रचार प्रसारको काम पनि डिजिटल प्रविधिबाट भइरहेको छ । अहिलेको तयारी हेर्दा अधिवेशन स्थलमा पर्चा, पम्पलेट, तुल र ब्यानरहरुको फोहोर नहुने निश्चित देखिन्छ । अधिवेशनको स्वरुप नयाँ भएसँगै यसको सार पनि नयाँ हुने अपेक्षा गरिएको छ । जनमतको हिसाबले केही धेरै, थोरै होला । तर वैज्ञानिक व्यवस्थापन गर्नु आवश्यक हुन्छ । त्यसका लागि जनप्रतिनिधिहरुले वुद्धिमत्तापूर्ण निर्णय लिनुपर्ने देखिन्छ ।

आफ्नै पार्टी अध्यक्षले नेतृत्व गरेको सरकार ढालेर विपक्षीको नेतृत्वमा सरकारमा जानेखालका नैतिकहीन र गैरजिम्मेवार नेताहरु फेरि पनि अधिवेशनबाट छनोट भएर गए भने पार्टीको अवस्था विस्तारै कमजोर बन्दै जान्छ ।

सही नेतृत्वले जतिसुकै कठिन परिस्थितिमा पनि घरभित्रै रहेर लडाइँ गर्छ । आफ्नै घर भाँड्नका लागि अरु शक्तिको सहारा लिँदैन । एमालेको काँधमा टेकेर एमालेकै टाउकोमा गोली वर्षाउने या पार्टीभित्रै संघर्ष गरेर अगाडि बढ्ने ? कस्ता नेताहरु छान्ने भन्ने जिम्मेवारी छ, प्रतिनिधिको काँधमा छ । सर्वहारा जनताको मुक्ति र समाजवादको लक्ष्य पूरा गर्नका लागि अब बन्ने नेतृत्वको भूमिका प्रधान हुन्छ ।

एमाले मुलुककै ठूलो पार्टी भएका कारण यसमा चुनौतीहरु पनि भीमकाय नै छन् । पार्टीमा आएको विभाजनले एमालेको गतिलाई रोक्न सकिन्छ भन्ने भ्रम अहिले मत्थर भएको छ । केपी ओलीले पार्टीलाई एक ढिक्का बनाएर एकमतका साथमा अगाडि बढाउन सफल भएका छन् । यो एमालेको भविष्यका लागि पनि गतिलो कुरा हो ।

महाधिवेशनको पूर्वसन्ध्यामा केही फरक खालका दृश्यसमेत देखिन थालेका छन् । अहिलेको नेता केपी वलीलाई सर्वसम्मत अध्यक्ष बनाउने भन्ने कुरामा केही बाधा उत्पन्न भएको छ । केही पदमा सर्वसम्मत गर्ने प्रयास विफल हुने लक्षण देखिएको छ । खासगरी दश बुँदे सहमतिमा टेकेर पार्टीमा आएकाहरुलाई उचित ढंगले सहभागी गराउनु आवश्यक छ । यसरी उनीहरुलाई पनि सम्मानजनक अवस्थामा राख्न सकियो भने मात्रै पार्टी एकताको बलियो सन्देश प्रबाह हुन सक्दछ । एमाले गुटबन्दीरहित पार्टी हो भन्ने सन्देश प्रबाह गर्न सहज हुने देखिन्छ ।

सामान्य खालका विवादबाहेक यसपटक प्रतिनिधि छनोटमा खासै असहमतिहरु सडकमा सुनिएनन् । अघिल्लो अधिवेशनमा जस्तो गुटगतरुपमा ‘समीकरण’ मिलाउने गरी पनि प्रतिनिधि छान्नुपर्ने अवस्था आएन ।

प्रतिनिधि छनोटको प्रक्रियालाई हेर्दा एमाले एक भइसक्यो भन्ने सन्देश समेत प्रबाह भएको देखिन्छ । गुटगत राजनीतिमा मनोरञ्जन गर्ने केही नेताहरुको बहिर्गमनले एमालेभित्र एकताको सन्देश प्रबाह गरेको छ । पार्टीलाई एक भएर अगाडि वढाउनु पर्दछ भन्नेमा नेता र कार्यकर्ताहरु दृढ निश्चिन्त बनेको पाइएको छ । यसपटकको अधिवेशन विगतका अधिवेशनभन्दा अपेक्षितरुपमा एकताको अधिवेशन हुने आशा सबैमा छ ।

प्रतिपक्षमा बसेको भएपनि नेकपा एमाले अहिलेको देशको प्रमुख पार्टी हो । जनतामा अहिले पनि यो देशमा केही गर्न सक्ने पार्टी भनेको नेकपा एमाले हो र केही गर्ने नेता भनेको केपी शर्मा ओली हो भन्ने गहिरो छाप बसेको छ । जनताको यो विश्वासलाई डगमगाउन नदिने खालको नेतृत्व अहिले आउनुपर्दछ ।

माओवादीसँगको एकतापछि मुलुकको सबैभन्दा ठूलो पार्टी मात्रै होइन, दुईतिहाई बहुमत प्राप्त सरकारको नेतृत्वसमेत एमालेले गर्ने अवसर पायो । जनताका अनेकानेक अपेक्षाको चाङमा उभिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनअपेक्षाभन्दा पनि माथि उठेर गरेको काम नेपाली जनताको मन मनमा बसेको छ ।

जनादेशप्राप्त सरकारका कामप्रति केही सीमित नेताहरुको अफबाह फैलाएर पार्टी विभाजन गर्नेसम्मको काम गरे । तर एमालेको सिद्धान्तबाट विचलित नभएर अधिकांश नेता कार्यकर्ताहरु एमालेमै रहे । यसरी कुनै एकको बहुमत छ भनेर भन्दा पनि सबैलाई कसरी व्यवस्थापन गरेर पार्टी एक भएको सन्देश प्रबाह गर्न सकिन्छ भन्नेमा यो अधिवेशन फलदायी सावित हुन सकोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *