जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवर्द्धनमा केन्द्रित भएका छौँ: प्रधानमन्त्री (भिडिओ) – Nepal Press

जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवर्द्धनमा केन्द्रित भएका छौँ: प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवर्द्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन् । उनले भने, ‘जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन तर यसको मारमा हामी पनि परेका छौँ । त्यसको निराकरणका लागि स्वच्छ ऊर्जाको विकास नै अहिलेको आवश्यकता हो ।’

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९औँ र २०औँ वार्षिक साधारणसभालाई आज  सम्बोधन गर्दै उनले जैविक इन्धनका कारण समस्या विकराल बन्दै गएको, बाढीपहिरो, बेमौसमी वर्षामा वृद्धि भएका कारण त्यसको मारमा नेपालसमेत परेकाले त्यसको निराकरणमा जुट्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले हिमाल नाङ्गै हुने अवस्था आएको र त्यसले ठूलो समस्या निम्त्याउने भएकाले समयमै सचेत हुनुपर्ने भन्दै चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्रीले हालै अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा समेत त्यस विषयले प्राथमिकता पाएको र नेपालले स्पष्ट ढङ्गले आफ्ना मत दर्ज गराएको उल्लेख गरे । प्रधानमन्त्रीले यहाँ उत्पादित बिजुली देशभित्रै खपत गर्ने कार्ययोजनाका साथ सरकार अगाडि बढेको जानकारी दिए ।

उनले विद्युतीय सवारी साधनको प्रवर्द्धन, इन्डक्सन चुल्होको प्रयोगमा बढावा दिन पनि सरकारले विशेष कार्ययोजना बनाएर लागू गर्ने उल्लेख गरे । प्रधानमन्त्रीले भने, ‘आफ्नो देशको बिजुली नेपालमा नै खपत गर्नुपर्छ । त्यसका लागि सरकार अनुदान दिन तयार छ ।’ प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने विश्वाससमेत दिलाए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर लागिपरेको बताइन् । उनले उत्पादित बिजुली खेर नजाओस् भन्नेतर्फ मन्त्रालय गम्भीर भएर लागेको भन्दै त्यसमा साथ दिन निजी क्षेत्रलाई आग्रह गरिन् ।

उनले बिजुलीको अन्तर्राष्ट्रिय व्यापारका लागि आधारसहित आए निजी क्षेत्रलाई अनुमति दिन कुनै पनि समस्या नभएको दोहो¥याइन्। ऊर्जामन्त्रीले भने,‘मैले यसअघि पनि भनेको छु । तपाईंहरु आधार र कार्ययोजनासहित आउनूस् । अनुमति दिन मन्त्रालय तयार छ ।’

ऊर्जामन्त्रीले विगतमा जस्तै झोलामा खोला राख्ने प्रवृत्ति बिजुली व्यापारको हकमा पनि नआओस् भन्नेमा सरकार सचेत रहेको स्पष्ट पार्नि। ‘हामीले विगतमा जलविद्युत् आयोजनाको लाइसेन्स लिने र काम नगर्ने प्रवृत्तिका बारेमा धेरै सुनेका थियौँ । बिजुली व्यापारको सन्दर्भमा पनि त्यस्तै नहोस् । अनुमति लिने तर कुनै पनि काम नगर्ने अवस्थाको अन्त्य हुनु जरुरी छ,’ उनले भने ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले शून्य कार्बनको नीतिका विषयमा स्पष्ट प्रतिबद्धता जनाएकाले स्वच्छ ऊर्जाको विकास नै हाम्रो प्रमुख आवश्यकता भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर