महासचिवमा लुम्बिनीबाटै दुई नेताको चर्चा, पौडेल र पोखरेलमा कसले मार्लान् बाजी ? – Nepal Press
एमाले महाधिवेशन

महासचिवमा लुम्बिनीबाटै दुई नेताको चर्चा, पौडेल र पोखरेलमा कसले मार्लान् बाजी ?

सुरेन्द्र पाण्डेको दाबी पनि स्वभाविक

रुपन्देही । नेकपा एमालेको दशौं महाधिवेशनबाट चुनिने नेतत्वबारे सर्वत्र चर्चा छ । पार्टीको शक्तिशाली पद मानिएको महासचिवका लागि लुम्बिनी प्रदेशबाटै दुईजनाले प्रचार सुरु गरेका छन् ।

अहिले पार्टीको उपमहासचिव, संगठन विभाग प्रमुख तथा दुईपटक सफल अर्थमन्त्रीको पहिचान बनाएर माओवादीसँगको एकताको समयमा महासचिव बनेका विष्णुप्रसाद पौडेलको पक्षबाट साविक लुम्बिनीमा प्रचार सुरु गरिएको छ ।

त्यस्तै जनताको बहुदलीय जनवादका व्याख्याता, पार्टीको स्थागी कमिटी सदस्य, पार्टीलाई संकटमा सधै पार लगाएर अध्यक्ष केपी ओलीलाई साथ दिने लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेललाई महासचिव बनाउनुपर्ने भन्दै साविकको राप्तीमा प्रचार शुरु भएको छ ।

महासचिव मुख्य कार्यकारी पद भएकाले र ११ महाधिवेशनको अध्यक्षको मुख्य दाबेदार भएकाले पनि यो पदमा जानेलाई भावी अध्यक्षको रुपमा कार्यकर्ताले लिने गरेका छन् ।

अध्यक्षमा केपी शर्मा ओली दोहोरिने पक्का भएपछि अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिव को बन्ला ? भन्ने आमकार्यकर्तामा चासोको विषय बनेको र आफ्नो क्षेत्रको नेता नेतृत्वमा पुगोस् भन्ने अपेक्षा र दवावका लागि यो प्रचार सुरु गरिएको हो ।

अर्कोतर्फ अध्यक्ष केपी ओलीका दुवै विश्वासपात्र भएकाले पनि कसलाई ओलीले अन्तिम संकेत दिन्छन् भन्ने चासो बढेको हो । पार्टीमा लामो समयसम्म महासचिव नै पार्टी प्रमुख हुने अभ्यास गरेको हुनाले एमालेमा महासचिव पदको आफ्नै महत्व छ ।

विष्णु पौडेलको सम्भावना कति ?

एमालेमा महासचिवका मुख्य दावेदार मानिएका विष्णु पौडेल नेकपा कालमा महासचिव चलाइसकेका नेता हुन् । एमाले र माओवादीबीच एकता भएपछि २ अध्यक्ष रहने त सहमति भयो नै । तर, पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा नयाँ अनुहार खोजी गर्नुपर्ने अडान राखे ।

एमालेका महासचिव ईश्वर पोखरेललाई नै महासचिवको जिम्मेवारी दिन प्रचण्ड तयार भएनन् । ईश्वर पोखरेल एमालेको निर्वाचित महासचिव थिए । तर, प्रचण्डले नरुचाएका पोखरेलको ठाउँमा एमालेको नवौँ महाधिवेशनमा उपमहासचिव जितेका पौडेलले महासचिवमा बाजी मारेका थिए ।

विष्णु पौडेल आठौं महाधिवेशनअघि माधव नेपाल पक्षमा थिए । आठौं महाधिवेशनपछि ओली खेमामा लागेका उनी नवौँमा आईपुग्दा ओलीकै टिमबाट उपमहासचिव बने । नेकपा एक हुँदा महासचिवको हैसियतमा उनी सचिवालय सदस्य भए । उनले नेकपा कालमा महासचिवको भूमिकालाई कुशलतापूर्वक निर्वाह गरे । आन्तरिक विवादका समयमा ओली र प्रचण्डसँग बराबरीजस्तै छलफल गर्ने उनलाई माओवादीले पनि मन पराए । नेकपा हुँदा खटेर पौडेलले आफू प्राप्त पदीय जिम्मेवारी पूरा गर्न सक्छु भन्ने प्रमाणित गरिसकेका छन् ।

नेकपा हुँदाको एउटा कार्यक्रममा प्रचण्डले पौडेल र आफू ‘पार्टी बनाउन सँगै हिंडेको’ बताएका थिए । यसले पनि पौडेललाई पार्टी महासचिवको रुपमा स्थापित गरिदियो । महासचिव भनेको पार्टीको काममा अत्यन्त खट्नुपर्ने पद हो । नेपालकै ठूलो, दुईतिहाई जनमतसहित सत्ता सञ्चालनमा रहेको कम्युनिष्ट पार्टीको महासचिव बनेर पास भएका विष्णु पौडेल एमाले महासचिवको प्रबल दाबेदार हुन् । तर सांगठनिक रुपमा बलियो भएपनि सैद्धान्तिक रुपमा जबजको व्याख्या गर्न पूर्ण नभएको उनको आलोचना गर्नेहरुको तर्क छ ।

पोखरेलको सम्भावना कति ?

महासचिव बन्ने दौडमा रहेका शंकर पोखरेललाई अध्यक्ष ओलीसँगै राष्ष्ट्रपति विद्यादेवी भण्डारीको पनि बलियो साथ छ । असोज १५ गते एमालेको प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन पढ्दापढ्दै नसकेपछि बाँकी पढ्ने जिम्मा पोखरेललाई दिएका थिए ।

त्यतिबेला नै ओलीले आफ्नो उत्तराधिकारीमा पोखरेललाई ल्याउन लागेको भन्दै उनको पक्षमा बोल्नेहरुले आधार बनाएका छन् । केपी ओलीकै आग्रहमा २०७४ सालको आम निर्वाचनमा शंकर पोखरेल प्रदेशसभामा बसे । मुख्यमन्त्री बनाउने बाचासहित प्रदेशमा गएका उनी माओवादी केन्द्रसँगको गठबन्धनबाट साढे ३ वर्ष मुख्यमन्त्री बनेका थिए ।

पार्टीको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि पोखरेल पार्टी राजनीतिमा भने केन्द्रमै रहँदै आए । त्यतिबेला दुईजनाको लागि भएको निर्वाचनमा घनश्याम भुसाल र विष्णु पौडेल विजयी हुँदा पोखरेल तेस्रो हुँदै पराजित भएका थिए । एकातिर पार्टीको महाधिवेशनमा पराजित र अर्कोतिर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेपछि शंकर पोखरेल केन्द्रीय राजनीतिबाट ओझेलमा पर्ने अनुमान गरिएपनि उनी निरन्तर केन्द्रमा रहेका थिए ।

नेकपा कालमा प्रचण्ड र ओलीको विवाद मिलाउन होस् वा एमाले ब्यूतिएपछि ओली–नेपाल मिलाउने प्रयासमा होस्, उनले राम्रै दौडधूप गरेका थिए । पोखरेलले अनेरास्ववियुको अध्यक्ष हुँदा नै जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको कार्यक्रममा मात्रै सीमित नराखेर सिद्धान्त बनाउनुपर्छ भनेका थिए ।

छैठौँ महाधिवेशनले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्यो । सातौं महाधिवेशनमा उनले पार्टी संविधानसभामा जानुपर्ने विचार राखे । अन्ततः एमालेले संविधानसभा स्वीकार गर्यो ।

शंकर पोखरेलको दूरदर्शितालाई प्रमाणित गरेका अरु पनि उदाहरण छन् । पोखरेल एमालेको स्कुल विभागको उपप्रमुखसमेत बने । उनको प्रशिक्षण सधैँ जबज केन्द्रित हुने भएकाले पनि पार्टीका कार्यकर्ताले उनको प्रशिक्षण रुचाउने गरेको विश्लेषकहरु बताउँछन् ।

जबजप्रति प्रतिवद्ध नेता भएकाले एमालेको आन्तरिक राजनीतिमा निर्णायक हस्तक्षेप गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शंकरलाई साथ दिनेछन् । यस्तो अवस्थामा पोखरेल एमालेको महासचिव बन्नसक्ने उनको पक्षमा बोल्ने नेताहरुको तर्क छ । तर नेकपाभित्रको आन्तरिक किचलो तथा एमाले
बाट माधव नेपाल समूह बाहिरिँदा आफ्नो क्षेत्रमा पार्टीलाई बलियो बनाउन नकसेको आरोप उनलाई लागेको छ । मुख्यमन्त्री बन्दा पनि भेगीय रुपमा काम गरेको, पार्टीभित्रको विवाद मिलाउन नसकेकाले महासचिव चलाउन नसक्ने उनको आलोचना गर्नेहरुको तर्क छ ।

सुरेन्द्र पाण्डेको स्वभाविक दावी

नवौँ महाधिवेशनमा अहिलेका महासचिव ईश्वर पोखरेलसँग जम्मा ६ मतले पराजित सुरेन्द्र पाण्डे लामो समय माधवकुमार नेपालसँग नजिक रहेका नेता हुन् । एमालेबाट विभाजन हुने समयमा सुरेन्द्र पाण्डे पार्टी विभाजनको विपक्षमा उभिएर नेपाललाई साथ दिएनन् । अहिले उनी एमाले महासचिवका लागि तेस्रो पटक प्रयास गर्दैछन् ।

उनी नेकपा कालमा महासचिव हुने अन्तिम तयारीमा रहे पनि ओलीले पौडेललाई रोजेपछि फुत्किएका हुन् । पछि एमाले दुई समूहमा बाँडिएको समयमा नेपाल–खनाल पक्षबाट उनले महासचिवकै हैसियतमा काम गरेका थिए ।

अहिले उनी ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा छन् ।

पाण्डेकै गृहजिल्लामा १० औँ महाधिवेशन गर्न लागेको एमालेले मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी दिइएकाले उनलाई ओलीले केही न केही संकेत गरेको हुनसक्ने अनुमान धेरैले गरेका छन् ।

महासचिवमा आकांक्षी तीनैजना भएपनि एमाले उच्च स्रोतका अनुसार पौडेल महासचिव पोखरेल उपमहासचिव र पाण्डे अन्य जिम्मेवारी रहनेगरी आन्तरिक तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर