कर्णालीको सत्ताराजनीतिः प्रकाश ज्वाला पनि मुख्यमन्त्रीको लाइनमा ! – Nepal Press

कर्णालीको सत्ताराजनीतिः प्रकाश ज्वाला पनि मुख्यमन्त्रीको लाइनमा !

सुर्खेत । कर्णालीमा नेकपा माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत साता कांग्रेसका जीवनबहादुर शाहीलाई पूर्वसहमति बमोजिम सत्ता सुम्पिए । तर, कांग्रेस नेतृत्वको सरकारले पनि बाँकी कार्यकाल पूरा गर्नसक्ने सम्भावना न्यून देखिएको छ ।

समाचारहरुमा आएअनुसार जीवनबहादुर शाहीले मुख्यमन्त्रीको कुर्सीमा ६ महिना मात्रै बिताउन सक्नेछन् । त्यसपछि उनले नेकपा एकीकृत समाजवादीलाई पालो दिनुपर्ने पूर्वसहमति रहेको बताइएको छ । यदि उक्त सहमति पालना भएको खण्डमा भावी मुख्यमन्त्रीका रुपमा प्रकाश ज्वालाको समेत ढोका खुल्न सक्छ ।

गत वैशाखमा फ्लोर क्रस गरेर कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका ज्वालासहित चारजना सांसदको पद गुमेको थियो । उनीहरु चारैजना अहिले नेकपा एकीकृत समाजवादीमा छन् । पार्टी उपमहासचिव ज्वाला, प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, कालिकोट इन्चार्ज कुर्मराज शाही र डोल्पाका नन्दसिंह बुढा अहिले पनि सर्वोच्चले आफूहरुलाई पुनर्बहाली गराइदिने आश पालेका छन् ।

यदि पुर्नबहाली नभएको अवस्थामा सर्वोच्चले मुद्दाको अन्तिम फैसला छिटो गरिदिए हुन्थ्यो भन्ने चासो उनीहरुको छ । देशैभर राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको तयारी सुरु भएसँगै फेरि सत्तामा फर्किने उनीहरुको आशा ब्यँुतिएको हो । कर्णालीमा उपनिर्वाचन भएको खण्डमा र जितेको खण्डमा ६ महिनापछि प्रकाश ज्वाला मुख्यमन्त्री बन्न सक्नेछन् ।

गत वैशाख ३ गते कांग्रेस, माओवादी र एमालेको तत्कालीन माधव नेपाल समूहबीच त्रिपक्षीय सहमति भएको थियो । सहमतिमा ६ महिनापछि महेन्द्रबहादुर शाहीले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने भनिएको थियो । त्यसअनुसार अहिले कांग्रेसका जीवन शाही मुख्यमन्त्री छन् । सोही सहमतिअनुसार अबको ६ महिनापछि शाहीले एकीकृत समाजवादीलाई सत्ता हस्तान्तरण गर्नुपर्ने विषय बाहिर आएको छ ।

हाल जीवन शाहीको सरकारमा तीन जना समाजवादीका मन्त्री हुने र उपचुनावमा माओवादी र कांग्रेसले उम्मेदवारी नदिई चार जनालाई सघाउने सहमति भएको थियो । तर, शाहीले भागबण्डा मिलाउन नसक्दा मन्त्रीपरिषद विस्तार गर्न सकेका छैनन् ।

सोही सहमतिको आधारमा कर्णालीमा उपनिर्वाचन भएको खण्डमा समाजवादीलाई कांग्रेस र माओवादीले सघाउने छन् । दुई ठूला पार्टीले सघाउँदा आफूहरुको जीत सुनिश्चित हुने विश्वास चारैजनामा छ ।

यसअघि समाजवादीबाट भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री बनेका अम्मरबहादुर थापाले विभिन्न मिडियामा अन्र्तवार्ता दिँदै सहमतिअनुसार मुख्यमन्त्री जीवन शाहीलाई बनाउनेपर्ने बताउँदै आएका थिए । कांग्रेसका छजना र समाजवादीका तीनजनाले सो सहमति कार्यान्वयन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि मुख्यमन्त्री शाहीले वाध्य भएर राजीनामा दिएका हुन् ।

‘यदि उपचुनाव भयो र प्रकाश ज्वालाले जिते भने ६ महिनापछि मुख्यमन्त्री बन्नेछन् । अन्यथा चन्द्रबहादुर शाही बन्नेछन्,’ समाजवादीको उच्च स्रोत भन्छ ।

असारमा चार जनाले हालेको रिटमा सर्वोच्चले उनीहरुलाई एमाले सांसदको हैसियतमा पुनर्बहाली गर्न प्रदेशसभा र एमाले संसदीय दल कर्णाली प्रदेशलाई निर्देशन दिएको थियो । बारम्बार फ्लोरक्रस गरेका चार जनाको पेसी सर्दै जाँदा पछिल्लोपटक पुस ४ गतेलाई तोकिएको छ । सर्वोच्चले त्यस दिन दिने फैसलाले मात्रै कर्णालीका चार नेताको क्षेत्रमा उपनिर्वाचन हुन सक्नेबारे निर्वाचन आयोगले निर्णय लिने देखिन्छ ।

‘अहिले हाम्रो मुद्दा चलिरहेको छ । सो मुद्दाको अन्तिम किनारा लागेको खण्डमा मात्रै चुनाव हुने सम्भावना छ,’ पूर्वमन्त्री नन्दसिंह बुढा भन्छन् ।

ज्वाला सल्यानबाट, थापा दैलेखबाट, शाही कालिकोटबाट र बुढा डोल्पाबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर