सेयर बजारमा ब्याजदर परिवर्तन नीतिको प्रभाव, नेप्से २६.४४ अंकले बढ्यो – Nepal Press

सेयर बजारमा ब्याजदर परिवर्तन नीतिको प्रभाव, नेप्से २६.४४ अंकले बढ्यो

काठमाडौं । तिहारदेखि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज २६.४४ अंकले बढेर २७१५.३५ अंकको बिन्दुमा पुगेको छ । २२८ कम्पनीको ८६ दाख ३६ हजार ६३६ कित्ता सेयर खरिदबिक्रीबाट ४ अर्ब ७३ करोड बराबरको कारोबार भएको छ ।

यसैगरी सेन्सेटिभ इन्डेक्स ४.१० अंकले बढेर ५०६.५४ अंकको बिन्दुमा पुगेको छ । आज १३ वटै समूहगत उपसूचकहरू बढेका छन् ।
सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सुचाङ्क २१२ अंकले बढेको छ । यसैगरी विकास बैंक समूहको १४१.४७ अंक, वित्त कम्पनीको ५८ अंक, होटल तथा पर्यटन समूहको ५८.५४ अंक, जलविद्युत समूहको ५०.०५ अ्क, उत्पादन तथा प्रशोधन समूहको १०९.४९ अंक, लघुवित्त वित्तीय संस्थाको ६३.३८ अंकले बढेको छ ।

आज बोटलर्स नेपाल (तराई), महालक्ष्मी विकास बैंक र तेह्रथुम पावर कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ । ३५ करोड ४६ लाख रुपैयाँ बाराबरको सेयर कारोबार गर्दै महालक्ष्मी विकास बैंक कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी नीतिमा भएको परिवर्तनका कारण ब्याजदरमा खासै ठूलो परिवर्तन नहुने भएपछि सेयर बजारमा घट्नेक्रम रोकिएको हो । नेपाल राष्ट्र बैंकले अघिल्लो महिनाको ब्याजदरबाट अधिकतम १० प्रतिशतसम्म ब्याजदर बढाउन पाउने नीति परिवर्तन गर्दै अघिल्लो महिनाको अधिकतम औषत ब्याजदर र न्युनतम ब्याजदरका आधारमा मात्रै ब्याजदर बढाउन पाउने व्यवस्था गरेको छ ।

यसैगरी नेपाल राष्ट्र बैंकले कल निक्षेप र सस्थागत निक्षेपबाहेक अन्य निक्षेपको ब्याजदरमा प्रकाशित गर्दा ०.५ प्रतिशत बढी ब्याजदर प्रकाशित गर्नुपर्ने ब्यवस्था खारेज गरेको छ । बोलकबोलका आधारमा दिने ब्याजदर प्रकाशित मुद्द्तीको निक्षेप भन्दा बढी दिन नपाउने ब्यवस्था गरेको छ । तर, बैंकमा रहेको निक्षेप पुनः बोलकबोल गरी नवीकरण गर्नुपरेमा ०.१० प्रतिशतसम्म बढाउन सक्ने ब्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

नेपाल बैंकर्स संघका सबै सदस्य बैंकहरूले ब्याजदर नबढाउने सहमतिको प्रयास भइरहेको बताइएको छ । तत्काल निक्षेप बढ्ने सम्भावना कम रहेकाले एउटा निश्चित ब्याजदरमा सहमति गरेर अगाडी बढ्ने कुरामा सबै बैंकर्स एक ठाउँमा उभिएका छन् ।

सदस्य बैंकमध्ये कुनै एकले ब्याजदर बढाएमा अन्य बैंकले पनि बढाउनुपर्ने बाध्यता आउने भएकाले सबैसँग सहमति गरेर अगाडि बढ्ने काम भइरहेको एक बैंकरले बताए । ब्याजदर बढाउँदैमा निक्षेप बढ्ने नभइ एउटा बैंकको निक्षेप अर्को बैंकमा जाने भएकाले सबैको सहमतिको आवश्यक रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर