‘मूभी हब’को यात्रामा चितवन – Nepal Press

‘मूभी हब’को यात्रामा चितवन

चितवन । भरतपुर–१२ का निगम श्रेष्ठ चलचित्र निर्देशक हुन् । उनले छड्के, लालपुर्जा जस्ता चलचित्र निर्देशन गरेका छन् । ‘लुट’मा उनी मुख्य सहायक निर्देशक थिए ।

उनले फरक शैलीका चलचित्रमा मिहेनत गरे । सन् २००८ मा फिल्मसम्बन्धी पढ्न भारत जाने तयारीमा थिए । पछि काठमाडौंमै अस्कार कलेजमा फिल्म स्क्रिप्ट राइटिङमा ब्याचलर गरे । अनि उनीसहितका तीनजनाले भरतपुरमा निर्भाना फिल्म स्कुल चलाएका छन् । अहिले यहाँ १५ जनाले प्रशिक्षण लिइरहेका छन् ।

‘घर नजिकै बसेर फिल्मसम्बन्धी कोर्स पढ्न सहज होस् भनेरै स्कुलमा लगानी ग¥यौं’, निगम भन्छन्, ‘पढ्न अब कोही विदेशीन नपरोस् ।’
यहाँ एक वर्षे कोर्स ९६ हजारमा पढ्न पाउनेछन् । अभिनय र निर्देशनको कक्षा निगम स्वयमले लिन्छन३ । छायाँकन, सम्पादन, अभिनय र निर्देशनका कक्षाबाट दक्ष कलाकार बनाउन उनी सक्रिय छन् ।

‘फिचर फिल्म बनाउन चाहिने सबै उपकरणहरु छन्’, उनी भन्छन्, ‘राष्ट्रियस्तरका कलाकार र फिल्म मेकर बनाउने चितवन भनेर चिनाउने रहर छ ।’

नेपालमा निर्माण हुने धेरैजसो फिल्मका आंंशिक तथा पूर्ण दृश्यहरु चितवनमै सुटिङ हुँदै आएका छन् । सफल निर्देशक स्वर्गीय शिव रेग्मी, नायकहरु सरोज खनाल, गणेश उप्रेती, नायिकाहरु मौसमी मल्ल, वेनिशा हमाल, विनिता बराल चितवनकै हुन् । पुष्प आचार्य, ऋद्धिचरण श्रेष्ठलगायतका कलाकार फिल्महरुमा चरित्र पात्रका रुपमा देखिँदै आएका छन् । तर, चितवनले पछिल्लो पुस्तालाई फिल्म क्षेत्रमा स्थापित भएको देख्न पाएको छैन ।

चितवनलाई पहिले ७६ औँ जिल्ला मानिन्थ्यो । अहिले ७८ औँ जिल्ला भनेर चिनिन्छ । देशकै मध्यभागमा पर्ने भएकाले चितवन अन्यत्रबाट बसाई सरेर आउनेहरुको प्रमुख थलो पनि हो । सबै रहनसहन, संस्कृति चितवनमै पाइन्छ ।

टलल्क टल्किने हिमाल होस् या सूर्यास्तको मधुरो प्रकाश चितवनले दिनसक्छ । अतिविकट बस्ती हुन् या अतिसुगम बजार सबै चितवनमै छन् । मेडिकल सिटीको चर्चा पाएको चितवन अब फिल्म सिटी बन्ने दौडमा होमिँदैछ । तर, त्यसका लागि आवश्यक स्टुडियो, पूर्वाधार, बजेट, जनशक्ति उत्पादन कसरी बढाउने भन्ने प्रश्न अनुत्तरित छन् । कलाकार जन्माउने पुरानो थलो नारायणी कला मन्दिर बाहेकका अन्य उल्लेख्य पूर्वाधारको अभाव छ ।

‘हरेक वर्ष कम्तिमा ३ फिल्म चितवनमै बनुन्’, निगम भन्छन्, ‘अधिकांश कलाकार यहीँका परुन््, कलाकार पाइने जिल्ला बनोस् ।’ करिब ८ वर्षपछि निगमले ‘छड्के–२’ फिल्म बनाउँदैछन् ।

‘माघदेखि सुटिङ सुरु गर्नेछौैं’, उनले भने, ‘‘धेरै कलाकार चितवनकै हुनेछन् ।’ छड्के चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, दयाहाङ राई, विपिन कार्कीलगायतको मुख्य अभिनय थियो । ‘छड्के २ सिक्वयल मुभी होइन, कथा र पात्रहरु फरक हुनेछन्’, उनी भन्छन्, ‘केही पुराना कलाकारहरु दोहोरिनेछन्, अरु चरित्रअनुसार छनोट गर्नेछौँ ।’

रामपुर क्याम्पस खैरहनीमा पशु प्रजनन् तथा अनुवंश विज्ञान प्राध्यापन गर्ने सूर्यप्रसाद शर्मा भट्ट पनि नवप्रवेशी कलाकार हुन् । उनी यसअघि ‘ग्रीन बर्ड’ फिल्ममा प्रोफेसरको भूमिकामा थिए । ‘चितवनमै छायांकन हुने केही चलचित्रमा अवसर पाउँदा खुशी छु ।’

भरतपुरकै रेशा आले मगर पनि नवप्रवेशी कलाकार हुन३ । बालकुमारी कलेजमा बिबिएस पढ्दै गरेकी उनी काठमाडौंमै एक महिना अभिनयसम्बन्धी वर्कसपमा सहभागी भइन् । कला देखाउने अवसर पाएकीमा उनी पनि खुसी छिन् ।

धनगढीका राजेन्द्र सापकोटाले नोभेम्बर रेन, मेरो लभ स्टोरीलगायतका फिल्ममा छायांकनको काम गरे । कैयन म्यूजिक भिडियो पनि खिचे । मोसन पिक्चर फोटोग्राफि (सिनेमाटोग्राफी) मा व्याचलर गरेका उनी चितवनको सौन्दर्यता देखेर दंग पर्छन् । ‘मेची–महाकाली घुमेँ, कैयन ट्राभल डकुमेण्ट्री पनि बनाएँ’, उनी भन्छन्, ‘चितवन सौन्दर्यमा धनी छ, यो मूभिको हब बन्न सक्छ ।’

कुनै समय भगवानदास श्रेष्ठ, रामप्रसाद श्रेष्ठले चितवनबाटै सफल चलचित्र बनाए। केही समयअघि सुविन भट्टराईको उपन्यास समर लभमा आधारित चलचित्र समर लभ र साली कसको भेनाको चितवनबाटै निर्माण तथा छायाँकन भएको चलचित्र हो।


प्रतिक्रिया

One thought on “‘मूभी हब’को यात्रामा चितवन

  1. निगम सरको सपना एक दिन साकार हुनेछ ।
    चितवन फेरि चलचित्रकर्मीहरुको जिल्ला बन्नेछ ।
    र विगतमा जस्तै स्तरीय चलचित्रहरु निर्माण हुनेछ ।
    #निर्वाणा फिल्म स्कुल #💪

Leave a Reply

Your email address will not be published. Required fields are marked *