ट्वान्टी-२० विश्वकपः समूह चरणसम्म बल र ब्याटमा को–को चम्किए ? – Nepal Press

ट्वान्टी-२० विश्वकपः समूह चरणसम्म बल र ब्याटमा को–को चम्किए ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि सरेको आईसीसी ट्वान्टी–२० विश्वकप युएईमा जारीमा छ । सुपर–१२ का खेलहरुको समाप्तीसँगै आजदेखि सेमिफाइनल चरणका खेलहरु शुरु हुँदैछन् । इङ्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड र पाकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन् । आज हुने पहिलो सेमिफाइनलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड आमने सामने हुँदैछन् ।

यो विश्वकप भारतमा हुनुपर्ने थियो । कोरोनाकै कारण मध्यपूर्वमा सारिएको हो । भारतमै भएको भए घरेलु मैदानमा भारतको प्रदर्शन पनि सेमिफाइनल नै नपुगी घर फर्किनुभन्दा फरक हुनसक्थ्यो ।

साविक विजतो वेस्ट–इन्डिजले पनि अन्तिम चारमा स्थान बनाउन नसक्दा एकदिवसीय विश्व कपमा विजेता/उपविजेता नै अन्तिम चारमा छन् । यीसँगै पाकिस्तान र अस्ट्रेलियालेसमेत सेमिफाइनल यात्रा तय गर्दा अन्य १२ टोली घर फर्किएका छन् ।

प्रतियोगिता अब नक आउटमा पुगिसक्दा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीको सूची यस्तो छ ।

सर्वाधिक रन बनाउने खेलाडी

१. बाबर आजम (पाकिस्तान)
पाकिस्तानलाई सन् २००९ पछि पहिलो पटक फाइनलमा पु¥याउन कप्तान बाबर आजमले महत्त्वपूर्ण भूमिका निर्बाह गरेका छन् । कप्तानी भूमिकासँगै ओपनिङ ब्याट्सम्यानको रुपमा पनि पाकिस्तानका लागि बाबर प्रतियोगिता अगाडि बढ्दै जाँदा अझै महत्त्वपूर्ण भइरहेका छन् । जारी विश्व कपमा पाँच इनिङ ब्याटिङ गरेका आजमले एकै खेलमा सर्वाधिक ७० सहित २ सय ६४ रन बनाइसकेका छन् । यस क्रममा उनले चार अर्धशतक बनाउन २३ चौका र पाँच ६ छक्का प्रहार गरेका छन् ।

२. जस बटलर (इङ्ल्यान्ड)
महत्त्वपूर्ण अलराउन्डर बेन स्टोक्स बिना विश्वकप खेलिरहेको इङ्ल्यान्डले उनलाई खासै ‘मिस’ गर्नुपरेको छैन । त्यसको कारण ब्याटिङतर्फ बटलरको भूमिका पनि हो । इङ्ल्यान्डका लागि जारी विश्व कपमा बटलरले खेलेका पाँच खेलमा एक शतकसहित २ सय ४० रन बनाइसकेका छन् । जारी प्रतियोगितामा १ शतक र १ अर्धशतक बनाएका बटलरले १८ चौका र १३ छक्का प्रहार गरेका छन् ।

३. चरिथ असालन्का (श्रीलंका)
श्रीलंकाले प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसके पनि असालन्काको व्यक्तिगत प्रदर्शन भने राम्रो रह्यो । समूह ‘१’मा परेको श्रीलंकाले पाँचमध्ये दुई खेलमा मात्रै जित निकाल्दा आसलन्काले ६ इनिङमा २ सय ३१ रन बनाएका छन् । उनले दुई अर्धशतक बनाउदै २३ चौका र ९ छक्कासमेत प्रहार गरेका छन् ।

४. डेभिड विसे (नामिबिया)
विश्व क्रिकेटका पावर हाउसको बीचमा रुमलिएको नामिबियाका लागि विसेको प्रदर्शन महत्त्वपूर्ण रह्यो । प्रतियोगिताबाट बाहिरिसके पनि विसेले भने व्यक्तिगत प्रदर्शन राम्रो गरे । नामिबियाबाट खेलेका ८ इनिङमा २ सय २७ रन जोडेका विसेले १ अर्धशतकसहित १३ चौका र ११ छक्का प्रहार गरेका थिए ।

५. पाथुम निस्सान्का (श्रीलंका)
श्रीलंकाली टोलीका दोस्रो सर्वाधिक रन बनाउने खेलाडी पाथुम समग्र प्रतियोगिताका पाँचौं सफल ब्याटर हुन् । ८ इनिङ ब्याटिङ गरेका उनले तीन अर्धशतकसहित १९ चौका र पाँच छक्का प्रहार गरेका थिए । तीमध्ये एक इनिङमा पाथुम शून्यमा पेभेलियन फर्केका थिए ।

सर्वाधिक विकेट टेकर

१. वानिन्दु हसारङ्गा डी सिल्भा (श्रीलंका)
तुलनात्मक रुपमा अन्य टोलीभन्दा धेरै खेल खेलेको श्रीलंकाली टोलीका बलर डी सिल्भाले ८ इनिङमा सर्वाधिक १६ विकेट लिएका छन् । ५.२० को इकोनोमीमा बलिङ गरेका डी सिल्भाले कूल ३० ओभर बलिङ गरेका थिए ।

२. आडम जाम्पा (अस्ट्रेलिया)
अस्ट्रेलियन टोलीका भरपर्दा स्पिनर जाम्पाको यो प्रतियोगिताका दोस्रो सर्वाधिक विकेट टेकर हुन् । पाँच इनिङमा ११ विकेट लिएका जाम्पाले यो संख्या अझै बढाउन सक्छन् । १९ ओभर बलिङ गरेका जाम्पाले ५.७३ को इकोनोमीमा बलिङ गरिरहेका छन् ।

३. ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)
जारी टी–२० विश्व कपको सुपर–१२ मा पाकिस्तान, भारत र अफगानिस्तान जस्ता टोलीको माझबाट शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्नु न्युजिल्यान्डका लागि कम चुनौती थिएन । तर, ब्याटिङ–बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्यान्डका लागि बलिङतर्फ बोल्टको प्रदर्शन महत्वपूर्ण रह्यो । पाँच इनिङमा १९.४ बलिङ गरेका बोल्टले हालसम्म ११ विकेट लिइसकेका छन् । उनको बलिङ इकोनोमी ५.८४ को छ ।

४. शकिब अल हसन (बंगलादेश)
बंगलादेशका लागि प्रतियोगिता सुखद् रहेन । सुपर–१२ मा समूह ‘१’मा परेको बंगलादेश जितविहीन रहँदै घर फर्कियो । यद्यपि, शकिब अल हसनले भने प्रतियोगितामा चौथो सर्वाधिक विकेट लिएका छन् । कूल ६ इनिङमा २२ ओभर बलिङ गरेका हसनले ५.५९ को इकोनोमी राख्दै ११ विकेट लिएका छन् ।

५. ड्वेन प्रेटोरियुस
चर्चित बलरहरुको बाहुल्य रहेको दक्षिण अफ्रिकी टोलीबाट सर्वाधिक विकेट टेकर बने ड्वेन । दक्षिण अफ्रिकी टोलीबाट पाँच इनिङ खेलेका ड्वेनले कूल १४.४ ओभर बलिङ गर्दै ६.८८ को इकोनोमीसहित ९ विकेट लिएका छन् । उनको टोली दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिसकेकाले उनले यो संख्या बढाउने सम्भावना पनि समाप्त भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *