बुन्डेसलिगामा होफेनहेमसँग हेर्था बर्लिन पराजित – Nepal Press

बुन्डेसलिगामा होफेनहेमसँग हेर्था बर्लिन पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगाको दशौं साताको पहिलो खेलमा शुक्रबार राति होफेनहेमले हेर्था बर्लिनलाई २-० गोलको नतिजामा पराजित गरेको छ । होफेनहेमको मैदानमा भएको खेलको १९औं मिनेटमा एन्द्रेज क्रमारिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

भ्रमणकारी बर्लिनमाथि हाबी बनेको होफेनहेमका लागि ३६‍औं मिनेटमा सेबास्टियन रुडीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २-० ले पछि परेको बर्लिनले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि घरेलु टोलीको रक्षापंक्ति छिचोल्न सकेन ।

निर्धारित समयको खेल सकिन १४ मिनेट बाँकी रहँदा डेरड्रिक बोयाटाले रातो कार्ड पाएसँगै १० जना खेलाडीमा सीमित भएको बर्लिनले त्यसपछि गोलका अवसर सृजना गर्न सकेन ।

सुरुआतदेखि नै हाबी बनेको होफेनहेमले पहिलो हाफमा लिएको अग्रता जोगाउँदै बुन्डेसलिगामा चौथो जित निकाल्यो । कूल १० खेलबाट १४ अंक जोडेको होफेनहेम अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

समान खेलबाट १२ अंक बटुलेको बर्लिन तालिकाको १०औं स्थानमा छ । शीर्ष स्थानको बायर्न म्युनिखले ९ खेलबाट २२ तथा दोस्रो स्थानको बोरुसिया डर्टमन्डले पनि समान ९ खेलबाट २१ अंक जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *