एमसीसी पास हुनुपर्छ भनेर देउवाजी र मैले अमेरिकालाई पत्र लेखेका छैनौं : प्रचण्ड – Nepal Press

एमसीसी पास हुनुपर्छ भनेर देउवाजी र मैले अमेरिकालाई पत्र लेखेका छैनौं : प्रचण्ड

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी अनुदान सम्झौता (एमसीसी) पास गर्नुपर्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवा र आफूले अमेरिकालाई पत्र नलेखेको प्रष्ट पारेका छन् । बरु, राष्ट्रिय सहमती जुटाएर सम्झौता अनुमोदनमा प्रयत्न गर्ने आफूहरुले अमेरिकालाई बताएको दाहालले बताए ।

कोप–२६ सम्मेलनमा भाग लिएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनबीच सहमती जुटाएर मात्र एमसीसी पास गर्ने बताएका थिए । सहमती जुटाउनेबारे प्रचण्ड र अमेरिकालाई पत्र लेखेको उनले बताएका थिए । तर, केही मिडियामा चाहिँ एमसीसी पास गर्न देउवा र प्रचण्डले चिठी लेखेको आशयको समाचार आएको थियो । यो समाचारलाई सोही दिन प्रधानमन्त्री देउवाले खण्डन गरेको निकट स्रोतले जनाएको छ ।

शुक्रबार ललितपुर खुमलटारस्थित देउसीभैलो टोलीलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्ने बताए ।

‘देशमा सबै दलहरुसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाइ हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ भन्ने उपाय निकाल्छौं भनेर लेखिएको चिठी हो’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले पास गर्छौं भनेर लेखेको चिठी होइन, यो कुरा प्रस्ट होस् ।’

अमेरिका, बेलायत वा विश्वका जुनसुकै देशको सहयोग लिनु सामान्य विषय भन्दै दाहालले एमसीसी संशोधन हुनुपर्ने भनाइ दोहोर्‍याए । ‘एमसीसीको ओरिजिनल सहमतिसँग डराउनुपर्ने कुरा छैन । बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने आमजनतालाई लागिसकेपछि यसलाई संशोधन नगरीकन पास गर्न सकिँदैन’ उनको भनाइ थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर