चितवनमा प्रचण्डको ‘राज्यशक्ति प्रदर्शन’, ७ मन्त्री र उच्च सरकारी अधिकारीसहित विकास बहस – Nepal Press

चितवनमा प्रचण्डको ‘राज्यशक्ति प्रदर्शन’, ७ मन्त्री र उच्च सरकारी अधिकारीसहित विकास बहस

भरतपुर । आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको टिप्पणी गरिरहेका माओवादी अध्यक्ष प्रचण्डले एमाले महाधिवेशनका पूर्व सन्ध्यामामा आफ्नो शक्ति प्रदर्शन गर्दैछन् ।

पछिल्लो समय निर्वाचन क्षेत्रमै केन्द्रित रहेका प्रचण्डले छोरी रेणु मेयर रहेको भरतपुर महानगरपालिकाको आयोजनामा आज ‘समृद्ध भरतपुरको लागि विकास बहस’मार्फत ‘राज्यशक्ति’को प्रदर्शन गर्न लागेका हुन् ।

प्रचण्डको निर्वाचन क्षेत्रमा संघीय सरकार र वागमती प्रदेशका समेत गरी आधादर्जनभन्दा बढी मन्त्री उपस्थित भएर विकास बहसमा भाग लिँदैछन् भने दुईवटा प्रदेशका प्रमुखसमेत अहिले चितवनमै छन् ।

अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, महिला वालवालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मी, विना विभागीयमन्त्री उमेश श्रेष्ठ र वागमती प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्ण खनाल प्रचण्डको निर्वाचन क्षेत्रमा पुगेका छन् ।

त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनसमेत चितवनमै छन् । उनीहरु दुवैजना चितवनका बासिन्दा हुन् ।

विकास बहसमा मन्त्रीहरुका साथै सरोकारवाला मन्त्रालयका सचिव, विभागीय महानिर्देशकसहित उच्च पदस्थ सरकारी अधिकारीहरु समेत सहभागी हुँदैछन् ।

भरतपुरको विकासका लागि विभिन्न योजनाहरुको कार्यान्वयन, वजेट व्यवस्थापन लगायतका विषयमा बहस हुने सो कार्यक्रमलाई प्रचण्डको निर्वाचन केन्द्रित शक्ति प्रदर्शनका रुपमा लिइएको छ ।

भरतपुरकी मेयर रेणु दाहालले विस्तारको प्रक्रियामा रहेको भरतपुर विमानस्थल, नारायणी तटबन्धन, क्रिकेट रङ्गशाला, महानगरको प्रशासनिक भवन, शक्तिखोर औद्योगिक क्षेत्रलगायत महत्वपूर्ण पूर्वाधारका विषयमा छलफल गर्न लागिएको बताएकी छन् ।


प्रतिक्रिया

One thought on “चितवनमा प्रचण्डको ‘राज्यशक्ति प्रदर्शन’, ७ मन्त्री र उच्च सरकारी अधिकारीसहित विकास बहस

  1. नेपालको धार्मिक गुरु लाइ गोली ठोकेर मार्ने मन्दिर तोडफोड गर्ने अनि भारतिय गुरु को गुलामी गरेर आची चाट्ने यो नौटंकी को केहि अर्थ छैन ।। जे गर्छ अब एमाले ले गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर