एमालेविरुद्ध सत्ता गठबन्धनको चुनावी तालमेल : राष्ट्रियसभामा यसरी हुँदैछ सिट बाँडफाँट – Nepal Press

एमालेविरुद्ध सत्ता गठबन्धनको चुनावी तालमेल : राष्ट्रियसभामा यसरी हुँदैछ सिट बाँडफाँट

काठमाडौं । राष्ट्रियसभाका २० जना सदस्यहरूको कार्यकाल यही फागुन २० गते सकिदैछ । ४ वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका २० जनामध्ये एक जना रामनारायण विडारी मन्त्रिपरिषद्‍बाट मनोनीत हुन् भने १९ जना भूगोलबाट निर्वाचित हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ मा राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि सो पदका लागि निर्वाचन हुनुपर्ने प्रावधान रहेको छ । जसअनुसार फागुन २० मा रिक्त हुने राष्ट्रियसभा सदस्यहरूको पदपूर्तिका लागि माघ ७ देखि १० गतेभित्र निर्वाचन गर्न निर्वाचन आयोगले सुझाएको छ । सरकारले सोही अनुसार माघ ८ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको छ ।

१९ सदस्यका लागि निर्वाचन

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनले राष्ट्रियसभामा रिक्त हुने पद जुन प्रक्रियाबाट उत्पत्ति भएको हो सोही प्रक्रियाबाट पूर्ति गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार फागुन २० मा रिक्त हुने २० मध्ये १९ सदस्यको पदपूर्ति निर्वाचनद्वारा हुनेछ । मन्त्रिपरिषद्‌बाट मनोनीत राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको पदावधी सकिएर रिक्त हुने स्थानमा भने मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशगत आधारमा इलेक्टोरल निर्धारण गरिएको हुन्छ । जहाँ प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाताको रूपमा रहेका हुन्छन् । प्रदेशसभा सदस्यलाई ४८ मतभार दिइएको छ भने स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ रहेको छ । प्रदेशगत रुपमा हुने निर्वाचनमा सबैभन्दा बढी मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

एमालेविरुद्ध गठबन्धन

दलहरू सिंगल-सिंगल लड्दा एमाले ठूलो पार्टी भएकाले पनि एमालेलाई क्लिन स्वीप गर्न सत्ता गठबन्धन अग्रसर भएको छ । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनमा चुनावी तालमेल गर्ने सहमति बनिसकेको छ ।

जसअनुसार राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने सबै १९ सिटमा गठबन्धनका साझा उम्मेदवार प्रत्यासी बन्नेछन् । रिक्त हुन लागेका १९ निर्वाचित राष्ट्रियसभा सदस्यमध्ये ८ जना नेकपा एमालेका रहेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र नेपाली कांग्रेसका ३ जना रहेका छन् । सत्तारुढ गठबन्धनले तालमेलको निर्णय गरिसकेका कारण १९ वटै सिटमा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धन सुदृढ बनेको खण्डमा सबै सिटमा विजयी हुनसक्ने अनुमान सम्बन्धित प्रदेशको इलेक्टोरलको मतभारको विश्लेषण गर्दा स्पष्ट हुनेछ ।

यो पनि पढ्नुहोस् : राष्ट्रियसभा उपाध्यक्षसहित २० सांसद फागुनमा पदमुक्त हुँदै, कुन पार्टीका कति ? (सूचीसहित)

कसरी हुँदैछ भागबण्डा ?

सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नो साविक सदस्य संख्या जोगाउने गरी प्रस्ताव राखेका छन् । सोहीअनुसार निर्वाचन हुने १९ सदस्यमध्ये ४ माओवादी र ४ एकीकृत समाजवादीले पाउने पक्का छ ।

बाँकी ११ सिटमध्ये जसपालाई १ दिएर १० सिट गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पाउने देखिन्छ । ‘१९ मध्ये ११ सिटमा हाम्रो दावी भएपनि जसपालाईपनि समेट्नुपर्ने भएकोले सम्भवतः १० सिट हामीले लिनेगरी गठबन्धन हुने सम्भवना देखिन्छ’, गठबन्धनमा सक्रिय कांग्रेसका एक नेताले भने ।

ती नेताका अनुसार एमालेतर्फको रिक्त हुने ८ मध्ये ७ स्थानमा कांग्रेस उम्मेदवार प्रत्यासी बन्ने सम्भवना छ । ‘कांग्रेसको रिक्त हुने ३ बाहेक एमाले तर्फको ७ सिटमा हाम्रो उम्मेदवार हुन्छन् होला । अहिले प्रारम्भिक छलफल हो, अन्तिम टुंगो लाग्न बाँकी छ’, ती नेताले नेपाल प्रेससँग भने ।

प्रतिनिधिसभा र प्रदेशसभामा पनि गठबन्धन

राष्ट्रियसभा निर्वाचनलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त सदस्यको पदपूर्तिका लागि उपनिर्वाचन हुँदैछ । माओवादी छाडेर एमाले भएका नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको रिक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको छ । त्यस्तै प्रदेशसभाका विभिन्न १८ क्षेत्रमा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ । प्रतिनिधिसभाका चारमध्ये कम्तीमा २ सिटमा कांग्रेसको दाबी छ ।

प्रारम्भिक छलफलमा कैलाली ३ र ४ मध्ये एकमा कांग्रेसको दाबी छ । त्यस्तै अर्घाखाँचीमा भने माओवादी र कांग्रेस दुवैको दाबी यथावत छ । रौतहटमा एकीकृत समाजवादी र जसपाको समेत दावी रहेको छ । ‘उपनिर्वाचनमा तालमेल हुने चै पक्का हो तर कुन सिट कसले लिने भन्नेमा राष्ट्रियसभा निर्वाचनकै दौरान सहमति बन्छ होला’, कांग्रेसका एक नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर