छापामार र गुण्डागर्दी शैलीमा विधान महाधिवेशन बिथोलेको भन्दै रेडक्रसद्वारा कारवाहीको माग – Nepal Press

छापामार र गुण्डागर्दी शैलीमा विधान महाधिवेशन बिथोलेको भन्दै रेडक्रसद्वारा कारवाहीको माग

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले विधान संशोधन अधिवेशन गुण्डागर्दी शैलीमा बिथोलेको भन्दै संलग्नमाथि कारबाहीको माग गरेको छ ।

रेडक्रस सोसाइटीले अधिवेशनस्थलकाे तोडफोडमा संलग्नहरुलाई  तत्काल न्यायिक छानवीन गरी सत्यतत्थ्य सार्वजनिक गरी  कानून बमोजिम कारबाही गर्न सरकारसँग माग गरेको हो । साथै, यस घटनाको छानवीन गर्नका लागि रेडक्रसका अन्तराष्ट्रिय संयन्त्रहरुलाई समेत ध्यानाकर्षण गराएको छ ।

रेडक्रस सोसाइटीको हिजो र आज हुने भनिएको विधान संशोधन अधिवेशनमा  ७७ वटै जिल्ला र ७ प्रदेशबाट करिव ३ सय जना प्रतिनिधिहरु महाधिवेशन स्थलमा जम्मा भइसकेको र उद्घाटन सत्र सुरु हुनै लाग्दा उदण्ड समूहले आतंक मच्चाउने, तोडफोड गर्ने, तथानाम गाली बेइजती अश्लिल शब्दहरु प्रयोग गर्ने, हुलहुज्जत गर्ने, कर्मचारीहरुलाई दुरव्यवहार गर्ने जस्ता अपराधिक क्रियाकलापहरु गरेको थियो ।

रेडक्रसको शुद्धीकरण र रुपान्तरण गर्ने  उद्देश्यको साथ आयोजना गरिएको विधान संशाेधनमा २०/२५ जनाको उदण्ड समूहले अधिवेशन विथोलेको रेडक्रसले जनाएको छ । अधिवेशन  विथाेल्नेलाई प्रहरीले पक्राउ गरेकाे थियाे ।

विधान अधिवेशन विथोल्ने समूहमा भ्रष्टचार र अनिमियतामा संलग्न केही पूर्व केन्द्रीय कार्यसमितिका सदस्यहरु तथा पुर्व जिल्ला सभापतिहरुले लुटपाट र तोडफोड गर्ने नेतृत्व गरेको रेडक्रसले बताएको छ । आफुलाई रेडक्रसकर्मी भन्नेहरुले तोडफोड र लुटपाटको हर्कत गरि नेपाल रेडक्रस सोसाइटीको विधान अधिवेशन विथोलेकोमा रेडक्रस सोसाइटीले खेद प्रकट गरेको छ ।

छापामार शैली र गुण्डागर्दी तवरबाट उद्घाटनस्थल थापाथलीस्थित कार्की व्यङकेटमा प्रबेश गरी त्यहाँभित्र रहेको महाधिवेशन प्रयोगका लागि राखिएका सामग्रीहरु, रेडक्रसको झण्डा, झोला, ज्याकेट र कागजपत्रहरु खोस्ने, च्यातेर फाल्ने, माइक र टेबल कुर्सी लगायतका सामग्रीहरु तोडफोड गरी लाखौंको क्षति गरेको बताएको छ ।

रेडक्रस सोसाइटीको बजार शाखाले विक्रीस्थलमा राखेको रेडक्रस लोगो, व्याच, ज्याकेट, क्याप, लकेट, र अन्य लाखौंका सामग्रीहरु लुटपाट गरेका विज्ञप्तीमार्फत जनाएको छ ।

सोमबार जारी विज्ञप्तिमा भनिएको छ,‘लामो समयदेखी रेडक्रसकर्मीहरुले पर्खिरहेको विधान अधिवेशनको सपनालाई उत्सवका रुपमा सम्पन्न गरि जवाफदेही पारदर्शि र समावेशी बनाउदै मानवीय संस्था बनाउने अवसरलाई उक्त समूहले गुण्डागर्दी शैलीमा बिथोलेको छ। उक्त समूहले रेडक्रसकै झण्डा समेत च्यातेको छ । रेडक्रसका मसिहा भन्नेहरुलेनै रेडक्रस जस्तो संसार भरी प्रख्यात आदर्शको पुञ्जलाई च्यात्ने कामले हामीलाई लज्जित र दुःखी बनाएको छ।’

महाधिवेशन विथोल्नेमा केही केन्द्रीय सदस्यहरु समेत संलग्न भएको रेडक्रस सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर