जनकपुरमा हिन्दू र मुस्लिम समुदायबीच ७ बुँदे सहमति – Nepal Press

जनकपुरमा हिन्दू र मुस्लिम समुदायबीच ७ बुँदे सहमति

जनकपुरधाम । छठ मनाउने विषयमा जनकपुरधाम उपमहानगरपालिका-२० रूपैठामा भएको विवाद साम्य पार्न त्यहाँका हिन्दू र मुस्लिम समुदायबीच सात बुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको उपस्थितिमा दुवै समुदाय विवाद अन्त्यका लागि राजी भएका हुन् । सहमतिको बुँदामा तेलिया पोखरीको स्वामित्व र संरक्षण जनकपुरधाम उपमहानगरपालिकाले गर्ने, हिन्दूको छठ र मुस्लिमको दाहाजस्ता पर्वमा सुरक्षा निकायलाई पूर्वजानकारी दिई पोखरीमा थप माटो नझारी मनाउने, दुवै समुदायले एक-अर्काको धर्म कर्म, रितिरिवाज परम्पराको उच्च सम्मान गर्ने विषयमा दुबै पक्ष सहमति जनाएका छन् ।

यस्तै पोखरीमा झण्डालगायतका कुनै पनि संकेत चिन्हहरू नराख्ने, मुस्लिम समूदायले हाल राखेको झण्डालाई त्यहाँबाट व्यवस्थापन गर्ने व्यवस्था मुस्लिम समूदायले मिलाउने र अब उप्रान्त दुवै पक्षले सोसल मिडिया वा अन्य कुनै पनि माध्यमबाट धार्मिक साम्प्रदायिक सद्भाव बिगार्ने गरी भनाइ/ विचार नराख्ने सहमति भएको छ ।

पोखरीको विवाद समाधान गरी धार्मिक साम्प्रदायिक सद्भाव कायम गर्न र त्यस क्षेत्रको विकास निर्माणमा सहयोग पुयाउन जनकपुर उप-महानगरपालिकाका उपमेयर रिता मिश्रको संयोजकत्वमा समिति बनाइएको छ । समितिको सदस्यमा हिन्दू समुदाय तर्फबाट रामस्वरूप महतो, उमेश दास, महेन्द्र साह र कमलेश साह छन् भने मुस्लिम समुदायबाट मो. हैदर अली, मो. जाविर राइन, मो. मोति (भोला) कवारी र मो. हमिद कवाडी पनि सदस्य छन् ।

दुवै समुदायबीच तनाब उत्पन्न भएपछि प्रशासनले विगत दुई दिनदेखि सो क्षेत्रमा प्रशासनले निशेधाज्ञा जारी राखेको छ । सहमतिपश्चात पनि कुनै गलत क्रियाकला वा धार्मिक आस्थाविपरीतको क्रियाकलाप गर्ने जोसुकैलाई कारवाही गर्ने सीडीओ बास्तोलाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर