कोरोनाले बेसहारा बनाएकालाई समाजिक सुरक्षा कोषको छहारी – Nepal Press

कोरोनाले बेसहारा बनाएकालाई समाजिक सुरक्षा कोषको छहारी

१३ परिवारले मासिक पेन्सन पाउन थाले, २१ परिवार प्रक्रियामा

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका–१४ का उपेन्द्र भट्टराई लक्ष्मी लघुवित्त वित्तिय संस्थामा कार्यरत थिए । उनलाई गत भदौ २२ गते कोरोना संक्रमण भयो ।

केही समय घरमा बसेर उपचार गर्दै आएका भट्टराईलाई गत भदौ २५ गते राति एक्कासी गाह्रो भयो । त्यसपछि उनी कोशी अस्पताल भर्ना भए । तर, भर्ना भएको करिव १० दिनमा नै गत असोज पाँच गते सोही अस्पतालमा उनको मृत्यु भयो ।

३० वर्षका उपेन्द्र अविवाहित नै थिए । उनको परिवारमा बुवा कान कम सुन्ने र आमा हिँडडुल गर्न नसक्ने अशक्त अवस्थामा छिन् । लघुवित्तले क्षतिपूर्तिस्वरुप केही रकम उपलब्ध गराउने भए पनि त्यसले जीवनभर उनीहरुको भरणपोषण सम्भव थिएन । तर, भट्टराई सामाजिक सुरक्षामा आवद्ध भएको हुँदा उनका आमाबाबुले आजीवन पेन्सन पाउने भएका छन् ।

उपेन्द्रका ६३ वर्षका बुवा र ५८ वर्षकी आमाले छोराको मृत्यु भएको एक महिनामा नै कात्तिक १० गते सामाजिक सुरक्षा कोषको कार्यालयमा बबरमहलमा पुगेर सामाजिक सुरक्षा योजना सुविधा भुक्तानीसम्बन्धी सम्झौता गरेका थिए । कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली र बुवा देवराज भट्टराईको संयुक्त हस्ताक्षरमा सम्झौता भएको हो । सम्झौता भएकै दिन कोषले अनलाइन बैंकिङ प्रणालीमार्फत उपेन्द्रले खाइपाई आएको तलबको ६० प्रतिशत हुने गरी मासिक १६ हजार एक सय ९१ रुपैयाँ ६१ पैसा मृतकका बुवाको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा जम्मा गरेको थियो ।

उपेन्द्रले तीन महिनामा जम्मा ३० हजार नौ सय ४९ रुपैयाँ ६१ पैसा कोषमा योगदान गरेका थिए । उनको मृत्यु भएसँगै कोषले उनले जम्मा गरेको सबै रकम पनि फिर्ता गरेको छ । साथै, अन्तिम संस्कार स्वरुप २५ हजार रुपैयाँ मृतकका बाबुको खातामा जम्मा गरिसकेको छ ।

मासिक रुपमा पेन्सन पाउने भएपछि उपेन्द्रका आमाबुवाको मनमा लागेको घाउमा थोरै भए पनि मलमपट्टी लागेको छ । उपेन्द्रका बुवा देवराज भट्टराइले नेपाल प्रेससँग भने, ‘छोरो भएको भए हामीलाई पाल्ने थियो । हामीलाई ठूलो मर्का परेको छ । तर, सरकारले साह्रै राम्रो गरेको छ । हामीलाई परेको पीर मर्का थोरै भए पनि कम बनाएको छ ।’

भट्टराई दम्पत्तिका उपेन्द्र एक्लो छोरा हुन् । उनकी आमाले रुँदै नेपाल प्रेससँग भनिन्, ‘हामी आमाबाबुको भरोसा उही थियो । खेतीकिसानीको कमाइले हामीलाई गुजारा चलाउन गाह्रो पर्छ । तर महिनैपिच्छे पेन्सन आउने भएपछि हामीलाई धेरै राहत मिलेको छ ।’

०००

किर्तिपुर नगरपालिका ३ काठमाडौंका ४९ वर्षका बिरेन्द्र क्षेत्री चुच्चेपाटीमा रहेको पाँचतारे होटल हायातमा २१ वर्षदेखि इन्जिनियरिङ विभागमा काम गरिरहेका थिए । गत वैशाखमा होटलमा आएका भारतीयबाट त्यहाँका कर्मचारीमा कोरोना सर्‍याे । क्षेत्रीलाई पनि ज्वरो र रुघाखोकीले समात्यो ।

सुरुमा परिवारले सामान्य औषधी उपचार गरेर राखे । निको नभएपछि घरमै स्वास्थ्यकर्मी बोलाएर पीसीआर परिक्षण गराइयो । परिक्षण गर्दा उनलाई २०७८ बैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भयो ।

कोरोना पुष्टि भए पनि सुरुमा बिरेन्द्रको अवस्था जटिल नभएकाले परिवारले केही दिन घरमै राखे । तर बिस्तारै अक्सिजनको मात्रा घट्न थालेपछि गंगलाल हृदयरोग केन्द्रमा भर्ना गरियो । तर, उपचारकै क्रममा असार ११ गते उनको मृत्यु भयो । पाँचतारे होटल भए पनि २१ वर्षदेखि काम गरेका बिरेन्द्रका परिवारलाई होटलले समवेदनाबाहेक केही पनि दिएन ।

होटलमा काम गरेर परिवार पालिरहेका बिरेन्द्रको एक्कासी मृत्यु भएपछि परिवार सहाराविहिन हुन पुग्यो । श्रीमती रुवी आफै केही वर्ष पहिले पाँचतारे होटल र्याडिसनमा काम गर्दै आएको भए पनि उनलाई ६ वर्षअघि ब्लड क्यान्सर भएपछि जागिर छुट्यो । रुवीसँगै २० वर्षका र १३ वर्षका छोरा बेसहरा भए ।

भाग्यवस दुई वर्षअघि होटलले विरेन्द्रलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको थियो । पछिल्लो समयमा उनले मासिक आधारभूत पारिश्रमिक २० हजार ६ सय ५९ रुपैयाँ ५१ पैसा पाउँदै आएका थिए । त्यसअनुसार आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुन आउने मासिक १२ हजार तीन सय ९५ रुपैयाँ ७६ पैसा विरेन्द्रकी श्रीमती रुवीले साउन महिनादेखि नै पाउन थालेकी छन् । बिरेन्द्रले पाइरहेको आधारभूत तलबको ४० प्रतिशतले हुन आउने मासिक आठ हजार दुई सय ६३ रुपैयाँ ८४ पैसा १३ वर्षका छोरा आशुतोष क्षेत्रीले पनि पाउँदै आएका छन् । उनले १८ वर्षसम्म अहिले पाइरहेको रकम अनिवार्यरूपमा र अध्ययनलाई निरन्तरता दिइरहेमा २१ वर्षसम्म पाइरहने छन् ।

बिरेन्द्रकी पत्नी रुबीले नेपाल प्रेससँग कुराकानी गर्दै भनिन्, ‘ठूलो होटलमा काम गरेको भनेर के गर्नु अहिलेसम्म कुनै पनि सहयोग तथा राहत दिएको छैन । सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको भए त हाम्रो बिजोकै हुन्थ्यो । यसले हामीलाई बिचल्ली हुनबाट जोगाएको छ ।’

०००

बेलवारी नगरपालिकाचार मोरङका ३९ वर्षीय ज्ञानेन्द्र अधिकारी स्थानीय सुकुना बहुमुखी क्याम्पसमा विज्ञान संकायमा अध्यापन गराउँदै आएका थिए । उनलाई गत साउन ७ गते कोरोना संक्रमण पुष्टि भयो । सोही क्याम्पसमा कार्यरत हर्क गुरुङको कोरोना संक्रमणबाट मृत्यु भइसकेको थियो ।

ज्ञानेन्द्रलाई १० दिन घरमा राखेर औषधी उपचार गर्दा निको नभएपछि परिवारले कोशी अस्पताल पुर्‍यायो । तर, अस्पताल पुर्‍याएको १० दिनमा अर्थात कोरोना संक्रमण भएको करिब एक महिना पुग्नैलाग्दा भदौ ५ गते ज्ञानेन्द्रको पनि मृत्यु भयो । मृत्यु भएपछि क्याम्पसले सञ्चय कोषमा जम्मा भएको रकम बाहेक अरु केही पनि राहत दिएन ।

गत बैशाख महिनादेखि मात्रै सो क्याम्पस सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा ज्ञानेन्द्रको परिवारको आर्थिक संकट आंशिक हल भएको छ । उनकी २६ वर्षीया पत्नी सृजना खत्रीले मासिक पेन्सन पाउन थालेकी छन् । ज्ञानेन्द्रले खाइपाई आएको आधारभूत पारिश्रमिक २० हजार चार सय ६८ रुपैयाँको ६० प्रतिशतले हुन आउने १२ हजार दुई सय ८० रुपैयाँ ८० पैसा मासिकरुपमा उनको श्रीमती सृजनाले असोज महिनाबाट पाउन थालेकी छन् ।

यति मात्र होइन, ज्ञानेन्द्रका ६ वर्षका छोरा मनिष अधिकारीले बुवाले खाइपाइ आएको आधारभूत तलबको ४० प्रतिशत अर्थात आठ हजार एक सय ८७ रुपैयाँ २० पैसा असोज महिनाबाट पाइरहेका छन् ।

ज्ञानेन्द्रले गत बैशाख महिनादेखि भदौ महिनासम्म गरेर बृद्धावस्था सुरक्षा योजना अन्तरगत ११ हजार पाँच सय ९७ रुपैयाँ २९ पैसा जम्मा गरेका थिए । उनको जम्मा भएको सबै रकम र २५ हजार रुपैयाँ अन्तिम संस्कार खर्च पनि सामाजिक सुरक्षा कोषले उनको परिवारलाई उपलब्ध गराइसकेको छ ।

श्रीमानको मृत्यु भएसँगै मानसिक र आर्थिक समस्याले एकैपटक सताउन थालेपछि सृजना तनावमा थिइन् । सामाजिक सुरक्षा कोषबाट पेन्सन आउन थालेपछि उनलाई मानसिक समस्याले नछोडे पनि आर्थिक समस्यामा भने राहत मिलेको छ ।

उनले नेपाल प्रेससँग भनिन्, ‘उहाँ नै घरको एक्लो खम्बा हुनुहुन्थ्यो । उहाँले नै छोडेर गएपछि हामी आमाछोराको विचल्ली हुने नै भयो । सामाजिक सुरक्षा कोषमा जोडिएकाले आर्थिक समस्यामा चाहिँ केही राहत मिलेको छ ।’

कोषमा आवद्ध ३४ जनाको कोरोनाबाट मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणबाट २०७६ चैतयता डेढ वर्षको अवधिमा ११ हजार चार सय ४८ जनाले ज्यान गुमाइसकेका छन् । उनीहरुमध्ये ३४ जना श्रमिक मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध थिए । तीमध्ये १३ जनाका परिवारले आश्रित परिवार सुरक्षा योजना अन्तरगत पेन्सन पाउन थालेका छन् ।

थप २१ जना पाउने प्रक्रियामा रहेका कोषका सूचना अधिकारीसमेत रहेका निर्देशक डा. रोशन कोजुले बताए । कतिपय जानकारी अभावले कोषको सम्पर्कमा नआएको हुनसक्ने उनको भनाइ छ ।

सामाजिक सुरक्षा कोषका अनुसार आश्रित परिवार सुरक्षा योजनामा अहिलेसम्म सात करोड ७९ लाख २१ हजार दुइ सय ९२ रुपैयाँ ५० पैसा जम्मा भइसकेको छ । हालसम्म यस योजनामार्फत एक सय नौ जनाले दाबी भुक्तानी लिइसकेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘कोषले प्रदान गर्ने विभिन्न किसिमका सुरक्षा योजनाअन्तर्गत आश्रित परिवार सुरक्षा योजनामा मात्र अहिलेसम्म कोषले मासिक १४ लाख रुपैयाँ पेन्सनको रूपमा वितरण गरिरहेको छ ।’

के-के छन् सुविधा ?

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ अनुसार आश्रित परिवार सुरक्षा योजना अन्तरगतको सुबिधा योगदान सुरु गरेकै मितिबाट लागु हुन्छ । पति वा पत्नी वा नभएमा, बाबुआमाले योगदानकर्ताको आधारभुत पारिश्रमिकको ६० प्रतिशत आजिवन आश्रित पेन्सन पाउँछन् । तर, आश्रितले दोस्रो बिहे गरेमा वा बैकल्पिक रोजगार भएमा यो सुबिधा पाउने छैनन् । आश्रितको रोजगारी समाप्त भै पेन्सन प्राप्त गर्ने अवस्था नरहेमा भने निवेदन दिई यो सुबिधा दाबी गर्न सकिन्छ ।

छोराछोरीले १८ वर्षको उमेरसम्म आधारभुत पारिश्रमिकको ४० प्रतिशत शैक्षिक सन्ततिवृत्ति । पढाई निरन्तर भएमा २१ वर्षसम्म यस्तो सुविधा दिइन्छ ।

एक बच्चा भएमा आधारभूत पारिश्रमिकको ४० प्रतिशत र एक भन्दा बढी बच्चा भएमा दुई सन्तानसम्मलाई दामासाहीरुपमा शैक्षिक सन्ततिवृत्ति दिइने छ । पढाई निरन्तर रहेको अवस्थामा २१ वर्षसम्म, अन्यथा १८ वर्षसम्म सन्ततिवृत्ति पाइने छ ।

शारीरिक र मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेरको हद लागु हुने छैन । कार्यविधि अनुसार मृतकका परिवारले अन्तिम संस्कार खर्चबापत एकमुष्ट २५ हजार रुपैयाँ पाउँछन् ।

छोटो समयमा पेन्सन पाउनेको संख्या बढेको कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताए । ज्ञवालीका अनुसार कोषमा आवद्ध भएकामध्ये एक सय १२ जनाको असामयिक निधन भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर