कोप-२६ सम्मेलन : नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तन असरको मुद्दा उठाउने – Nepal Press

कोप-२६ सम्मेलन : नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तन असरको मुद्दा उठाउने

काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरलाई उठाउने भएको छ । वन तथा वातावरण मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै हिमाली क्षेत्र र त्यहाँको जनजीविकामा परेको जलवायु असरलाई प्रस्तुत गर्ने भएको हो ।

जलवायु परिवर्तनबाट नेपालजस्ता मुलुकमा हुने हानी र नोक्सानी, सुद्धढ र दिगो वित्तिय व्यवस्था सुनिश्चित गर्न विश्वको ध्यान आकृष्ट गर्ने प्रयत्न गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नोभेम्बर १ मा हुने कोप–२६ अन्तर्गतको विश्व नेताहरुको सम्मेलनमा यी मुद्दाहरु प्रस्तुत गर्ने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा महत्वपूर्ण नीतिगत दस्तावेज र कार्यक्रमहरु पनि पारित गरेको जानकारी पनि मन्त्रालयले दिएको छ ।

कोप–२६ सम्मेलनको क्रममा आयोजना हुने दक्षिण एसियाली वातावरणीय सहायता कार्यक्रम बैठक, हिउँ चितुवा संरक्षण सम्बन्धीको स्टेरिङ कमिटी बैठक, फरेस्ट्री कार्यक्रम सम्बन्धी छलफल र पर्वतीय क्षेत्र सम्बन्धी प्रदर्शनी एवं उच्चस्तरीय प्राविधिक सत्रमा नेपालले भाग लिने समेत मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा र वनमन्त्री रामसहायप्रसाद यादवसहितको २० सदस्यीय टोली बिहीबार स्कटल्यान्डतर्फ प्रस्थान गरेको छ । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म कोप–२६ सम्मेलन आयोजना हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर