बुटवलको सरकारी विद्यालयलाई साढे ४ करोड सहयोग – Nepal Press

बुटवलको सरकारी विद्यालयलाई साढे ४ करोड सहयोग

रुपन्देही । बुटवल उपमहानगरपालिका- ११ नहरपुरमा रहेको नहरपुर माध्यमिक विद्यालयलाई भारतीय दूतावासले साढे ४ करोड रकम सहयोग दिएको छ ।अधिकांश सुकुम्बासी क्षेत्रका विद्यार्थीहरुले अध्ययन गर्ने सो माविमा बालमैत्री र भूकम्पप्रतिरोधी अर्को नयाँ भवन निर्माणका लागि यो रकम खर्च गरिन लागिएको हो ।

तीन तलाको २० कोठाको अत्याधुनिक भवनको निर्माणकार्यको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी र भारतीय दूतावासका प्रमुख सचिव करुण बंसलले शुभारम्भ गरेका छन् ।

विद्यालयको लागि आवश्यक बजेट व्यवस्थापनका लागि पूर्वअर्थमन्त्री विष्णु पौडेलले समन्वय गरेका थिए । विद्यालय भवन निर्माणका लागि आवश्यक पर्ने रकम उपलव्ध गराएर सहकार्य गरेको भन्दै बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीले भारत सरकार, राजदूतावास र शिलान्यासमा आएका भारतीय अधिकारीहरुलाई धन्यवाद ज्ञापन दिएका छन् ।

नयाँ भवन बनाउन भारत सरकारले दूतावासमार्फत चार करोड ४१ लाख ६६ हजार ९ सय ३४ रुपैयाँ उपलव्ध गराउने विषयमा गतवर्ष नै सम्झौता भई हस्ताक्षर भएको थियो तर टेण्डर प्रकृयामा ३ करोड २९ लाख मात्र ठेकेदारले राखेपछि सो रकम घटेको विद्यालयका प्रचार्य धनिश्वर गौतमले बताए । यसमा २० प्रतिशत बुटवल उपमहानगर र ८० प्रतिशत लगानी रहने उनले बताए ।

प्राचार्य गौतमले दीर्घकालीन महत्व राख्ने खालको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन बनाएर व्यवस्थित काम गरिएको बताए । विद्यालय भवन निर्माणका लागि सीएम सगुन जेभी बुटवलले तीन करोड २९ लाख २५ हजारमा ठेक्का लिएको छ ।

भवन शिलान्यासमा आएका भारतीय दूतावासका प्रमुख सचिव बंसलले नेपाल-भारत बीचको मित्रतालाई अझ दरिलो र प्रगाढ बनाउन आफूहरु सहकार्य गर्न तयार रहेको बताए । शैक्षिक पूर्वाधार विकासमा भएको सहकार्यलाई निरन्तरता दिदैं दुबै देशका बीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउन केन्द्रित रहने उनले प्रतिवद्धता जनाएका छन् ।

२०२७ साल मंसिर २७ गते स्थापना भएको उक्त विद्यालय तीन बिगाहा चार कट्ठा बराबरको क्षेत्रफलमा छ । यहाँ करिब १५ सय विद्यार्थी अध्ययनरत छन् । यो विद्यालयमा अध्ययन गर्ने मजदुरका सन्तानलाई लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री लीला गिरी र उपमहानगरका प्रमुख शिवराज सुवेदीले अभिभावकत्व लिएर पढाउँदै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *