केन्द्रीय कमिटीमा ७० भन्दा बढी नयाँ अनुहार आउने, कसको सम्भावना कति ? – Nepal Press
एमाले महाधिवेशन

केन्द्रीय कमिटीमा ७० भन्दा बढी नयाँ अनुहार आउने, कसको सम्भावना कति ?

काठमाडौं । नेकपा (एमाले) १० औं महाविधेशनको सम्मुखमा छ । नेतृत्व चयनका लागि हुन गइरहेको महाधिवेशनले मूल नेतृत्वमा नयाँ अनुहार दिने सम्भावना छैन । तर केन्द्रीय कमिटीमा कम्तिमा पनि ७० जना नयाँ अनुहारले प्रवेश पाउने छन् ।

त्यस्तै एमालेले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने बचन दिएकाले केन्द्रीय कमिटीमा ७५ जना महिला हुनैपर्छ ।

एमालेको केन्द्रीय कमिटीमा नयाँ अनुहारले कसरी प्रवेश पाउँछन् र सम्भावित अकांक्षीहरु को–को छन् त ?

नयाँ आउने बाटो

एमालेको असोज १५–१७ मा भएको प्रथम विधान सम्मेलनले साविकको विधानलाई संशोधन गर्दै केन्द्रीय कमिटी २२५ सदस्यीय सुनिश्चित गरेको छ ।

२०७५ जेठ ३ मा माओवादीसँग एकीकरण हुनुअघि एमालेको केन्द्रीय कमिटी २०१ सदस्यीय थियो । एकीकरण भएर नेकपा बनेपछि एमालेका थप ४० जनाले केन्द्रीय सदस्य बन्ने अवसर पाए ।

सर्वोच्च अदालले नेकपा एकता भंग गर्दै एमाले र माओवादीलाई पुरानै ठाउँमा पुर्याइदियो । पुनःस्थापित एमालेमा पनि नेकपा कालमा थपिएकाहरुले निरन्तरता पाए ।

खगराज अधिकारी, गोकुल बास्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, राजेन्द्र गौतम, आनन्द पोखरेल, डा.युवराज खतिवडा, रामेश्वर फुयाल, देवी ज्ञवाली, विनोद श्रेष्ठ, वसन्त मानन्धर,  लगायतले पुनःस्थापित एमालेमा पनि केन्द्रीय सदस्य बन्ने अवसर पाएका थिए ।

एमालेबाट ५८ जना केन्द्रीय सदस्यले विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेकाले हाल एमालेमा १ सय ५० केन्द्रीय सदस्य मात्रै छन् । विधानको व्यवस्था अनुसार ७५ जना केन्द्रीय सदस्यका लागि एमालेको केन्द्रीय कमिटीमा ‘स्पेस’ छ ।

१० औं महाधिवेनले त्यो रिक्तता पूरा गर्ने छ । निर्वाचन वा मनोनयनद्वारा पूर्ति गर्दा पनि कम्तीमा पनि ७५ जना नयाँ अनुहारले एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाउने छन् ।

त्यसबाट धेरै महिला र युवा लाभान्वित हुनेछन् । एमालेले विधान महाधिवेशनमार्फत केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला पुर्याउने प्रतिवद्धता गरेको छ ।

उक्त प्रतिवद्धता पूरा गर्दा एमालेको २ सय २५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना महिला हुनेछन् । हाल करिब १२ प्रतिशत मात्रै महिला एमालेको केन्द्रीय कमिटीमा छन् । १२ प्रतिशतलाई ३३ प्रतिशतमा पुर्याउँदा करिब ५० जना नयाँ अनुहारले महिला कोटामार्फत् एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाउने छन् ।

नवौं महाधिवेशनपछि एमालेकी उपाध्यक्ष भएकी विद्या भण्डारी राष्ट्रपति, गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, सानुकुमार श्रेष्ठ वागमती प्रदेशको सभामुख भएकाले उनीहरुको स्थान रिक्त छ ।

त्यस्तै रविन्द्र अधिकारी, पशुपति चौलागाई, योगनारायण यादव, महिन लिम्बु र दिनेशचन्द्र यादवको निधन भइसकेकाले र राधाकृष्ण मैनाली, प्रल्हाद गिरीलगायत जेठ २ अघि नै कारवाहीमा परेर निष्कासित भएकाले त्यो स्थान पनि रिक्त छ ।

वामदेव गौतमले पनि राजीनामा दिएकाले उनको ठाउँ पनि खाली छ । यी सबै ठाउँमा नयाँ अनुहारलाई मौका हुने छ ।

सम्भावित आकांक्षी

खाली हुने एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारले स्थान पाउँदा त्यसमा युवाकै बाहुल्यता हुनेछ ।

एमालेका तत्कालीन नेता रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उनकी पत्नी विद्या भट्टराईले उपचुनाव जितेकी थिइन् । उनी अब एमालेको केन्द्रीय कमिटी सदस्य बन्न सक्छिन् ।

हाल सांसद रहेकी कोमल वली, भगवती न्यौपानेलगायतले पनि केन्द्रीय कमिटीमा अवसर पाउन सक्छन् ।

त्यस्तै पूर्वविद्यार्थी नेताहरु नविना लामा, ऐन महर, रश्मिराज आचार्य र अनेरास्वियू अध्यक्ष सुनिता बराललगायतले पनि एमाले केन्द्रीय कमिटीमा स्थान पाउन सक्छन् ।

त्यस्तै युवासंघबाट राजिव पहारी, रमेश पौडेल, किरण पौडेल, वचनबहादुर सिंहलगायतले पनि एमाले केन्द्रीय कमिटीमा प्रवेश पाउन सक्छन् ।

उषाकला राईले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । पूर्वसामाजिक विकास मन्त्रीसमेत रहेकी राईले मंगलबार दिक्तेलमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन् ।

उनी जस्ता धेरै नयाँ अनुहारले केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर