लुम्बिनी प्रदेशसभा: कार्यसूचीमा विवादित सञ्चार विधेयक राखेकोप्रति पत्रकार महासंघको आपत्ति – Nepal Press

लुम्बिनी प्रदेशसभा: कार्यसूचीमा विवादित सञ्चार विधेयक राखेकोप्रति पत्रकार महासंघको आपत्ति

एमालेको अवरोधबीच नै बैठक चलाउने तयारी

रुपन्देही । लुम्बिनी प्रदेशसभाको आज बस्ने बैठकमा विवादित संचार विद्येयक कार्यसूचीमा राखेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको प्रदेशसभा आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

एमालेले आफ्नो पार्टीबाट निर्वाचित दुई सांसद सरकारको गठबन्धनमा लागेर मन्त्री बनिसकेकाले सांसद पदबाट कारबाही माग गरेको छ । यही माग राखेर भदौ १ गतेदेखि नै संसद अवरोध गर्दै आएको छ । आजको बैठक एमालेको विरोधका बीच अगाडि बढाउने प्रदेशसभाले तयारी गरेको छ ।

लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख अमिक शेरचन, गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती तथा प्रदेशसभा सचिव दुर्लभकुमार पुनः सबै माओवादीका हुन् । उनीहरु सबैको रायअनुसार अगाडि बढ्ने योजना बने पनि एमालेले आफ्नो विरोध कायम रहेको जनाएको छ ।

प्रदेशसभा सचिव दुर्लकुमार पुनले प्रदेशसभाको नवौं अधिवेशनको नवौं बैठकका सम्भावित कार्यसूचीमा विवादित संचार विद्येयक पनि राखेपछि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले आपत्ति जनाएको हो । महासचिव विक्रम खड्काले महासंघसँग गरिएको सहमति बेगर विधेयक अगाडि बढाएर द्वन्द्व बढाउने काम नगर्न चेतावनी दिएका छन् ।

आजको बैठकमा आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्ने, प्रमाणीकरण भएको विधेयकसम्बन्धी पत्र र मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने, सांसदहरुले शून्य÷विशेष समयमा बोल्ने कार्यसूची तय भएको छ ।

त्यसैगरी वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावहरु सभामा प्रस्तुत हुने र सभामुखले उक्त प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरी भइ सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यसूची तयार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर