मुलुकलाई अस्थिरतामा धकेल्ने परमादेश जारी गर्ने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ : शंकर पोखरेल – Nepal Press

मुलुकलाई अस्थिरतामा धकेल्ने परमादेश जारी गर्ने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ : शंकर पोखरेल

घोराही । एमाले नेता तथा लुम्बिनी प्रदेशका ईन्चार्ज शंकर पोखरेलले निर्वाचनका माध्यमबाट जनताले प्रदान गरेको जनादेशलाई बेवास्ता गर्दै सर्वोच्च अदालतको फैसलाबाट जनादेशलाई उल्टाउने काम गलत भएको उनले बताएका छन् ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरेलले नेकपाभित्रकै माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको अन्तरसंघर्षले गुमेको जनादेश नेपालको संसदीय व्यवस्थाका लागि गलत नजिर भएको बताए ।

पोखरेलले मुलुकलाई अस्थिरतामा लैजाने परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँचजना न्यायाधीशले राजीनामा दिनुपर्ने उल्लेख गरे ।

प्रधानन्यायाधीश राणाको मात्रै राजीनामा माग्नु गलत भएको उनले टिप्पणी गरे ।

प्रधानन्यायाधीशसहित पाँचै न्यायाधीश ‘मतियार’ रहेकोले सबैले राजीनामा दिनुपर्ने भन्दै एमाले नेता पोखरेलले भने परमादेश दिने सबैको राजीनामा मागेका हुन् । संसद, कार्यपालिका र न्यायपालिकामाथिको जनविश्वास गुमेको दाबी पनि उनको थियो ।

जनादेशको विकल्प नरहेको भन्दै नेता पोखरेलले जति सक्यो चाँडो निर्वाचन हुनु जरुरी रहेको बताए । उनले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) सँग एमालेले एकता नगर्ने पनि बताए ।

माधव नेपाल, प्रचण्ड जनादेशलाई अपमानित गरेर गएको भन्दै उनले भने, ‘उनीहरूलाई एउटा जनादेशबाट आफ्नो हैसियत महसुस गराउनुपर्छ । त्यतिबेलासम्म एकताको कुनै सम्भावना छैन ।’

उनले मंसिरमा हुने एमाले महाधिवेशनमा कुन पदमा उठ्ने भन्नेबारे पछि उपयुक्त समयमा उपयुक्त निर्णय गरिने बताए ।

साथै उनले अध्यादेश र परमादेशमार्फत एमालेलाई फुटाउने काम गरेका न्यायधिसहरु नै विभुषित भएकाले नैतिक जिम्मा बहन गर्न आवश्यक रहेको जिकिर गरे ।

पोखरेलले वर्तमान सरकारलाई विकासविरोधी सरकार भएको आरोप लगाए भएको छ । वर्तमान गठबन्धनको सरकार विकास विरोधी भएको उनले उल्लेख गरे ।

केपी शर्मा वली सरकारले ल्याएका १४ सय सडक आयोजना कटौती गरेर विपन्नवर्गलाई प्रतिव्यक्ति १० हजार रूपैयाँ उपलब्ध गराउन थालेको उनले बताए । १४ सय सडक आयोजना सम्पन्न गर्दा विकास निर्माणसँगै श्रममार्फत् जनताको जिवनस्तर माथि उठाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर