अस्गर अफगानले नामिबियाविरुद्धको खेलपछि सबै फर्म्याटबाट सन्यास लिने – Nepal Press

अस्गर अफगानले नामिबियाविरुद्धको खेलपछि सबै फर्म्याटबाट सन्यास लिने

काठमाडौं । अफगानिस्तानका पूर्व कप्तान अस्गर अफगानले आज हुने नामिबिया विरुद्धको खेलपछि सबै प्रकारका खेलहरूबाट सन्यास लिने घोषणा गरेका छन् ।

जारी आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानको टोलीमा रहेका ३३ वर्षीय अस्गरको निर्णयलाई स्वीकार गर्दै अफगान क्रिकेट बोर्डले सामाजिक सञ्जालमा लेखेको छ, ‘उनको निर्णयलाई स्वागत र सम्मान गर्दै देशको लागि उनले गरेको सेवाबाट कृतज्ञ छौँ ।’

अस्गरले सुपर १२ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा ब्याटिङ गर्ने मौका पाएका थिएनन् । पाकिस्तानसँग हारेको खेलमा भने उनले ७ बलमा १० रन बनाएका थिए । त्यो उनको टी-२०आई मा ७४औँ खेल थियो । जसमा अस्गरले कुल १३ सय ५१ रन जोडेका छन् ।

उनले आफ्नो अन्तर्राष्ट्रिय करियर सन् २००९ मा विश्वकप छनौट अन्तर्गत स्कटल्यान्ड विरुद्धको एकदिवसीय खेलबाट सुरु गरेका थिए । उनले खेलेका कुल १ सय १४ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा दुई हजार ४ सय २४ रन बनाएका छन् ।

बेङ्लोरमा सन् २०१८ मा भारतविरुद्ध अफ्गानिस्तानको पहिलो टेष्ट खेलमा उनी टोलीका कप्तान थिए । र, उनले कुल ६ टेष्टमा ५ सय ४० रन जोडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *