ओलीपछि प्रचण्डको निशानामा महन्थ र राजेन्द्र, यसरी बढ्याे दूरी – Nepal Press

ओलीपछि प्रचण्डको निशानामा महन्थ र राजेन्द्र, यसरी बढ्याे दूरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जहाँ पुग्छन्, त्यहाँ आलोचनाका लागि उनको पहिलो निशाना हुन्छन्- एमाले अध्यक्ष केपी शर्मा ओली । चुनावलक्षित जस्ता देखिने आमसभामा सम्बोधन गरिरहेका प्रचण्डले ओलीलाई विभिन्न तर्क दिएर जनविरोधी र परिवर्तनविरोधी करार गर्न कोसिस गरिरहेका हुन्छन् ।

तर, पछिल्लो समय प्रचण्डले ओलीसँगै मधेशी नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोमाथि पनि प्रहार गर्न थालेका छन् । खासगरी मधेशका जिल्लाहरूमा पुगेर गरेका भाषणमा उनले महन्त र राजेन्द्रको आलोचना गर्न छुटाउँदैनन् । पछिल्ला तीन दृष्टान्त यस्ता छन्ः

मंसिर ६

पूर्वीचितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले महन्थ ठाकुर र राजेन्द्र महतोमाथि मधेसमा विश्वास नरहेको जिकिर गरे। ‘मधेसीको हक अधिकारको रक्षा मधेसी दलले गर्छन् कि भन्ने लागेको थियो तर त्यो होइन रहेछ,’ उनको भनाइ छ, ‘महन्थ ठाकुर र राजेन्द्र महतोमाथि विश्वास रहेनछ । माओवादीमै आश रहेछ । अहिले देशैभरि त्यही परिस्थितिका रिपोर्टहरू छन् ।’

मंसिर ४

रौतहटको कटहरियामा आयोजित आमसभामा पनि प्रचण्डले ठाकुर र महतोमाथि टिप्पणी गरे । ‘तपाईंहरूलाई लाग्थ्यो होला मधेशवादी नै मधेशको पहिचान र अधिकारका असली मसिहा हुन,’ प्रचण्डको भनाइ थियो, ‘उनीहरूले नै मधेशीलाई अधिकार दिने हुन् कि भन्या जस्तो थियो पहिले-पहिले । तर, अहिले जब महन्थ ठाकुर र राजेन्द्र महत्तो केपी ओलीको टाङमुनी छिरे, केपीको सरकारमा गएर आत्मसर्मपण गरे । को रहेछ मधेशी जनताको विरोधी र मित्र भन्ने अब छ्याङ्ग भयो ।’

मंसिर १

महोत्तरीमा आयोजित आमसभामा प्रचण्डले केपी ओलीको सरकारमा गएर महन्थ र राजेन्द्रले घुँडा टेकेको आलोचना गरे । ‘आज तपाईंहरूलाई क्लियर भएको हुनुपर्छ, त्यही केपी ओलीजस्तो मधेश, संविधानविरोधी, समावेशी, समानुपातिक मान्यताविरोधी तत्वसँग मधेशी जनताको हामी मसिया हौं भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो घुँडा टेकेर त्यसको सरकारमा सामेल भए,’ उनको भनाइ थियो, ‘अब पनि केही भ्रम बाँकी छ ? को मधेशी जनताको मित्र हो, को मधेशी जनताको दुश्मन हो ?’

उनले ठाकुर र महतो दुवैजनालाई ‘विदेशीले सिंगारपटार गरेर पठाएका मान्छे’ भनेका थिए ।

आक्रोशको राजनीतिक कारण

एजेन्डाका हिसाबले प्रचण्ड मधेसी नेताहरुसँग नजिक छन् । तर, पछिल्लो समयको राजनीतिक ध्रुविकरणमा महन्त–राजेन्द्रसँग उनको दुरी बढेको छ ।

पहिलो संसद विघटनपछि ओलीले विश्वासको मत लिँदा तटस्थ रहेका ठाकुर र महतो संविधानको अर्को धाराअन्तर्गत प्रधानमन्त्री बन्ने बेला भने पक्षमा उभिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षीले प्रधानमन्त्री प्रस्ताव गरेकोमा ठाकुर र महतोले साथ नदिएकाले जसपाको मत विवादित भयो । जसपाको उपेन्द्र यादव-बाबुराम पक्षले त्यसमा साथ दिएका थिए ।

दलीय विवादका कारण राष्ट्रपतिले देउवा र ओली दुवैको पक्षमा बहुमत नपुगेको बताइन् । त्यही कारण देखाउँदै ओलीले दोस्रोपटक संसद विघटन गरे । ठाकुर र महतोले ओलीलाई त्यसमा साथ दिएका थिए । ओलीलाई त्यसलाई समर्थन गरेको प्रचण्डलाई मन परेको थिएन । प्रचण्ड र माधव नेपालले ओलीलाई विस्थापन गर्न ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा पनि उनले स्वीकार गरेनन् । पछि ओली सरकारमा जसपाको ठाकुर- महत पक्ष सहभागी भयो । यसले जसपालाई नै विभाजनमा लग्यो ।

हाल ठाकुर र महन्थले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नामक छुट्टै पार्टी छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको सत्तारुढ गठबन्धन बन्दा ठाकुर-महतोको पार्टी त्यसमा छैन । सत्तारुढ गठबन्धन चुनावसम्मै जाने दाबी नेताहरुले गरेका छन् ।

मधेशमा आधार भएको जसपासँग आफ्नो गठबन्धन रहेको र ठाकुर त्यसमा सामेल नभएकाले मधेश पुगेका बेला प्रचण्ड उनीहरूको आलोचना गर्न छुटाउँदैनन् । केही मत भएको ठाकुरको पार्टी जसपा लोकतान्त्रिकमाथि प्रहार गरेर त्यो मत आफूतिर तान्ने रणनीति प्रचण्डको रहेको देखिन्छ ।

मधेशको असली साथी माओवादी रहेको विश्वास मधेशबासीलाई दिलाएर ठाकुर-महतो पक्षको मत आफूतिरै तान्ने र मधेशमा माओवादीको शक्ति बढाउने रणनीति प्रचण्डको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर