देउवाको गृह जिल्लाका कांग्रेस सभापतिलगायतले सानेपामा सुरु गरे अनसन – Nepal Press

देउवाको गृह जिल्लाका कांग्रेस सभापतिलगायतले सानेपामा सुरु गरे अनसन

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्लसहितको समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेको छ ।

डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली गरेको र शक्तिको दुरुपयोग गर्दै अधिवेशन गरेको भन्दै उनीहरूले अनसन सुरु गरेका हुन् ।

डडेल्धुरामा काँग्रेसले भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन गरेको थियो ।

‘हामी बहुमत सदस्यहरूले अधिवेशन स्थगित गरेपछि शक्तिको दुरुपयोग गरेर हामीलाई समेत समावेश नगरी भएको धाँधलीलाई अधिवेशनलाई मान्न सकिन्न’ मल्लले भने, ‘हामीले पटक-पटक यस विषयमा आवाज उठाउँदा पनि केन्द्रको चासो नपुगेपछि हामी बाध्य भएर यहाँ आएका हौँ ।’

निर्वाचन समितिले आफ्नो मागको सुनुवाइ नगरेपछि मल्लको टोली सानेपामा रिले अनसन बसेको हो ।

जिल्ला सभापति मल्लसहित अनसनमा नेविसंघका पूर्वअध्यक्ष केशव सिंह, उपसभापति करुणाकर भट्ट, पूर्व जिल्ला सभापति पदम भट्ट, महाधिवेशन प्रतिनिधि हरि भट्ट, भागेश्वर गाउँपालिका पूर्वसभापति नरबहादुर ठकुराठी र परशुराम नगरपालिका १२ का पूर्व सभापति राजबहादुर भण्डारीलगायत सहभागी छन् ।

यस्तै जिल्ला नेताहरू नेता भोजराज भट्ट, लोकराज भट्ट, गोकुल शाही, सन्तोष देउवा, भुवन भट्ट र नवदुर्गा ४ का पूर्व वडा सभापति रमेश ऐरलगायत पनि रिले अनसन बसेका छन् । डडेल्धुरा जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउद समूहले जिल्ला सभापति मल्ल नै महाधिवेशन प्रतिनिधि पराजित हुने भएपछि अनसनको नाटक भइरहेको बताएको छ ।

यसअघि मल्ल समूहले अधिवेशन प्रक्रिया बहिस्कार गरेर डडेल्धुरामा पनि रिले अनसन सुरु गरेको थियो ।

‘११ दिन अनसन गरेर दबाब दिइरहेका थियौँ’ मल्लले भने, ‘केन्द्रीय नेतृत्वले माग सम्बोधन गर्न चासो दिएपछि हामीले आन्दोलन फिर्ता गरेका हौँ । ’

डडेल्धुराको रिले अनसन तोड्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला र गुरुराज घिमिरे डडेल्धुरा पुगेका थिए ।
पहिलो चरणका आन्दोलनबाट माग सम्बोधन नभएपछि दोस्रो चरणको आन्दोलन स्वरूप केन्द्रीय कार्यालयमा अनसन सुरु गरेको मल्लले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर