एम्बुलेन्स निर्देशिका संसोधन नभए सेवा ठप्प पार्ने चेतावनी – Nepal Press

एम्बुलेन्स निर्देशिका संसोधन नभए सेवा ठप्प पार्ने चेतावनी

चितवन । नयाँ राष्ट्रिय एम्बुलेन्स निर्देशिका जारी भएपछि एम्बुलेन्स चालकहरु आन्दोलनको तयारीमा छन् । भदौ १७ गते जारी भएको निर्देशिका नच्याइए अनिश्चतकालिन सेवा बन्द गर्ने चेतावनी दिएका छन् । संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले सिण्डिकेड लाद्ने गरी ल्याइएको निर्देशिका नसच्याइए अनिश्चतकालिन सेवा बन्द समेत हुने चेतावनी दिए ।

निर्देशिकामा ग वर्गका एम्बुलेन्सहरु अनिवार्य रुपमा ख वा क वर्गमा स्तरोन्नती नभएसम्म नविकरण नहुने, एम्बुलेन्स सेवा अस्पताल वा स्वास्थ्यसँग सम्बन्धित संस्थाद्वारा मात्रै दिइने व्यवस्था छ ।

अस्पताल बाहेकका स्वास्थ्य संस्थाहरुले सम्झौता गरेको एम्बुलेन्स सञ्चालन अस्पतालको नियमति अनुगमनमा रहनुपर्ने व्यवस्था छ । विगतमा सञ्चालन अनुमति पाएका संस्थाहरुले सरकारी अस्पतालसँगको सम्झौताका आधारमा मात्रै नविकरण हुन पाउने व्यवस्था छ । ‘समग्र एम्बुलेन्स सेवाको करिब १० प्रतिशतमात्रै अस्पताल र स्वास्थ्यसंस्थाले ओगटेको छ’, उनले भने, ‘गैरसरकारी क्षेत्रबाट सञ्चालित एम्बुलेन्स सेवा रोक्दा बिरामी थप जोखिममा पर्छन् ।’ देशभर करिब ६ हजार २ सय एम्बुलेन्सहरु सञ्चालनमा रहेको बताए ।

उनले चितवनकै अस्पतालका विगतमा चलेका १८ एम्बुलेन्समध्ये १३ वटा थन्किएकाे बताए । ‘गाउँ-गाउँबाट बिरामीलाई अस्पताल ल्याउन संघसंस्थाकै एम्बुलेन्स सहयोगी बनेका थिए’, उनले भने, ‘अस्पतालका एम्बुलेन्स कुर्ने हो भने गाउँदेखि बिरामी बेलैमा अस्पताल पुग्नै सक्दैनन् ।’ ५० शैयाको अस्पतालमा कम्तिमा १ वटा, प्रादेशिक अस्पताल र संघीय अस्पतालमा २-२ वटा एम्बुलेन्सहरु हुनुपर्ने उल्लेख छ ।

यो निर्देशिका जारी भएपछि अब ग वर्गका एम्बुलेन्समा राजश्व छुट वा नविकरण तथा सञ्चालन अनुमति नदिने तयारी छ । तर, निर्देशिका जारी हुनुपूर्व सञ्चालन अनुमति पाएका एम्बुलेन्सहरुले क वा ख वर्गमा स्तरोन्नती गरेपछिमात्रै नविकरण हुने व्यवस्था छ । ‘ग वर्गका एम्बुलेन्सहरु ख वर्गमा स्तरोन्नती गर्ने संरचनानै छैनन्, अहिलेका एम्बुलेन्सलाई मापदण्डमा ल्याउन पहल गरौँ, तर अहिलेका एम्बुलेन्स सञ्चालनमै अवरोध नगरौँ’, उनी भन्छन्, ‘अहिले भएका एम्बुलेन्सले समेत सेवा पुर्‍याउन नसकेका बेला अस्पतालको मात्रै भर पर्नु सिण्डिकेड होइन र ?’

उनले नयाँ निर्देशिकाले सेवामा अवरोध ल्याउने भएकाले तत्काल संसोधन गर्न माग गरे । ‘हामी निर्देशिका संसोधनको माग गर्छौँ, विगतका एम्बुलेन्सले निरन्तरता पाउनुपर्छ”, उनले भने, ‘माग सुनवाई नभए चरणवद्ध आन्दोलनमा जान्छौँ ।’ उनका अनुसार आज शुक्रबार बैठक बसेर आन्दोलनका कार्यक्रम तय हुनेछन् ।

७ गते स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, हरेक जिल्लामा ध्यानाकर्षणपत्र बुझाउने, कालोपट्टी बाँधेर सेवा दिने, साइरन बजाउँदै नगरपरिक्रमा गर्ने लगायतका विरोधका कार्यक्रमहरु गर्ने तयारी संघले गरेको छ ।

‘मेडिकल सिटीभनेर चिनिएकै चितवनमा ख वर्गका एक दर्जनमात्रै एम्बुलेन्स छन्, झण्डै ९५ प्रतिशत ग वर्गका एम्बुलेन्स छन्’, उनले भने, ‘ग वर्गका एम्बुलेन्स सञ्चालनमा रोक लगाए सेवानै ठप्प हुने स्थिति छ ।’

स्वास्थ्यकर्मी सहितको सेवा दिने ख वर्गका एम्बुलेन्सहरुमार्फत बिरामीले सेवा लिन तीन गुणा बढी भाडा तिर्नुपर्ने अवस्था रहेको बताए । उनले बिहीबार निकालेको विज्ञप्तीमर्फत निर्देशिका नसच्याउदा आउन सक्ने परिस्थितिको सरकार पक्ष नै जवाफदेही हुने चेतावनी दिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *