नविल बैंकप्रति लगानीकर्ताको आकर्षक किन, कति दिनसक्ला लाभांश ? – Nepal Press

नविल बैंकप्रति लगानीकर्ताको आकर्षक किन, कति दिनसक्ला लाभांश ?

काठमाडौं । सेयर बजार परिसुचक नेप्से निरन्तर घटिरहेको समयमा समेत नविल बैंकको सेयरमा भने खासै असर परेन । बजार घटेर नेप्से २५१० अंक पुग्दा समेत नबिलको बजार भने बढिरहेको थियो ।

नेप्से बढेर उच्चतम बिन्दु ३१९९ पुग्दा नविल बैंक सेयर मुल्य १५१९ रुपैयाँ पुगेको थियो । अन्य कम्पनीहरुको सेयर सतप्रतिशत घट्दा पनि नविल बैंकको सेयर मूल्यमा खासै परिवर्तन भएन । पछिल्लो दुई महिना नेप्से निरन्तररुपमा  घट्दा नविलको सेयरमा १५० रुपैयाँ भन्दा कमले घट्बढ् भएकाे छ ।

नेप्से करिब ७ सय अंकले घट्दा पनि नविल बैंकको सेयर मूल्यमा उत्तरचढाव नआउनुको प्रमुख कारण लगानीकर्ताहरुमा लाभांशप्रतिको भरोसा हो । नविल बैंक उच्च मुनाफा कमाउने र लगानीकर्ताको हितमा बढी ध्यान दिने बैंकको रुपमा स्थापित भएकाले लगानीकर्ताहरु यस बैंकप्रति बढी भरोसा गर्ने गरेका छन् ।

बाणिज्य बैंकहरु मध्ये नविल बैंकले सबैभन्दा बढी आम्दानी गर्ने, कर तिर्ने, लाभांश दिने गरेको छ । जसका कारण नविल बैंकको सेयर मुल्य अन्य बैंकको तुलनामा निकै उच्च रहेको छ । बाणिज्य बैंकहरुमा १ हजार भन्दा बढी सेयर मूल्य रहेको बैंक नै नविल बैंक हो ।

लगानीकर्ताहरुमा यस बैंकप्रति विश्वास हुने प्रमुख कारण नविलले दिदै आएको उच्चदरको लाभांश नै हो । विगत १० वर्षमा यस बैंकले औषत ४५.३१ प्रतिशतले लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस बैंकले ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १।७६ प्रतिशत नगद लाभांश सहित कुल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसैगरी आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ मा १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी कूलको ३४ प्रतिशत घोषणा गरेको थियो । आर्थिक वर्ष २०७३/७४ मा ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश गरी कुल ४८ प्रतिशत लाभांश दिइएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७२/७३ मा ३० प्रतिशत बोनस लाभांश र १५ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०७१/७२ मा ३० प्रतिशत बोनस सेयर र ६.८४२ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०७०/७१ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद लाभांश गरी कुल ६५ प्रतिशत लाभांश, आर्थिक वर्ष २०६९/७० मा २५ प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद लाभांश गरी कुल ६५ प्रतिशत, आर्थिक वर्ष २०६८र६९ मा २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद लाभांश गरी कुल ६० प्रतिशत लाभांश र आर्थिक वर्ष २०६७/६८ मा ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

सबै बाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसक्दा पनि नविल बैंकले भने घोषणा गरेको छैन । नविल बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको भयो । यतिबेला लगानीकर्ताहरुले नविल बैंकको लाभांश कुरेर बसेका छन् ।

करिब १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको आ.ब २०७७/७८ मा ४ अर्ब १४ करोड रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ । यस हिसाबमा हेर्ने हो भने यस बैंकले करिब २९ प्रतिशत लाभांश दिन सक्छ ।

बैंकले अघिल्ला वर्षको सञ्चित जगेडाको प्रयोग गरेर यो भन्दा बढी लाभांश घोषणा गर्न सक्ने अवस्था समेत रहेको छ । यस बैंकको रिटेन्ड अर्निङमा करिब ४ अर्ब ३० करोड रुपैयाँ र संञ्चित जगेडाकोषमा १५ अर्ब रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर