फूलसँगै फक्रेको जीवन – Nepal Press

फूलसँगै फक्रेको जीवन

जसले पुष्प व्यवसाय गर्न घर नै छाडे

रुपन्देही । साढे दुई दशकअघि घरमा फूलखेती गर्दा परिवारको असहयोगले मन अमिलो बनाएर घरबाट निस्केका रुपन्देही तिलोत्तमा–५ का रमेश पाण्डे अहिले लुम्बिनी प्रदेशकै नमूना पुष्प व्यवसायी बनेका छन् ।

सानो उमेरमा नै रमेशलाई फूलले आकर्षण गरेपनि परिवारले उनलाई यो पेशामा भविष्य नभएको भन्दै रोक्न थालेपछि घर नै छोडेर यो खेतीमा लागेको स्मरण ताजै छ । आफ्नो सोचलाई दृढ संकल्पका साथ अगाडि बढाएका उनै रमेश अहिले प्रदेशको प्रहिलो नम्बरमा गनिने पुष्प व्यवसायी बनेका छन् ।

पुष्प व्यवसायी संघ रुपन्देहीको अध्यक्ष तथा लुम्बिनी प्रदेशको संयोजक रहेका रमेशले आधुनिक फूल खेती, नर्सरी उत्पादन तथा अनुसन्धान केन्द्र चलाएर आफ्नो पहिचान बनाएका छन् ।

सानो उमेरमा घरका गमलामा फूलहरू रोपेर ढकमक्क पार्ने, पढ्नेबाहेकको समयमा फूलमा पानी हाल्ने, फूलका बेर्ना जमाउने र गोडमेल गर्न मन पराउन रमेशले परिवारसँगै रहेर व्यवसायिकरूपमै फूलखेती गर्ने योजना बनाएका थिए ।

२०५७ सालमा दुई कठ्ठा जग्गामा फूलखेती सुरु गरेका उनको कामप्रति परिवार भने असहमत थियो । ‘हाम्रो परिवारले फूलखेती गर्ने होइन, यसमा पैसा पनि छैन । राम्रो जागिर गर् भनेका थिए’, आफ्ना बुवाले भनेका कुरा सम्झिँदै रमेश भन्छन्, ‘सुरुमा त मैले फूल रोपेको जग्गामा बुवाले डोजर नै लगाइदिनुभयो ।’

त्यसबेला उनकी श्रीमती गर्भवती थिइन् । फूलखेतीलाई व्यावसायिक बनाएर अघि बढ्न खोज्दा उनले परिवारको साथ पाएनन् । बरु घरबाटै निकालिए । विगत सम्झिँदै उनी भन्छन्, ‘ऋण लिएर फूल लगाएको थिएँ । बाउले डोजर लगाइदिएपछि खुब रोएँ । त्यस बेला मेरो तीन लाख रुपैयाँ खेर गयो ।’

त्यसपछि उनी घरबाट छुट्टिए तर फूलखेती गर्ने योजना रोकेनन् । उनले फेरि ऋण लिएर फूलखेतीलाई निरन्तरता दिने सोचका साथ ‘लुम्बिनी नर्सरी एण्ड गार्डेन’ नामको फर्म दर्ता गरे ।

अहिले आफ्नो तीन कट्ठासहित नजिकै रहेको चार कठ्ठा जग्गा भाडामा लिएर उनले फलफूलका विरुवा, सो–प्लान्टलगायत उत्पादन तथा बिक्री गर्दै आएका छन् । त्यसबाहेक उनी फूलखेतीको तालिम र प्रशिक्षणसमेत दिन्छन् अनि बेमौसमी फलफूलको अनुसन्धान केन्द्र चलाएका छन् ।

करिब दुई लाख रुपैयाँ ऋण लिएर सुरु गरेको फर्ममा अहिलेसम्म ५० लाखको सेरोफेरोमा लगानी गरिसकेका छन् । यो फर्मबाट उनले राम्रै आम्दानी गरेको र आफू सन्तुष्ट रहेको कमाउँछन् ।

‘सबै आफैं कमाएको सम्पति हो, मलाई यसैमा खुसी छ, जति कमाउँछु यसैमा लगानी गर्ने हो, उनी भन्छन्, ‘अहिले त यो खेतीमा रमाउनेको संख्या ह्वात्तै बढेको छ ।’

केही समयमा आफ्नै जग्गामा ठूलो नर्सरी बनाउने योजनाका साथ काम गरिरहेको उनको भनाइ छ । उनको नर्सरीमा अहिले ग्लाडुल्स, एसटी फ्लावर, अर्नामेन्टल पलान्ट, साइकस, बेगन, लालुपाते रोज एकजोरा, मुसुन्डा, हेबिसकस, टिकोमालगायतका पुष्पका बिरूवा छन् ।

यसबाहेक विभिन्न मौसमी तथा बेमौसमी सयपत्री, डेलिया, गोदावरी, जखेरा, विभिन्न इन्डोर प्लान्ट फूलसहित कागती, अम्बालगायतका फलको विशेष उत्पादन हुने गरेको छ ।

सडकलाई हरियालीको परिकल्पना गरेर सडक डिभाइडरमा फूलहरूको गार्डेन बनाउने र पर्यटकलाई आकर्षण गर्न सकिने, ठूला होटलमा गार्डेनको डिजाइन गर्नुका साथै बगैँचा निर्माण गर्ने, किसानहरूको समूह गठन गरेर फूलखेतीको तालिम र आवश्यक बिरुवा सहयोग अभियानमा लागेको रमेश बताउँछन् ।

रमेश अहिले लुम्बिनी प्रदेशलाई फूलैफूलकै प्रदेश बनाउने अभियानमा लागेका छन् । लुम्बिनी प्रदेशभित्र आवश्यक फूल भारतीय बजारबाट ल्याउनु नपर्ने गरी समूगतरूपमा फूलखेतीका लागि सहकार्य पनि गर्दै आएका छन् । तर यो वर्ष धेरै पानी परेकाले धेरै अन्य क्षेत्रका किसानकोजस्तै पष्प व्यवसायी पनि मर्कामा परेका छन् ।

लुम्बिनी, स्वर्गद्धारीजस्ता ठूला पर्यटकीय स्थलमा यहाँको माला तयार गरेर आयात रोक्नसके धेरै किसानले राहत पाउने उनको भनाइ छ । लुम्बिनी प्रदेश फूलका लागि उर्वर भूमि भएकाले सयौं प्रजातिका फूल लगाउन सकिने उनी बताउँछन् ।

फूलैफूलको लुम्बिनी प्रदेश बनाउन किसानलाई तालिम र आवश्यक बिउबिजन प्रदेशको कृषि मन्त्रालयबाट प्राप्त हुने भएकाले पनि प्रदेश सरकारकै योजनाअनुसार फूलैफूलको प्रदेशका रूपमा लुम्बिनी प्रदेशलाई चिनाउनुपर्ने भएपनि त्यो बजेट सरकारले फ्रिज गरेकोप्रति उनी सन्तुष्ट छैनन् ।

भन््छन्– स्थानीय सरकारले त योजनै बनाउन सकेनन्, प्रदेशले दिएको बजेट पनि आवश्यक नीति बनाउन नसक्दा किसानले केही पाएनन् ।

आयात रोक्ने योजना वर्षातले असफल

लामो समय वर्षा भएकाले अहिले तिहारमा उत्पादन हुनुपर्ने फूल मंसिरमा मात्र तयार हुने भएको छ । तिहारमा लुम्बिनी प्रदेशमा ५ लाख माला आवश्यक पर्ने अनुमान पुष्प व्यवसायीहरूको छ ।

यसैअनुसार लुम्बिनी नर्सरीले मात्रै २ लाख फूलका विरुवा र समूहगतरूपमा प्रदेशका ९ जिल्लामा २ लाख गरी ४ लाख र स्थानीयको आफ्नै उत्पादन १ लाख गरी ५ लाख विरुवाहरू लगाइएको भएपनि निरन्तरको वर्षाले धेरै क्षति पुराएको छ । ।

‘स्थानीय उत्पादनले ३ लाख मालाको माग पूरा गर्छ भने व्यावसायिक उत्पादनले २ लाख मालाको माग पूरा गर्छ भन्ने आंकलन थियो’, उनले भने, ‘तर यसवर्ष कोरोना र बेमौसमी झरीले फूलखेतीमा असर गरेको छ । करिब ५० हजार माला आयात गर्नुपर्नेजस्तो छ, यो वर्ष बाहिर बेचौला भन्ने योजना थियो ।’

पुष्प खेतीका लागि लुम्बिनी प्रदेश सातै प्रदेशमा अगाडि रहेको छ । पहिले चितवनमा धेरै पुष्प खेती हुने भएपनि अहिले रुपन्देही अगाडि रहेको उनको दावी छ । ४ वर्षयता रुपन्देहीमा धेरै फड्को मारेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीसहित पाल्पामा ४ वटा गाउँपालिकामा व्यवसायिक फूलखेती गरिएको छ । पाल्पाको तिनाउँ गाउँपालिकामा मात्र ४४ वटा समूहले व्यावसायिक फूलखेती गरिरहेका छन् ।

त्यस्तै गुल्मीको चन्द्रकोट, दाङको घोराही, तुल्सीपुर, बाँकेको कोहलपुर, नेपालगञ्ज, अर्घाखाँची, नवलपरासीमा सामूहिक फूलखेती भइरहेको उनले बताए । यो वर्षदेखि लुम्बिनी प्रदेश सरकारले स्वर्गद्वारीमा फूलैफूलको मालाको नयाँ योजना ल्याएकाले त्यो क्षेत्रमा बढी व्यवसायिक खेती शुरु हुने उनको भनाइ छ ।

पाण्डेका अनुसार लुम्बिनी प्रदेशमा करिब ५ सय हाराहारीमा पुष्प खेती गर्ने किसान रहेका छन् । केही स्थानीय आफै यो खेतीमा लागे पनि संस्थागत नभएकाले यसको आधिकारिक तथ्यांक लिन समस्या रहेको उनको भनाइ छ ।

‘लुम्बिनी प्रदेशलाई फूलको राजधानी बनाउने मेरो सोच छिटै पूरा हुनेछ’, उनी भन्छन्, ‘हामीलाई आवश्यक पर्दा मात्र होइन हरेक पर्यटकलाई स्वागत गर्ने मुख्य माध्यम बनेकालाई यसको आयात रोक्नका लागि समन्वय आवश्यक छ, कम्तिमा फूलबाट आत्मनिर्भर बन्न स्थानीय सरकारको योजना र नागरिक आफैं सचेत हुनुपर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *