एमालेमा सात सचिवका लागि दुई दर्जनभन्दा बढी आकांक्षी, चुनाव हुने सम्भावना प्रबल – Nepal Press

एमालेमा सात सचिवका लागि दुई दर्जनभन्दा बढी आकांक्षी, चुनाव हुने सम्भावना प्रबल

काठमाडौं । यहीं १० गतेदेखि हुने एमालेको १० औं महाधिवेशनका लागि नेकपा एमालेका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् । औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्दा ‘ब्याक फायर’ हुने खतरा देखेपछि नेताहरुले आफूनिकट सञ्चारकर्मीलाई बोलाएर अघोषित रुपमा ‘उम्मेदवारी घोषणा’ गरिरहेका छन् ।

अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विकल्प जस्तै भएका बेला महासचिव, उपमहासचिव र सचिवमा आकांक्षा राख्नेहरुले नेतासँग लबिङसँगै ‘उम्मेदवारी घोषणा’ गरिरहेका छन् ।

उपाध्यक्ष र महासचिवका आकांक्षीले मुख नखोले पनि आफूनिकटका कार्यकर्तालाई प्रचार गर्न भनेका छन् र आन्तरिकरुपमा लबिङ तीव्र पारेका छन् ।

चार उपाध्यक्षका लागि सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, भीम रावल, युवराज ज्ञवाली, पृथ्वीसुब्बा गुरुङल, युवराज ज्ञवालीलगायतको नाम चर्चामा छ ।

त्यस्तै, महासचिवका लागि विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले आफ्ना कार्यकर्तालाई प्रचार गर्न भनेका छन् । र, लबिङ पनि बढाएका छन् । त्यस्तै, एक उपमहासचिवमा अहिलेकै उपमहासचिव घनश्याम भुसाल सचिव प्रदीप ज्ञवालीको नाम चर्चामा छ ।

उपाध्यक्ष, महासचिव र उपहासचिवमा भागबण्डा मिलाउँदा यताउता हुनसक्ने सम्भावना छ । माओवादीबाट आएका र १० बुँदे सम्झौता गरेर एमालेमै फर्किएकालाई उचित व्यवस्थापन गर्नैपर्ने दबाबबीच नेतृत्वले सकेसम्म सर्वसम्मत बनाउने प्रयास गरिरहेको छ ।

पदाधिकारीमध्ये सचिवमा ज्यादा आकांक्षी देखिएका छन् । सात सचिवका लागि २५ जनाभन्दा बढीले आकांक्षा व्यक्त गरेका छन् । सचिवका अकांक्षीहरुले आफूनिकट सञ्चारकर्मी र कार्यकर्तालाई बोलाएर उम्मेदवारी घोषणा गरिरहेका छन् । यस्तै स्थिति भए उपमहासचिवसम्ममा सहमति भए पनि सचिवका लागि चुनाव नै हुने सम्भावना बढेको छ ।

को-को हुन् सचिवका आकांक्षी ?

एमालेमा नवौं महाधिवेशनबाट सचिव भएका योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य अहिले पनि सचिवका शक्तिशाली दाबेदार हुन् ।

त्यस्तै उपमहासचिव नभए प्रदीप ज्ञवालीले पनि सचिवमै चित्त बुझाउनुपर्ने छ । माओवादीबाट आएका टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि सचिवका दाबेदार हुन् । उनीहरुले समेट्नैपर्ने दबाबमा छन्, ओली ।

अहिलेका एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य हिक्मत कार्कीले पनि सचिव हुने आकांक्षा व्यक्त गरेका छन् ।

त्यस्तै गण्डकीका नेताद्वय किरण गुरुङ र खगराज अधिकारी पनि सचिवका आकांक्षी हुन् । कर्णालीका यामलाल कँडेल  र सुदूरपश्चिमका  कर्ण थापाले पनि सचिवका लागि लबिङ गरिरहेका छन् ।

प्रदेश २ का एमाले नेताद्वय प्रभु साह र रघुवीर महासेठ पनि सचिवका दाबेदार हुन् ।

त्यस्तै नेताहरु भानुभक्त ढकाल, अरुण नेपाल, आनन्द पोखरेल, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठले सचिवमा आकांक्षा राखेको बुझिएको छ ।

लालबाबु पण्डित, शेरधन राई र गुरु बराल पनि सचिव हुन चाहन्छन् ।

खिमलाल भट्टराई, राधा ज्ञवाली, पद्मा अर्याल, गोकुल बास्कोटा, विष्णु रिमाल, विन्दा पाण्डे, राजेन्द्र गौतमलगायतले सचिव हुनका लागि आ–आफ्नो ठाउँबाट पहल गरिरहेका छन् ।

यसबाहेक पनि सचिवमा अकांक्षा राख्नेहरु छन् । महाधिवेशन नजिकिएसँगै सचिवमा उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् ।

सचिवमा नअटेका कतिपयलाई स्थायी कमिटीमा व्यवस्थापन गर्ने नेतृत्वको योजना गरेको पाइएको छ । पोलिट्ब्युरो खारेज भएसँगै नेता व्यवस्थापन कठिनाइ भएको एकाथरीको बुझाइ छ ।

कतिपयले महाधिवेशनबाट पद संख्या बढाएर भए पनि नेता व्यवस्थापन गर्न पर्नसक्ने संकेत गरेका छन् । यदि यस्तै स्थिति रहे वा आकांक्षी अझै बढ्दै गए सचिव र केन्द्रीय सदस्यहरुमा चुनाव हुने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर