एमाले महाधिवेशनले सौराहाका पर्यटन व्यवसायी उत्साहित, साढे ६ हजार बेड बुकिङ हुँदै – Nepal Press

एमाले महाधिवेशनले सौराहाका पर्यटन व्यवसायी उत्साहित, साढे ६ हजार बेड बुकिङ हुँदै

चितवन । देशकै मुख्य पर्यटकीय गन्तव्यमध्येकाे सौराहामा पहिलो पटक सबै होटलका कोठा बुकिङ हुने भएका छन् । झण्डै १ सय ४० होटलका ६ हजार ५ सय बेड मंसिर ९ देखि १२ गतेसम्म बुकिङ हुदैछन् । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि सबै होटल बुकिङ हुन लागेका हुन् ।

एमालेले करिब ४ हजार बेड बुकिङका लागि क्षेत्रीय होटल संघ (हान) चितवन र रेष्टुरेण्ट एण्डबार एशोसियसन (रेवान)सँग एक दुई दिनमै बुकिङ गर्दैछ । नारायणगढस्थित नारायणी नदी किनार चौरमा हुने उद्घाटनसत्रमा देशभरबाट करिब ५ लाख जनता आउने एमालेले बताउँदै आएको छ ।

भोलिपल्ट एमालेका १ हजार ९ सय ९९ सय जना महाधिवेशन प्रतिनिधि सौराहामा हुने बन्दशत्रमा सहभागी हुन्छन् । उद्घाटन र बन्दसत्रका गतिविधि नियाल्न चाहने सर्वसाधरणले समेत सौराहामै अग्रिम बुकिङ गर्न थालेका छन् । हानका महासचिव तथा यूनिक वाइल्ड रिसोर्टका सञ्चालक गुणराज थपलियाले अग्रिम बुकिङ बढ्न थालेको बताउँछन् ।

‘मंसिर ९ देखि १२ गतेसम्म पर्यटकलक्षित नयाँ बुकिङ नगर्न व्यवसायीलाई सुझाएका छौं,’ उनले भने, ‘महाधिवेशनलक्षित गरेर एमालेबाट ४ हजार बेड बुकिङ हुँदैछन् ।’ उनका अनुसार करिब २ हजार ५ सय बेडमध्ये १ हजार ५ सय बेड सर्वसाधरणले बुकिङ गराएका छन् । ‘धेरै ठाउँबाट अग्रिम बुकिङ गर्न इन्क्वाएरी आउन थालेको छ,’ उनले भने, ‘महाधिवेशनकै मितिमा नयाँ बुकिङ नलिने पक्षमा छौं, पहिलो प्राथमिकता महाधिवेशनमा सहभागीलाई दिनेछौं ।’

हानका अध्यक्ष दीपक भट्टराईले मंसिर दोस्रो हप्ताका लागि सौराहाका रुमहरू पूर्णरूपमा बुकिङ हुने सम्भावना बढेको बताउँछन् । ‘सौराहा भरिभराउ हुँदैछ,’ उनले भने, ‘२ वर्ष ठप्प बनेको सौराहाले लय समात्नेछ ।’

उनले महाधिवेशनका लागि ३० देखि ४० प्रतिशत सहुलियतमा रुमको शुल्क लिन लागिएको बताए । ‘महाधिवेशनमा हामीले सहुलियतमै रुम दिदैछौं,’ उनले भने, ‘निःशुल्क गर्न पार्टीबाट दबाब छैन, हामी उत्साहित छौं ।’

भट्टराईका अनुसार सौराहाका हरेक होटलमा महाधिवेशन प्रतिनिधि बस्नेछन् । उनले कोभिड-१९ बाट सुरक्षित रहेको र ठूला कार्यक्रमसमेत गर्न सक्ने क्षेत्र भएको सन्देश दिने अवसरका रुपमा लिन्छन् । जंगल सफारी लजका सञ्चालक तथा पर्यटन व्यवसायी सुमन घिमिरेले एमालेको महाधिवेशनले सौराहा घुम्न स्वदेशी तथा विदेशीलाई प्रेरणा दिने अपेक्षा गरे ।

‘सशुल्क आवास व्यवस्थापन गरेर विश्वव्यापी निःशुल्क सौराहा चिनाउने अवसर पाउँदै छौं,’ उनले भने, ‘पार्टीको महाधिवेशन भए पनि सौराहाको पर्यटन गतिविधिलाई उचाईमा लैजान दीर्घकालीन सहयोग पुग्नेछ ।’ बन्दसत्र हुने स्थान होटल सभेन स्टारका प्रबन्ध सञ्चालक माधव दुवाडीले सौराहाले पहिलो पटक यति ठूलो कार्यक्रम गर्ने अवसर पाएको बताए ।

‘विगतमा हामीले ७० देशका रेञ्जरको उपस्थितिमा यहीँ रेञ्जरहरुको विश्व सम्मेलन पनि गरायौँ, तर आवासीय सुविधा लिनेहरुको संख्या कम थियो,’ दुवाडीले भने, ‘यसपाली एकैसाथ धेरै होटल बुकिङ भएर हुन लागेको कार्यक्रम चितवनमै हुँदैछ, हामी खुशी छौं ।’ पार्किङका लागि २ विघा क्षेत्रफलमा व्यवस्थापन गरिने उनले बताए । ‘निर्वाचन, सचिवालय र सामाग्री व्यवस्थापनका लागि ३ हल प्रयोग हुँदैछन्,’ उनले थपे, ‘सफल बनाउन तयारी तीब्र पारेका छौं ।’

पर्यटन व्यवसायी नारायण भट्टराईले सौराहाका होटलहरुमा सरसफाई, रंगरोगन र सजावट धमाधम भइरहेको बताए । ‘करिव २ वर्ष बन्द कोठाहरु पूर्णरुपमा सञ्चालनमा आउँदैछन्, सरसफाईका कामहरु धमाधम हुदैछन्,’ उनले भने, ‘सौराहा सक्षम छ, सुरक्षित छ भनेर पुष्टी गर्ने अवसर छ ।’

पर्यटन व्यवसायी गंगा गिरीले थलिएको पर्यटनलाई महाधिवेशनका कार्यक्रम चितवन राखिनुले पर्यटन व्यवसायले ऊर्जा पाएको बताए । ‘पर्यटनमात्रै होइन, यहाँको आर्थिक विकासमा पनि टेवा पुग्नेछ,’ उनले भने, ‘मंसीरको ३ दिन हाम्रो परीक्षा पनि हो, हामी सभ्य र भव्य बनाउन लाग्नेछौं ।’

सौराहामा कोभिड(१९ महामारी पूर्वका वर्षमा नोभेम्बरदेखि डिसेम्बरसम्म धेरै पर्यटक भित्रिने गर्दथे । २ वर्ष यता आन्तरिक पर्यटकको भर पर्नुपरेको छ । भदौयता आंशिकरूपमा विदेशी पर्यटक आउन थालेपछि विदामा बसेका होटलका कर्मचारी पनि काममा फर्किन थालेका छन् ।

सौराहामा विगतमा चिनियाँ र भारतीय पर्यटक धेरै आउँथे । हात्ती, जीप सफारी गर्दै वन्यजन्तु, चराचुरुङगीको अवलोकन गर्दै पर्यटक रमाउँथे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर