मुख्यमन्त्री राई भन्छन् – पहिचानको आधारमा प्रदेश १ को नामाकरण – Nepal Press

मुख्यमन्त्री राई भन्छन् – पहिचानको आधारमा प्रदेश १ को नामाकरण

संखुवासभा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा हुने बताएका हुन् ।

अब चाडै नै नामाकरणका बारे छलफल थालिने उनको भनाइ छ । नामाकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने राईले बताए । ‘नामाकरणका लागि प्रतिपक्षी दल एमालेसँग समेत छलफल गर्छौं’, मुख्यमन्त्री राईले भने । प्रदेश १ को नामाकरण पहिचानका आधारमा हुन सक्ने समेत उनको भनाइ छ ।

प्रदेशको नामाकरण बहुपहिचानको आधारमा सहमतिबाट टुङ्गो लगाउने बारे दलका प्रमुखसँग छलफल थाल्ने राईले बताएका छन् । विगतका सरकारले संसदमा छलफल, प्रयास नगरेका कारण प्रदेशको नामाकरण अहिले सम्म हुन नसकेको उनले आरोप छ ।

अरुण नदीमा पक्की पुल बन्छ

मुख्यमन्त्री राईले भोजपुर-संखुवासभा जोड्ने अरुण नदीमा पक्की पुल पनि आफ्नै कार्यकालमा पूरा गर्ने आश्वासन दिएका छन् । भोजपुरको षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण हुन नसकेकोमा उनले दु:ख व्यक्त गरे । आफ्नै कार्यकालमा अरुण नदीमा पक्की पुलको निर्माण गराउनेमा ढुक्क हुन जिल्लाबासीमा उनको आग्रह छ ।

संघीय सरकारको योजनामा १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल ठेकेदारको लापरवाहीले अहिलेसम्म बनेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर