मैदान फर्किन तयार छु: विमल घर्तीमगर – Nepal Press

मैदान फर्किन तयार छु: विमल घर्तीमगर

काठमाडौं । चर्चित फुटबलर विमल घर्तीमगरले आफू लामो समयपछि मैदान फर्किन तयार रहेको बताएका छन् । विभिन्न कारणले लामो समय मैदानबाहिर रहेर शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा मैदान फर्किएका विमल पुन: चोटका कारण मैदान बाहिर थिए ।

एसीएल इन्जुरीको कतारमा उपचारपछि तन्दुरुस्त भएर मैदान फर्किने तयारीमा रहेका विमलले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै क्लब र व्यक्तिगत उद्देश्य पूरा गर्न कुनै कसर बाँकी नराखी मैदान फर्किन तयार रहेको बताएका छन् ।

‘समस्यासँगै त्यसको हल… चुनौतीसँगै आएको अवसरहरूलाई आत्मसाथ गर्दै निकै लामो समयपश्चात मैदान फर्कँदै गर्दा उत्साहित भएको छु । क्लब र व्यक्तिगत उद्देश्य पूरा गर्न कुनै कशर नराखी मैदान फर्कन तयार रहेको छु । जय मच्छिन्द्र‍…’ विमलले फेसबुकमा लेखेका छन् ।

अनुशासन उल्लंघनको कारबाहीमा परेर अघिल्लो संस्करणको अन्तिम खेल मात्र खेलेका विमलले यो सिजन पनि मच्छिन्द्र क्लबबाटै लिग खेल्दै छन् ।

आगामी २९ गतेदेखि सुरु हुने लिगको पहिलो खेलमा मच्छिन्द्रले मंसिर २ गते न्यूरोड टीम (एनआरटी)सँग दशरथ रंगशालामा खेल्ने छ । साविक विजेता मच्छिन्द्रले गत सिजनको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० गोलको नतिजामा पराजित गर्दै पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *