औषधिमा गरिएको मूल्यवृद्धिमा छानबिन गरिने – Nepal Press

औषधिमा गरिएको मूल्यवृद्धिमा छानबिन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिका सम्बन्धमा छानबिन गर्ने बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उनले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिको छानबिन गरिने बताएका हुन् । उनले स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई वृद्धि गरिएको मूल्यका सम्बन्धमा छानबिन गर्न निर्देशन दिएका छन् ।

औषधि व्यवस्था विभागले केही कम्पनीले उत्पादन गरेका औषधिको मूल्य बढाएपछि मन्त्रालयले त्यसको छानबिन गर्ने भएको हो । ‘कच्चा पदार्थको मूल्य बढेका खण्डमा मात्र वैज्ञानिक मापदण्डका आधारमा मात्र औषधिको मूल्य बढाउन पाइन्छ’, उनले भने, ‘औषधिको मूल्य मनपरी बढायो भनेर मैले सचिवलाई निर्देशन दिइसके । सचिवले मूल्यका सम्बन्धमा बुझिरहेका छन् । दुई/चार दिनमा यसका सम्बन्धमा जानकारी गराउँछौँ ।’

उनले अहिले मूल्य नियन्त्रण गर्नुका साथै दीर्घकालीनरुपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुङ्गो लगाइने बताए । सिटामोल भारतमा दुई रुपैयाँ र नेपालमा एक रुपैयाँदेखि डेढ रुपैयाँ पाइने गरेको उल्लेख गर्दै उनले अहिले व्यापारीले नेपालबाट भारतमा सिटामोल पठाउने गरेको बताए । औषधि व्यवस्था विभागले ५२ प्रकारका औषधिको मूल्य २० प्रतिशतसम्म वृद्धि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर