माओवादी युद्ध र शान्ति प्रक्रियापछिका १६ तथ्य – Nepal Press
विस्तृत शान्ति सम्झौताको १५ वर्ष

माओवादी युद्ध र शान्ति प्रक्रियापछिका १६ तथ्य

आज भन्दा ठीक १५ वर्षअगाडि जनआन्दोलनको रापतापमा बनेको तत्कालीन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र हिंसात्मक माओवादी आन्दोलनका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौताले माओवादीको हिंसात्मक भूमिगत आन्दोलनलाई शान्ति प्रक्रियातर्फ मोडेको थियो । २०६३ मंसिर ५ गतेको सम्झौतासँगै माओवादी शान्ति प्रक्रियामा आयो । सम्झौताको मूल मर्म नै १७ हजार बढीको ज्यान लिएको हिंसात्मक आन्दोलनमा दशकसम्म सक्रिय माओवादीलाई शान्ति प्रकृयामा ल्याएर मूलधारको राजनीतिमा प्रवेश गराउनु थियो ।

शान्ति सम्झौताको १५ वर्षसँगै माओवादीको हिंसात्मक आन्दोलन र त्यसको शान्तिपूर्ण रुपान्तरणसँग जोडिएका महत्वपूर्ण १६ तथ्य यस्तो छ–

१. तत्कालीन देउवा सरकारलाई ४० बुँदे माग

प्रधानमन्त्री थिए शेरबहादुर देउवा । त्यहीं समयमा २०५२ माघ २१ गते डाक्टर बाबुराम भट्टराईले ४० बुँदे माग प्रस्तुत गरे । भारतसँगका असमान सन्धि–सम्झौता खारेज गर्नुपर्ने, भारतीय नम्बर प्लेटका गाडि चल्न बन्द गर्नुपर्ने, एनजिओ आइएनजिओका गतिविधि बन्द हुनुपर्नेदेखि गोरखा भर्ती बन्द जस्ता चालिस बुँदामा माग प्रस्तुत गरिएको थियो ।

यस्ता गम्भीर माग पूरा गर्न १५ दिनको समय दिइएको थियो । २०५२ फागुन ५ गतेभित्र माग पूरा नभए आन्दोलनमा जाने भनिएको थियो । मागेको समयसीमा सकिनु चार दिनअगावै डाक्टर भट्टराई भूमिगत भए । अर्थात् २०५२ फागुन १ गतेबाट माओवादी भूमिगत भयो ।

२. पहिलो पर्चा

माओवादीको पहिलो पर्चा २०५२ फागुन १ नै आएको थियो । जसको सुरुवातमै लेखिएको थियो, ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै, नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ ।’ पर्चा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिको नाममा छापिएको थियो ।

३. पेप्सी उद्योगबाट भौतिक हमला सुरु

माओवादीको भौतिक हमलाको पहिलो निसाना पेप्सी उद्योग भएको हिसिला यमिले आत्मकथामा लेखेकी छिन् । काठमाडौंमा रहेको बहुराष्ट्रिय कम्पनी पेप्सीमा आक्रमण गरेर सम्राज्यवादको विरोध सुरु गरेको उनको पुस्तकमा उल्लेख छ ।

४. पहिलो जिल्ला सदरमुकाम आक्रमण र सशस्त्र प्रहरीको जन्म

माओवादी छापामारले विभिन्न प्रहरीचौकीहरुमा आक्रमण गरेर आफ्नो हिंसात्मक आन्दोलन जारी राखेका थिए । माओवादीले डोल्पा सदरमुकाम दुनै आक्रमण गरेर पहिलोपटक जिल्ला सदरमुकाममाथि धावा बोलेको थियो ।

२०५७ असोज ९ गते दृुनैमा भएको माओवादी हमलामा १७ प्रहरीको ज्यान गयो । आक्रमण भएको ठाउँभन्दा दुई किलोमिटर पर रहेको नेपाली सेनाको से फोक्सुन्डो राष्ट्रिय निकुञ्जको सैनिक टोलीले प्रहरीलाई सघाएन । सेना परिचालन हुने आदेश नभएको भन्दै सेनाले सहयोग गरेन ।

तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीले सेनाको असहयोग भएको भन्दै आलोचना गरेका थिए । त्यसपछि २०५८ कात्तिक ७ गते औपचारिक रुपमा सशस्त्र प्रहरी गठन भयो ।

गठनताका सशस्त्र प्रहरीमा ११ हजारको स्वीकृत दरबन्दी भएको, जसमा १२० नेपाली सेनाबाट एक पद बढुवा भएर गएका र बाँकी नेपाल प्रहरीबाट गएर सशस्त्र प्रहरी बल तयार भएको कुरा अवकाशप्राप्त मेजर जनरल पूर्णबहादुर सिल्वालले आफ्नो ताजा पुस्तक ‘नेपाल्ट इन्स्याबिलिटिब कननड्रम’मा उल्लेख गरेका छन् ।

५. फौजी संगठन निर्माण र नेपाली सेनामाथिको पहिलो आक्रमण

माओवादी भूमिगत हुनासाथ सैन्यफौज तयार भएको थिएन । भूमिगत भएको पाँच वर्षपछि मात्रै माओवादीले फौज तयार गरेको थियो ।

‘जनमुक्ति सेना नेपाल’ र ‘जनमिलिसिया’ नामक पूर्ण फौजी र अर्धफौजी संगठन एकैदिन अर्थात् २०५८ असोज ६ गते गठन भएका थिए ।

माओवादीले आफ्नै सेना र जनमिलिसिया बनाएको दुई महिनामै नेपाली सेनाको ब्यारेकमा हमला गरेको थियो । २०५८ मंसिर ८ गते दाङको घोराही ब्यारेकमा हमला भएको थियो ।

त्यसअघि माओवादीले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निसाना बनाउँदै आएको थियो । त्यतिबेला सेना र माओवादीको साँठगाँठ भएको आरोपसमेत लागेको थियो ।

माओवादीले ‘पुलिसलाई नछोड, सेनालाई नछो’ भन्ने नारा बनाएको कथन त्यतिबेला व्यापक चर्चामा थियो । उक्त आक्रमणमा परेर १४ नेपाली सेनाका जवानको मृत्यु भएको थियो ।

६. संकटकाल घोषणा र सेना परिचालन

दाङ आक्रमण भएको तीन दिनपछि २०५८ मंसिर ११ गते पहिलोपटक नेपाली सेना परिचालन गरिएको थियो । सोही दिन संकटकाल घोषणा भएको थियो । संकटकाल घोषणा गर्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै थिए ।

७. माओवादी तह लाउन बुसदेखि ब्लेयरसम्मको समर्थन

नेपालमा माओवादीको आक्रमण बढेपछि नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका र बेलायत भ्रमणमा गए । उनी २०५९ वैशाख २३ देखि २५ गतेसम्म अमेरिकाको भ्रमणामा गएका थिए ।

२०५९ वैशाख २४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँग भेटेर सहयोग मागे । बुसले नेपालमा भएको रक्तपात रोक्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बुससँग भेटेका देउवाले तत्कालीन बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसँग पनि भेट गरे । ब्लेयरसँग उनले २०५९ वैशाख ३० गते भेटे । ब्लेयरले समेत सहयोग गर्ने वचन दिए ।

देउवाले अमेरिका र बेलायत भ्रमण गरेर माओवादीविरुद्ध कूटनीतिक सहयोग बटुल्नुअगाडि नै अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल आएका थिए ।

उनी २०५८ माघ ५ गते नेपाल आएका थिए । अमेरिकी र बेलायती मात्रै होइन, बेल्जियमले समेत माओवादी युद्धलाई चेक गर्न अत्याधुनिक हतियार सहयोग गरेको थियो । २०५९ मा बेल्जियमले ५ हजार ५ सय अत्याधुनिक हतियार नेपाललाई प्रदान गरेको थियो ।

८. सशस्त्र प्रहरी प्रमुख श्रेष्ठको हत्या

माओवादीले हत्या गरेका सुरक्षा निकायका सबैभन्दा उच्च ओहोदाका व्याक्ति हुन्, कृष्ण मोहन श्रेष्ठ । २०५९ माघ २ गते श्रीमती र सुरक्षागार्डसँगै उनको हत्या भएको थियो ।

संखुवासभाको ऐतिहासिक बजार चैनपुरको मध्यबजारमा रहेको श्रेष्ठको पुख्र्यौली घरसमेत माओवादीले भत्काए । चैनपुरकै उत्तम भट्टराईले लेखेको नियात्रा ‘आहा हिमाल’ मा उक्त कुरा उल्लेख छ ।

९. राजाको प्रत्यक्ष शासनपछि खस्कियो अन्तर्राष्ट्रिय समर्थन

माओवादीको हिंसात्मक आन्दोलन चरम भएकै बेला २०४७ को संविधानले दिएको अधिकार लत्याउँदै राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट देउवालाई हटाएर प्रत्यक्ष शासन सुरु गरे ।

राजाले शासन लिएपछि भने विश्व समुदायले माओवादीविरुद्धको लडाइँमा सहयोग गर्न छोडे । २०६१ माघ १९ को ज्ञानेन्द्रको कदमपछि उनी एक्लिए । न कांग्रेस, न एमाले न त बलियो अन्तर्राष्ट्रिय समुदाय, कसैको बलियो समर्थन भएन उनलाई ।

भारतले सैन्य नाकाबन्दी गर्यो । सन् १९५० को सन्धिअनुसार नेपालले भारतबाट पाउनुपर्ने हतियार पाउन छाड्यो । चीनले भने सहयोग गरेको थियो । सन् २००५ मा चीनबाट १८ ट्रक हातहतियार नेपाल आएको विकिलिक्सले खुलासा गरेको थियो भने अवकास प्राप्त मेजर जनरल पूर्णबहादुर सिलवालले चीनले राजाको प्रत्यक्ष शासन कालमा ९ लाख ८९ हजार डलर बराबरको सैन्य सहयोग गरेको थियो ।

१०. दाङ ब्यारेक हमलापछि भारतको स्वार्थमा खलल नपुर्याउने लिखित प्रतिबद्धता

कुनैबेला भारतबिरुद्ध सुरुङ युद्ध गर्ने भनेर व्यापक प्रचार गरेको माओवादीले दाङमा नेपाली सेनालाई गरेको हमलापछि भने भारत सरकारलाई पत्रै लेखेर मित्रता सुरु गरेको थियो । बाबुराम भट्टराईले सार्वजनिकरुपमै गुरु भनेका प्राध्यापक एसडी मुनिको क्याब्रिज विश्वविद्यालयबाट प्रकाशन भएको पुस्तक ‘नेपाल इल ट्रान्जिसन’मा यस्तो उल्लेख छ । मुनिका अनुसार माओवादीले पत्र लेखेरै ‘भारतको स्वार्थमा कुनै घात नगर्ने’ प्रतिबद्धता जनाएको थियो ।

११. गैरन्यायिक हत्याको पराकाष्ठा अर्थात् बाँदरमुढे घटना

माओवादी हिंसात्मक आन्दोलनमा धेरै गैरन्यायिक हत्या भए । सामान्यतया गैरन्यायिक हत्या भनेको दोहोरो भिडन्तबाहेक हत्या भएका हतियारविहिन नागरिकहरु हुन् । यसमा माओवादी र राज्य पक्ष दुवै सक्रिय थिए ।

माओवादीले गरेका कयौं गैरन्यायिक हत्यामध्ये सबैभन्दा धेरै आलोचित चितवनको बाँदरमुढे हत्याकाण्ड हो । २०६२ जेठ २३ गते माओवादीले एम्बुस थापेर यात्रु बस ध्वस्त बनाए । बसमा सवार ३८ नागरिक मारिए । ७२ घाइते भए ।

यो घटनाको संयुक्त राष्ट्रसंघले समेत विज्ञप्ति जारी गरेर निन्दा गरेको थियो । पुस्तक ‘लस्ट इन ट्रान्जिसन’मा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव कुलचन्द्र गौतमले बाँदरमुढे बारेमा तत्कालीन संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानले समेत दुःख व्यक्त गर्दै माओवादीको हिंसात्मक आन्दोलन बारेमा चासो राखेको उल्लेख गरेका छन् ।

१२. भारतमा तत्कालीन सात दल र माओवादीको बाह्र बुँदे सम्झौता

नेपालमा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सुरु गरेपछि नेपाली कांग्रेस, एमालेलगायतका आन्दोलनरत सात दल र माओवादी नजिकिए । उनीहरुले भारतको राजधानी दिल्लीमा २०६२ मंसिर ७ गतेको बाह्र बुँदे सम्झौता गर्दै सम्बन्ध सुधारदेखि जनआन्दोलन गर्नेसम्मका कार्यक्रम तय गरे ।

१३. हतियार विसर्जनदेखि सेना समायोजनसम्म

२०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ९ को कार्यान्वयन तथा अनुगमनमा राज्यसँगै व्रिदोहीले हतियार बिसाउने र युद्ध अन्त्यको घोषणा गरेर अनुगमनका लागि संयुक्त राष्ट्रसंघ गुहारे ।

फलस्वरुप २०६३ माघ ९ गते सुरक्षा परिषद्को ‘संकल्प १७४०’ले नेपालमा अनमिन पठायो । अनमिनकै अनुगमन र समन्वयमा माओवादी लडाकु राख्न देशभर सिविर बनाइए ।

माओवादीका हतियारमा चाबी लगाएर राखियो । हिसिया यमीले भने गिरिजाप्रसाद कोइराला र प्रचन्डको सहमतिमा ४ सय अत्याधुनिक हतियार सिविर बाहिरै राखिएको आत्मकथामा उल्लेख गरेकी छिन् ।

२०६८ चैत २८ मा माओवादी लडाकुको सेनामा समायोजन प्रक्रिया सकिएको थियो । शिविरमा बस्दा सुरुमा ३२ हजार २ सय ५० संख्या देखाइएका माओवादी लडाकु सेनामा समायोजन हुँदा भने १ हजार ४ सय २२ मात्रै थिए । जसमा महिलाको संख्या १०४ थियो । ४ हजार ९ लडाकु भने बालसैनिक भएको आधारमा अनमिनबाट अयोग्य ठहर भएका थिए ।

१४. नौ वर्षपछि अमेरिकाको आतंककारी सूचीबाट हट्यो माओवादी

माओवादी शान्ति प्रकृयामा आएर हतियार बिसाएको चार महिनापछि मात्रै अमेरिकाले आतंककारी सूचीबाट हटाएको थियो । २०६९ भदौ २१ गते अमेरिकी विदेश मन्त्रालयले नेपालका माओवादी शान्तिपूर्ण राजनीतिमा आएको भन्दै नौ वर्ष लामो आतंककारी सूचीबाट हटाएको थियो ।

सूचीबाट हटाएपछि माओवादीको ‘हिंसात्मक विगत नभुल्ने’ भन्दै अमेरिकाको स्टेट डिपार्टमेन्टको मिडिया नोटमा उल्लेख गरिएको थियो ।

१५. प्रचण्ड बाबुरामसँग मोहन वैद्यको सम्बन्धविच्छेद्

माओवादी शान्ति प्रकृयामा आउँदा मोहन वैद्य भारतीय जेलमा थिए । जसकारण उनको विचार समूह तितरवितर भएको थियो । बहुसंख्यक प्रचण्ड क्याम्पमा लागेको हिसिला यमिले लेखेकी छिन् ।

माओवादीलाई संसदीय फाँटमा ल्याउन आफूलाई नियोजित रुपमा भारतमा थुनेर शान्ति सम्झौता गरिएको वैद्यको शंका छ । योहो टेलिभिजनको सत्य संवादमा जीवराम भण्डारीसँगको अन्तरवार्तामा उनले उक्त शंका व्यक्त गरेको छन् ।

प्रचण्ड र बाबुरामसँग विद्रोह गरेर वैद्यले २०६९ असार ४ गते औपचारिकरुपमै सम्बन्धविच्छेद् गरे । तत्कालिन एनेकपा (माओवादी)बाट अलग भएर उनले नेकपा (माओवादी) नै गठन गरे ।

१६. प्रचन्डसँग बाबुरामको सम्बन्धविच्छेद्

माओवादी आन्दोलनका प्रमुख तीन मुहार प्रचण्ड, वैध्य र बाबुराम हुन् । वैद्यपछि बाबुरामले प्रचण्डसँग ‘राजनीतिक डिभोर्स’ गरे । २०७३ जेठ ३० गते बाबुराम प्रचण्ड नेतृत्वबाट औपचारिक रुपमा अलग भएर नयाँ पार्टी बनाए ।

२०७२ असोज ८ गते प्रचण्डलाई उनको तत्कालीन लाजिम्पाट निवासमा भेटेर बाबुरामले माओवादी विघटनको प्रस्तावसमेत राखेको हिसिला यामीले आत्मकथामा लेखेकी छिन् ।

वैद्यले प्रचण्डसँग डिभोर्स गरे पनि माओवादी ब्राण्डकै पार्टी गठन गरे । बाबुरामले भने माओवादी मात्रै होइन, कम्युनिस्ट ब्राण्ड समेत छोडेर अलग पार्टी खोले, नयाँ शक्ति । अहिले बाबुराम जसपाका नेता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर