मधेशमा विद्या भण्डारीलाई भव्य स्वागत, राष्ट्रपति मटिहानी पुग्दा जे देखियो (तस्बिरहरू) – Nepal Press

मधेशमा विद्या भण्डारीलाई भव्य स्वागत, राष्ट्रपति मटिहानी पुग्दा जे देखियो (तस्बिरहरू)

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी बजार आधुनिक जनकपुर भन्दा पुरानो नेपाल-भारत व्यापारिक केन्द्र हो । बीपी कोइरालाको आत्मवृतान्तमा उनका बुबा कृष्णप्रसाद चन्द्र शमसेरकालीन समयमा व्यापार र ठेक्कापट्टा गर्न मटिहानी हुँदै नेपाल-भारत आउजाउ गरिरहने प्रसंग समेटिएका छन् ।
जनकपुरको जानकी मन्दिरसँग मटिहानी सांस्कृतिक र धार्मिक रूपले अभिन्न भएर जोडिएको छ । विवाह पन्चमीको अवसरमा भारतको अयोध्याबाट आउने डोला मटिहानीमा बास बस्छ, जसले नेपाल-भारत सांस्कृतिक सेतुमा अर्को एउटा पहल थपिरहेको हुन्छ, हरेक वर्ष । जनश्रुति अनुसार रामजानकी विवाहमा वेदी बनाउने माटो खनिएको ठाउँ हुनाले मटिहानी नाम रहन गएको हो भनिन्छ ।
त्यसबाहेक मटिहानी ३०३ वर्षअघि स्थापित नेपालकै पहिलो विद्यालय, जसलाई हाल नेपाल संस्कृत राजकीय विद्यालय नाम दिइएको छ, त्यसबाट चिनिन्छ । तस्मैया बाबाद्वारा करिब डेढ सय वर्षअघि स्थापित प्रसिद्ध लक्ष्मीनारायण मठ र नजिकैको पोखरी एवं त्यसै समयतिर पीर बाबाद्वारा स्थापित मुस्लिम पीर सरिफका कारण पनि मटिहानीको ऐतिहासिक परिचय बनेको छ ।
संगैको जनकपुरमा केहि हप्ता अघिमात्र देखिएको धार्मिक तनावकाबीच मटिहानीले सहिष्णुताको अर्थपूर्ण उद्घोष गरिरहेको छ र यसको केन्द्रमा छन्- मटिहानीका जुझारू युवा मेयर हरिप्रसाद मण्डल ।
प्रदेश २ र स्थानीयवासीका मनमा रहेको तर काठमाडौंले लगभग बेवास्ता गरेको ऐतिहासिक मटिहानी नगपालिका क्षेत्रभरि नै आइतबार मंसीर ६ गते विल्कुलै फरक दृश्य देखियो । नगरपालिकाले निर्माण गरेको विशाल स्टेडियम उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानी पुग्दा स्थानीयमा देखिएको उत्साह करिब अप्रत्याशित भन्न सकिने स्तरको थियो ।
त्यसले एकातिर स्थानीय तहको नेतृत्व बलियो हुँदा कसरी विकास निर्माणका काममा जनता जोडिएका हुन्छन् भन्ने देखाइरहेको थियो भने अर्कोतिर प्रदेश २ को उदाउँदो सामाजिक-राजनीतिक तस्वीर पनि बयान गरिरहेको थियो ।
राष्ट्रपति भण्डारी बिहान करिब एघार बजे नेपाली सेनाको हेलिकप्टरमा जलेश्वरस्थित रणभीम गुल्म ओर्लिइन् । उनीसँगै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं मटिहानी क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य महन्थ ठाकुर, राष्ट्रपतिका प्रेस सल्लाहकार टीकाप्रसाद ढकाल र राष्ट्रपति कार्यालयका सचिव तोयानारायण ज्ञवाली पनि सानो भ्रमण दलमा सामेल थिए । राष्ट्रपतिको स्वागतका लागि प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद चन्दा चौधरीलगायत सबै राजनीतिक दलका स्थानीय नेताहरू एवं प्रदेश सांस सहितको विशाल टोली उपस्थित थियो ।
जलेश्वरबाट विद्यापति राजमार्ग हुँदै दस किलोमिटर जति दक्षिण हानिएपछि मटिहानी पुगिन्छ । राजमार्ग छोडेर मटिहानी प्रवेशमार्गमा विशाल स्वागतद्वार निर्माण गरिएको रहेछ २०७७ सालमा । त्यसपछि मटिहानी बजार पुगुन्जेलसम्मै राष्ट्रपति भण्डारीको स्वागतका लागि टोलपिच्छे नागरिकहरू जम्मा भएका देखिन्थे ।
राष्ट्रपतिको तस्वीरअंकित दर्जनौं स्वागतद्वारसहित बाटोको दुबैतिरका बाक्लो वस्तीमा राष्ट्रिय झन्डा र राष्ट्र्पतिको तस्वीर लिएर तथा कतिपय स्थानमा आफ्नो राजनीतिक आस्था अनुसारका झण्डा बोकेर पनि मानिसहरू राष्ट्रपतिलाई ताली बजाएर स्वागत गरिरहेका देखिए । सुरक्षा प्रोटोकलका वाबजूद राष्ट्रपतिले पनि उनीहरूको हौसला बढाउन कुनै कन्जुस्याईं गरिनन् । हजारौंको संख्यामा आमजनताको सहभागिता कार्यक्रममा देखियो ।
राष्ट्रप्रमुखको भ्रमणमा यस्तो उत्साह देखिनु अस्वाभाविक होइन । यद्यपि संविधान निर्माणताका देखिएको परिदृश्य नजिकबाट देख्नेहरूकालागि यसपटक मधेसको राजनीतिले कोल्टे फेरिरहेको प्रस्ट सन्देश यस कार्यक्रमले दिइरहेको देखियो । यसको अर्थ त्यसबेलाका राजनीतिक मुद्दाहरू सकिए भन्ने लगाइयो भने गलत हुन्छ ।
राष्ट्रपतिलाई स्वागत गर्ने क्रममा हिन्दीमा भाषण गरेका महन्थ ठाकुरले त्यसै आन्दोलका दौरान जेलमा परेका आफ्ना नेता र कार्यकर्ताको प्रसंग जोडदार रूपले उठाए । प्रदेशका बलिया नेता एवं मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यन्वयन गर्न संघीय सरकार उदासीन रहेको उल्लेख गरे । दुवै नेताको अभिव्यक्तिमा राजनीतिक मुद्दा जीवित रहेको स्पष्टै सन्देश थियो । तर, यसपटक विकासको मुद्दालाई पनि दुवै नेताले उत्तिकै बलियो गरी उठाए ।
नयाँ रंगशाला र  अतिथि सदन निर्माण, बाटोघाटो निर्माण र विस्तार एवं स्थानीय धार्मिक सद्भाव कायम राख्दै विकासमा सक्रिय मटिहानीका मेयरको प्रशंशा गर्न दुबैले छुटाएनन् । कोरा राजनीतिक नाराले मात्र जनतालाई सधैं आफूवरिपरी गोलबन्द गर्न सकिन्न भन्ने बोध दुवै नेतामा देख्न र सुन्न सकिन्थ्यो ।
कार्यक्रमममा विशाल जनसहभागितालाई सम्बोधन गर्दा राष्ट्रपतिले प्रदेश २ सरकारले अघि सारेको छोरी पढाउ, छोरी बचाउ (बेटी पढ़ाओ, बेटी बचाओ) कार्यक्रमको मुक्त कण्ठले प्रंशशा गरिन, सीताको जन्मभूमिमा महिलामाथि भेदभाव हुँदा हाम्रो सभ्यतालाई न्याय नभएको उल्लेख गरिन् । चुरे संरक्षण गर्न र जलवायु परिवर्तनले ल्याउने संकटको सामना गर्न स्थानीय तहहरू जुट्नुपर्ने बताइन् ।
अर्कोतर्फ महन्थ ठाकुर, लालबाबु राउत र मेयर हरिप्रसाद मण्डलले स्पष्टै भने- राष्ट्रपति भण्डारीलाई हेरेर प्रदेश २ का महिलाले आफूपनि देशको प्रमुखका रूपमा निर्वाचित हुने सपना देखिरहेका छन् ।
नेतृ चन्दा चौधरीकी वृद्ध आमाले राष्ट्रपति भण्डारीलाई आशिर्वाद दिएको दृश्य भावुक थियो । समग्रमा मधेसले राष्ट्रपतिलाई खुला मनले अंगाल्यो, मायाको न्यानो स्वागत दिएर पठायो । यसको अन्तरमा भएको सन्देश अझ गहिरो छ- मधेसको राजनीतिले साँच्चै कोल्टे फेरेको छ ।
केन्द्रमा जनता समाजवादी पार्टी बिभाजन भएपनि मुख्यमन्त्री लालबाबु राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरबीचको हार्दिकता टुटेको छैन भन्ने अर्को झलक पनि कार्यक्रमा देख्न पाइन्थ्यो । मन्चमा दुई नेता बस्दा तल फ्लोरबाट समर्थनको ताली बजिरह्यो ।
मुख्यमन्त्री राउत, प्रदेश सांसद रानी शर्मा लगायतका नेताहरूको भनाई मान्ने हो भने प्रदेश २ का असाध्यै सक्रिय औंलामा गन्न सकिने स्थानीय जनप्रतिनिधिमध्ये हरिप्रसाद मण्डल एकजना हुन् । पार्टी बिभाजनमा महोत्तरीका बहुसंख्यक निर्वाचित प्रतिनिधि जस्तै  उनी  ठाकुरको पक्षमा उभिएका छ्न् ।
तीन कार्यकाल पत्रकार महासंघ महोत्तरीको अध्यक्ष बनेर राजनीतिमा होमिएका उनी जनपरिचालन गर्न खप्पिस छन्, कुशल वक्ता छन् । ऐतिहासिक मटिहानी नगरपालिका उनको नेतृत्वमा विकासमा होमिएको छ । राष्ट्रपतिलाई आफ्नो नगरमा स्वागत गरेर आफूले विगत करिब चार वर्षमा गरेका काम उनले सम्पूर्ण नेपाल सामु देखाएका छन् । सधैं जलमा नै बास गर्ने साक्षात भगवान शिवको मन्दिर रहेको जलेश्वर धाम सहित मटिहानी क्षेत्र एक एक पटक पुग्नै पर्ने पर्यटकीय स्थलका रूपमा मेयर मण्डलले भव्य कार्यक्रममार्फत सबैको ध्यानाकर्षण गराएका छन् ।

जलेश्वरबाट मटिहानी बजारसम्म राष्ट्रपति भण्डारीको स्वागतमा टोलपिच्छे नागरिक जम्मा भएका देखिन्थे । राष्ट्रपतिको तस्वीरअंकित दर्जनौं स्वागतद्वारसहित बाटोको दुवैतिरका बाक्लो बस्तीमा राष्ट्रिय झन्डा र राष्ट्र्पतिको तस्वीर लिएर तथा कतिपय स्थानमा आफ्नो राजनीतिक आस्था अनुसारका झण्डा बोकेर राष्ट्रपतिलाई ताली बजाएर स्वागत गरिरहेका थिए ।


प्रतिक्रिया

One thought on “मधेशमा विद्या भण्डारीलाई भव्य स्वागत, राष्ट्रपति मटिहानी पुग्दा जे देखियो (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर