नेपालमा सूर्यवंशीको ‘ब्लकबस्टर’ ओपनिङ, तीन दिनमै २ करोडमाथि कमाइको प्रक्षेपण – Nepal Press
बक्सअफिस

नेपालमा सूर्यवंशीको ‘ब्लकबस्टर’ ओपनिङ, तीन दिनमै २ करोडमाथि कमाइको प्रक्षेपण

भारतमा पहिलो दिनमै २६.२९ करोड

काठमाडौं । अक्षयकुमार-कट्रिना क्याफ स्टारर ‘सूर्यवंशी’ले नेपाल र भारतीय बक्सअफिसमा ‘ब्लकबस्टर’ ओपनिङ गरेको छ ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो दिन शुक्रबार भारतमा २६.२९ करोड कमाइ गरेको छ । यो कमाइसँगै ‘सूर्यवंशी’ अक्षयकुमारको दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ ।

यसअघि अक्षयको ‘मिसन मंगल’ले २९.१६ करोड कमाएको छ । कोभिड-१९ महामारीपछि लयमा फर्कन संघर्ष गरिरहेको भारतीय फिल्म बजारमा यो कमाइ अपेक्षित नरहेको व्यापार समीक्षकले जनाएका छन् ।

भारतको महाराष्ट्रमा अहिले पनि ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न प्रशासनले अनुमति दिएको छ । सूर्यवंशीको उक्त भारतीय कलेक्सनको ५० प्रतिशत हिस्सा महाराष्ट्र राज्यको छ । २० प्रतिशत कलेक्सन चाहिँ कोभिड-प्रोटोकल (५० प्रतिशत अकुपेन्सी)ले रोकिएको छ ।

नेपाली बक्सअफिमा समेत उछाल

कोरोना महामारीको कारण झन्डै २० महीनापछि हल खुलेपछि उछाल कमाइ गर्ने पहिलो फिल्म बनेको छ ‘सूर्यवंशी’ । बहुप्रतीक्षित फिल्म र तिहारको बिदाको कारण रिलिजको पहिलो दिन शुक्रबार नेपाली बक्सअफिसमा दर्शकको घुइँचो लाग्यो ।

नेपालका सय हलबाट रिलिज भएको ‘सूर्यवंशी’को ओपनिङ अकुपेन्सी ७० देखि ८० प्रतिशत थियो । नेपाली प्रशासनले हलहरुलाई ५० प्रतिशत अकुपेन्सीमा खुलाउन अनुमति दिएका छन् । शनिबार भाइटीकाको दिनमा समेत अपरान्हको सोजहरु हाउसफूल छन् ।

नेपालमा रिलिजको पहिलो दिनमा फिल्मले लगभग ७० देखि ८० लाखको बीचमा कमाइ गरेको अनुमान गरिएको छ । शनिबार पनि ‘सूर्यवंशी’को नेपाल कमाइ यही अनुपातमा रहनेछ । पहिलो सप्ताहन्त फिल्मले नेपाली बक्सअफिसमा २ करोड ग्रसको बिन्दू पार गर्न सक्ने आंकलन छ ।

वितरक व्यांकटेस फिल्मले आगामी साता सूर्यवंशीको नेपाल कमाइको आधिकारिक कारोबार सार्वजनिक गर्ने भएको छ । वितरक मनोज राठीले पहिलो सप्ताहन्त सकिएपछि कमाइ सार्वजनिक हुने जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर