डाक्टर ढिलो आउँदा नवजात शिशुको मृत्यु, अस्पताल परिसरमा आफन्तको रुवाबासी – Nepal Press

डाक्टर ढिलो आउँदा नवजात शिशुको मृत्यु, अस्पताल परिसरमा आफन्तको रुवाबासी

जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा रहेको तराई राजधानी हस्पिटलको लापरबाहीले एक नवजात शिशुको मृत्यु भएको छ । धनुषाको नगराइन नगरपालिका २ की रोषनी मण्डलले हस्पिटलमा शुक्रबार राति करिब ११ बजे बच्चा (छोरा) जन्म दिएकी थिइन् । तर, ५ घण्टा नबित्दै शनिबार बिहान करिब ४ बजे हस्पिटल प्रशासनको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भयो ।

बच्चा नर्मल तरिकाले जन्मिएको थियो । विजय मण्डल भन्छन्, ‘श्रीमतीलाई ब्यथा लाग्ने वित्तिकै अस्पताल ल्याएको थिएँम् । अप्रेशन समेत गर्नुपरेन, बच्चा जन्मियो । अवस्था एकदम ठिक थियो । तर, राति अचानक रुन थालेपछि एक नर्सले डाक्टरलाई फोन गरिन् । डाक्टर आउन ढिला भएका कारण बच्चाको मृत्यु भयो ।’

डाक्टर ढिलागरी आएका कारण छोराको मृत्यु भएको बिजयको दावी छ । ‘डाक्टर समयमा आएको भए मेरो छोराको मृत्यु हुने थिएन’, उनले दुखेसो पोखे, ‘अस्पताल प्रशासनको चरम लापरबाही देखिएको छ । राति कोही डाक्टर थिएनन् । डाक्टर आउनुअघि नै बच्चाको मृत्यु भइसकेको थियो । तर जिउँदैछ र अब बाँच्दैन भनेर डाक्टरले ढाट्यो । अनी एक छिनमै भन्यो– बच्चा बचाउन सकिन्न ।’

व्यथा सुरु भएलगत्तै श्रीमतीलाई लिएर विजय जनकपुरस्थित डा. बिनिता मानन्धरको क्लिनिक सनसिता मेडिकल पुगेका थिए । डा. बिनिताले अन्य अस्पताल लग्न उनलाई सुझाएकी थिइन् । बिजय भन्छन्, ‘राम्रो अस्पताल कुन हो ? त्यसमा पठाइदिनुस् भनेका थिए डा. बिनितालाई । उनी राम्रो हो भनेर यहाँ पठायो । तर, यो अस्पताल ज्यानमारा सावित भयो ।’

मृतक शिशुको नाकबाट रगत आएको देखिएको छ । यसबारे उक्त हस्पिटलका म्यानेजर विकास कुमार सिंहले ‘चेस्ट कम्प्रेशन’का कारण नाकबाट रगत आएको हुनसक्ने बताए । उनले बच्चाको मृत्यु हुनुमा अस्पताल र डाक्टर दोषी नरहेको दाबी गरे ।

उनले भने, ‘जन्मिने बेलामा बच्चा रोएका थिएन । नरोएपछि बच्चाको अवस्था ठिक छैन भनेर परिवारलाई भनेकै थिए । र बाँचेन । अनी अस्पताल र डाक्टर कसरी दोषी ?’ कुनै अस्पतालमा एमडी डाक्टर नबस्ने गरेको र फोन मार्फत नै आउने गरेको भन्दै उनले डाक्टर आउन ढिला गरेको आरोप पनि गलत रहेको उनले तर्क गरे ।

बच्चाको रिपोर्ट (मोनटिरिङ चार्ट)मा केयरमेट गरिएका कारण पनि अस्पतालको लापरबाही रहेको आशंका छ । राति २ बजे एसपिओ२ केयरमेट गरी ९३ प्रतिशत बनाएको छ । यो समयमा एसपिओ२ कम भएपछि बच्चा कराउन थालेको तर करिब पोने ४ बजे डाक्टर आएका कारण मृत्यु भएको पीडित परिवारको आरोप छ । त्यो केयरमेटबारे अस्पतालका म्यानेजर सिंह भन्छन्, ‘लेख्ने बेलामा त्रुटी हुन्छ । त्यसलाई सच्याउनु भनेको गल्ती ढाकछोप गर्नु होइन् ।’

नवजात शिशुको मृत्युपछि बिजयका परिवार शोकमा डुबेका छन् । घटनापछि बिहान अस्पतालमा तनाव सृजना भएको थियो । त्यसपछि अस्पताल प्रशासनले सुरक्षाकर्मी बोलाएका छन् । अहिले दर्जनौं प्रहरी अस्पतालमा सुरक्षार्थ तैनाथ छन् । तर मृतक शिशुका आफ्न्त बच्चा चाहियो भन्दै रोइकराई गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *