ओली-प्रचण्डको वाकयुद्धः व्यक्तित्वको ‘टसल’ कि चुनाबको ‘रिहर्सल’ ? – Nepal Press

ओली-प्रचण्डको वाकयुद्धः व्यक्तित्वको ‘टसल’ कि चुनाबको ‘रिहर्सल’ ?

प्रतिष्पर्धा कांग्रेस-एमालेको, 'भिडन्त' एमाले-माओवादीको

काठमाडौं । हालको राजनीतिक अंकगणितका आधारमा आगामी आम चुनावका मुख्य प्रतिष्पर्धी एमाले र कांग्रेस मानिएका छन् । दुवै पार्टीका नेताहरुको स्वकारोक्ति पनि यही छ ।

३ कात्तिकमा वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य प्रतिष्पर्धी कांग्रेस नै भएको बताएका थिए ।

‘हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँग छ,’ उनको भनाइ थियो, ‘राजनीतिक, वैचारिक र सांगठनिक आधारमा हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस हो ।’

यदि कांग्रेस मुख्य प्रतिस्पर्धी हो भने ओलीले आफ्ना भाषणमा प्रहारको मुख्य निशाना पनि कांग्रेस र यसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाउनुपर्ने हो । तर पछिल्लो केही समयदेखि ओली मुलत माओवादी अध्यक्ष प्रचण्डमाथि बढी केन्द्रित हुने गरेका छन् । आफ्ना भाषणमा उनले देउवाभन्दा बढी प्रहार प्रचण्डलाई गर्छन् । सत्तारुढ गठवन्धनका योजनाकार प्रचण्डले त ओलीलाई मुख्य निशाना बनाउने भइहाले ।

केही समय अघिसम्म एउटै पार्टीका अध्यक्ष रहेका ओली-प्रचण्ड एकअर्काको प्रशंसा गरेर थाक्दैनथे । तर, जसै पार्टीमा विवाद सुरु भयो, त्यसयता उनीहरुको दन्तवझानले जनता वाक्क बनिसकेका छन् । ओली-प्रचण्डले राजनीतिक कटाक्ष मात्र होइन, व्यक्तिगत स्तरमै ओर्लेर पनि एक-अर्कालाई गालीगलौज गर्न बाँकी राख्दैनन् ।

इगोको टक्कर

ओली र प्रचण्डले एकअर्काप्रति गरेका कटाक्ष मुलतः व्यक्तिगत इगोको परिणाम हुन् । पछिल्ला दुई महिनाका केही दृष्टान्त हेरौं ।

चितवन पुगेका प्रचण्डले १२ कात्तिकमा ओली प्रधानमन्त्री हुँदा आफू कहिल्यै बालुवाटार छोड्दिन झैं गरी थाइल्याण्ड, इटाली, रोमबाट महँगा–महँगा सामान ल्याएर थुपारेको आरोप लगाए ।

‘मलाई डेढ लाखको खाटमा सुत्यो भनियो, ओलीले त अर्बौंको सामान ल्याएका रहेछन्,’ प्रचण्डको भनाइ थियो, ‘थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछ हेर्नुस् । त्यो देख्दा अरु त अरु शेरबहादुर देउवाले जिब्रो टोक्नु भा’छ ।’

ओलीले भोलिपल्ट एमालेको सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा त्यसको जवाफ दिए ।

‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे, केको सरकारी पैसामा किन्नु ?’ ओलीको जवाफ थियो, ‘प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुपर्‍यो होला । भाँडाकुँडा चाहियो होला । मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो ?’

२३ असोजमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका क्रममा प्रचण्डले ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिए । ‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको हो, अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ,’ उनको भनाइ थियो, ‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिँदैछ । अब पनि चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’

ओली पनि के कम । प्रचण्डको दर्शन धक्का-क्रमभंग-छलाङ-महाविपत्तिको भएको भन्दै उनलाई विनाशकारीको संज्ञा दिए ।

‘उनको दर्शन के हो भने धक्का, त्यसपछि क्रमभंग,’ ओलीको भनाइ थियो, ‘क्रमभंगपछि छलाङ । छलाङपछि पुग्ने भनेको महाविपत्तिमा ।’

उनले थपे, ‘कुनै बनाउने कुरा छ ? कुनै रचनात्मक कुरा छ ? एमालेमा आउँदा सप्रिएलान् की भनेर कम्ती साबुनका डल्ला सकाएको छु मैले । तर, यहाँ पनि धक्का दिएर गए ।’

७ कार्तिकमा झापामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई आफूले टाँसिदिएको जुँगामा ताउ नलगाउन आग्रह गरे ।

‘संसदमा एक-दुईजना मान्छेहरू उफ्रिपाफ्री गरिरहेका छन्,’ ओलीले भनेका थिए, ‘हामीले टाँसिदिएका जुँगामा ताउ नलगाऊ, पहिले आफू जुँगा उमार ।’

उनले अगाडि थपे, ‘हामीले चुनाव जिताइदिएर संसदमा ल्याएको हो । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो । अब जितेर देखाउन् । उनीहरूलाई कसले भोट दिन्छ ? विनाशकारी, विध्वंसकारी तत्वलाई कसले भोट दिन्छ ?

इगोको कारण

ओली-प्रचण्डको इगो दिनप्रतिदिन बढ्दै छ । बुटवलमा गर्ने भनिएको १० औं महाधिवेशन एमालेले चितवनमा सार्नुलाई धेरैले प्रचण्डलक्षित भन्ने बुझेका छन् । प्रचण्डलाई कमजोर पार्न उनीसँग रामबहादुर थापा ‘बादल’ भिडाउने तयारी ओलीको छ ।

आफूलाई नै लक्षित गरेर ओलीले चितवनमा महाधिवेशन गर्ने भएपछि प्रचण्डले पनि यसलाई ठूलो प्रतिष्ठाको विषय बनाएका छन् । उनलै हालै चितवनमा पाँच दिन बिताएर आए । प्रचण्डका पाँच दिनसम्मका सम्पूर्ण गतिविधि चुनाव लक्षित थिए । आफू हार खाने मान्छे नभएको भन्दै आत्मरतिमा नरमाउन पनि प्रचण्डले ओलीलाई चितवनबाट चेतावनी दिए । प्रचण्डपछि ओली चितवन जाँदै छन् र उनले त्यहाँ प्रचण्डलाई जवाफ दिने अपेक्षा छ ।

ओली-प्रचण्ड इगोका केही कारण छन् । २०७५ मा एमाले र माओवादीबीच एकता भएर बनेको नेकपामा ओली र प्रचण्ड अध्यक्ष थिए । चुनावी परिणाम राम्रो आएपछि ओली प्रधानमन्त्री बने । एक/डेढ वर्षसम्म उनीहरुको ‘माया-प्रेम’ राम्रै चल्यो । त्यसपछि भने नेकपामा खटपट शुरु भयो ।

ओली र प्रचण्डले आधा-आधा कार्यकाल सरकार चलाउने सहमति भएको कुरा पनि बाहिरियो । त्यही सहमतिमाथि टेकेर शुरु भएको असन्तुष्टि नेकपामा निकै चुलियो । नेकपामा ओली समूह र उनी इतरको प्रचण्ड नेतृत्वमा अर्को समूह बन्यो ।

ओलीले आफूलाई सरकार र पार्टी दुवैबाट हटाउन थालेको महसुस गरेर संसद विघटनको बाटो रोजे । २०७७ साल पुस ५ गतेको संसद विघटनपछि नेकपाले राजनीतिक विभाजन पुरा गर्‍यो । ओलीको कदमविरुद्ध प्रचण्ड सडक संघर्षमा ओर्लिए । प्रचण्ड-माधव नेपाल लगायतले ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी कारवाही गरे । सर्वोच्चले फागुन ११ मा विघटन बदर गर्‍यो । सर्वोच्चले फागुन २३ मा नेकपा एकतालाई अवैध घोषित गर्दैै एमाले र माओवादी ब्युँताइदियो । कमजोर बनेका ओली त्यसपछि शक्तिशाली भए ।

ओलीले फेरि जेठ ८ मा संसद विघटन गरे । फेरि प्रचण्डले ओलीविरुद्धको आन्दोलन छेडे । यसपाली उनले कांग्रेसको पनि साथ लिए । यसपटक सडक आन्दोलन कम र अदालती लडाइँ बढ्ता चल्यो । २८ असारमा सर्वोच्चले संसद विघटन बदर गर्दैै नयाँ प्रधानमन्त्रीमा देउवा नियुक्त गर्न परमादेश जारी गर्‍यो । त्यसपछि ओली तीन वर्ष बिताएको बालुवाटार छोडेर बालकोट जानुपर्‍यो ।

ओलीले यी सबै घटनामा प्रचण्डलाई जिम्मेवार ठहर्‍याएका छन् । प्रचण्डले पनि नेकपा विभाजनको प्रमुख दोषी ओली ठानेका छन् । र, दुवै के निष्कर्षमा पुगेका छन् भने एउटालाई कमजोर नबनाइ अर्को बलियो बन्न सक्दैन ।

ओली-प्रचण्डको व्यक्तित्व टकरावका कारण आगामी चुनावमा जसरी पनि एकले अर्कालाई कमजोर बनाउने रणनीति लिएका छन् ।

प्रचण्डलाई कमजोर बनाउन सके माओवादीका धेरै नेता कार्यकर्ता एमालेमै फर्किन्छन् भन्ने ओलीको सोचाइ छ । गठबन्धन गरेर हुन्छ या के गरेर हुन्छ ओलीले आउँदो आम चुनावपछि पनि कुनै हालतमा सत्तामा पुग्नबाट रोक्ने र कमजोर बनाउने प्रचण्डको रणनीति छ।

मुख्य प्रतिष्पर्धा कांग्रेस-एमालेकै भए पनि आउँदो चुनावमा उनीहरुको इगो र रणनीतिको टक्कर भइरहने छ । एकअर्का लक्षित कटाक्ष र घोचपेच सुनिरहनुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर