जसपा कार्यकारिणी बैठक- सांसद यादवलाई कारबाही, मेयर सराबगी केन्द्रीय सदस्यमा मनोनित – Nepal Press

जसपा कार्यकारिणी बैठक- सांसद यादवलाई कारबाही, मेयर सराबगी केन्द्रीय सदस्यमा मनोनित

जनकपुरधाम । मन्त्री बन्न नपाएको झोँकमा पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध वीरगन्जदेखि काठमाडौंसम्म विरोध प्रदर्शन गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा)को कार्यकारणी समितिको बैठकले संघीय सांसद प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट बर्खास्त गरेको छ ।

अध्यक्ष यादवविरुद्ध लागेपछि पार्टीले स्पष्टीकरण साधेको थियो । यादवले स्पष्टीकरणको जवाफ पेश गरे पनि अनुशासन समितिले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।

तर, कार्यकारिणी समितिको बैठकले केन्द्रीय सदस्यबाट मात्र हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

यसअघि युरोपेली राष्ट्र लात्भियामा भएको स्वतन्त्र तिब्बत पक्षधर कार्यक्रममा सहभागी भएको भन्दै पार्टीले सांसद यादवलाई ६ महिनाका लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको थियो ।

सांसद यादवलाई कारबाही गरेसँगै उनका विरोधी मानिने वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । सरावगी पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका हुन् । उनीसँगै सांसद सूर्यनारायण यादव र चन्देश्वर सदासहित पाँच जनालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको बताइएको छ ।

बैठकमा धेरै कार्यकारिणी सदस्यले मुख्यमन्त्री लालबाबु राउतको राजीनामाको माग गरेको बताइएको छ । तर यस विषयमा कुनै निर्णय नभएको एक नेताले बताए । ती नेताका अनुसार पार्टीको निर्णय बिना प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई बर्खास्त गरेको र भ्रष्टाचारमा मुछिएका भन्दै धेरै कार्यकारिणी सदस्यले मुख्यमन्त्री राउतको राजीनामा गराउन नेतृत्वसँग माग गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर