श्रममन्त्री श्रेष्ठको पहिलो महिनाको तलब तनहुँका आमा समूहलाई – Nepal Press

श्रममन्त्री श्रेष्ठको पहिलो महिनाको तलब तनहुँका आमा समूहलाई

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले पहिलो महिनाको पारिश्रमिक तनहुँक दुई आमा समूहलाई हस्तान्तरण गरेका छन् । उनले सोमबार तनहुँमा आयोजित एक कार्यक्रममा व्यास नगरपालिका–११ स्थित मिलनशील आमा समूह र डाँडागाउँ आमा समूहका अध्यक्षलाई ५०-५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै श्रेष्ठले तलबभत्ता बापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएका छन् । ‘निर्वाचनमा उम्मेदवार हुँदा नै मैले तलबभत्ता लिन्न भनेर घोषणा गरेको हो । त्यहि घोषणा अनुसार नै मैले तलबभत्ता सहयोग गर्दै आएको छु ।’ मन्त्री श्रेष्ठले भने ।

प्रतिनिधिसभाका सदस्यसमेत रहेका श्रेष्ठले जिल्लास्थित विभिन्न खानेपानी, युवा क्लव, आमा समह, विद्यालय लगायतलाई तलबभत्ता बापतको रकम सहयोग गर्दै आएका छन् । साथै उनले मिर्गौला पीडित, क्यान्सर पीडितलाई पनि तलबबापतको रकम सहयोग गर्दै आएको मन्त्री श्रेष्ठका स्वकीय सचिव जगतबहादुर खड्काले नेपाल प्रेसलाइ जानकारी दिए ।

नेपाल सरकारको मन्त्रीले चालु आर्थिक वर्षदेखि प्रतिमहिना ७२ हजार सात सय ३० रुपैयाँ मासिक तलब प्राप्त गर्दै आएका छन् । उक्त तलबमा अन्य सेवा सुविधाबाफत प्राप्त गर्रे रकम भने जोडिएको छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर