मन्त्रालय र सरकारको कामको गतिलाई सयको गतिमा तिव्रता दिन श्रममन्त्री श्रेष्ठको निर्देशन – Nepal Press

मन्त्रालय र सरकारको कामको गतिलाई सयको गतिमा तिव्रता दिन श्रममन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अब कामको गतिलाई तीव्रता दिन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले निर्देशन दिदैँ भने, ‘मन्त्रालय र सरकारको कामको गतिलाई सयको गतिमा लिनुपर्यो । अब एक सयको गतिमा दौडिन आवश्यक छ। सरकारले कामको गति बढाउनुपर्छ ।’

मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेको ठिक एक महिना पुरा भएको दिन पार्दै आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा उनले भने, ‘म मन्त्रीमा नियुक्त भएको पनि ठिक एक महिना भयो । यसबीचमा दसैँ तिहारले काम गर्न पाइएन, अब गति बढाउने हो ।’

मन्त्री श्रेष्ठले सुरुमा श्रम मन्त्रालयको जिम्मेवारी पाउँदा नबुझेर केही अलमल भए पनि आफूले श्रम मन्त्रालयको महत्व बुझेकाले अब तीव्र गतिमा काम अघि बढाउने प्रतिवद्धता जनाए । उनले भने, ‘आठ खर्ब भन्दा बढी विप्रेषण भित्र्याएर देश सञ्चालन गर्ने मन्त्रालय श्रम मन्त्रालय हो । त्यसैले यसको महत्व मैले बुझिसकेको छु । कोरोना कहर र राजनीतिक समस्याबीच पनि मन्त्रालयले उल्लेख्य प्रगति गरेकोमा खुसी व्यक्त गर्न चाहान्छु ।’

मन्त्रालयमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बुटवल र हेटौँडास्थित श्रम कार्यालयलाई व्यवस्थित गर्नुपर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिदै भने, ‘बुटवलमा सिंहदरबार जत्रो भवन रहेछ । तर श्रम कार्यालय भाडामा सञ्चालन छ । कार्यालय व्यवस्थापनका लागि मैले आवश्यक काम गर्नेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर